जनता झुक्काउने चालबाजीः बैद्य

काठमाडौं, ४ असोज । नेकपा–माओवादीले तीन ठूला दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच नयाँ निर्वाचनमा जाने बुधबारको सहमतिलाई जनता झुक्काउने चालबाजीको संज्ञा दिएको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आज विज्ञप्ति जारी गरेर बिहीबार प्रमुख दलहरुको बैठकमा संविधानसभाको दोस्रो निर्वाचनद्वारा देशमा उत्पन्न राजनीतिक संकटको समाधान हुने सहमति भएको प्रचारबाजी जनतालाई झुक्याउने अर्को चालबाजी रहेको दाबी गरेका छन् ।
‘जुन पार्टी र नेताहरुको गठबन्धनले संविधान नै बन्न नदिएर संविधानसभाको हत्या गरे तिनैले यसप्रकारको समाधानको कुरा गर्नु गम्भीर विडम्बनाको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।
उनले संविधानका अन्तरवस्तु र निर्वाचन सम्बन्धी समग्र विषयहरुबारे स्पष्ट नगरीकन ‘निर्वाचन’को कुरा गर्नु अर्को ठूलो धोका हुने दाबी गरे ।
‘तीन ठूला दल र मधेसी मोर्चाको सहमतिलाई सबैको सहमति भन्ने भ्रममा नपर्न अनुरोध गर्छौं,’ अध्यक्ष बैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको विरोधमा हुनसक्ने षडयन्त्रप्रति सतर्क रहन हामी आम समुदायसँग विशेष अनुरोध गर्दछौं ।’
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले संविधानसभा पुनःस्थापना गर्न असफल भए पछि नयाँ निर्वाचनमा जाने सहमति गरेका थिए ।

प्रतिक्रिया