न्याम्स सदस्यको राजीनामा माग

काठमाडौं : वीर अस्पताल सुधार र कर्मचारी हकहितका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले बोलाएको कार्यकारी परिषद्मा अनुपस्थित सदस्यको राजीनामा माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । न्याम्स र वीर अस्पतालका आठवटा कर्मचारी संगठनले कर्मचारी हकहितको विषयमा छलफल गर्न बोलाइएको बैठकमा अनुपस्थित भएर गैरजिम्मेवारी देखाएको भन्दै परिषद्का सदस्यहरूको राजीनामा मागेका हुन् ।
कर्मचारीले न्याम्सका रेक्टर डा. श्रीकृष्ण गिरी, डिन सीताराम चौधरी र अस्पतालका निर्देशक डा. बुलन्द थापाको राजीनामा माग गर्दै स्वास्थ्यमन्त्री राजेन्द्र महतो र स्वास्थ्यसचिव डा. प्रवीण मिश्रलाई बिहीबार ज्ञापनपत्र बुझाए । वीर अस्पताल सुधार र कर्मचारी हकहितका लागि बुधबार ११ बजे बोलाइएको न्याम्सको कार्यकारी परिषद्को बैठकमा परिषद्का सदस्य रहेका डा. गिरी र डिन डा. चौधरी बैठकको समयमा मन्त्रीकक्षमा गफिएर बसेको संगठनका कर्मचारीले फेला पारेका थिए । उनीहरूले बैठकमा अनुपस्थित हुनेबारे कुनै जानकारी नै नदिई मन्त्रीकहाँ पुगी न्याम्सको उपकुलपति हटाउने विषयमा गफ गरिरहेका थिए । पाँच सदस्यीय परिषद्का अर्का सदस्य तथा वीर अस्पतालका निर्देशक डा. बुलन्द थापा पनि परिषद् बैठक सुरु हुने समयमा खबर नै नगरी अस्पतालबाट बाहिरिएका थिए । (सौस)

प्रतिक्रिया