भ्रमणबाट त्रसिएका दलहरु बन्दमा उत्रिए

बाग्लुङ, ४ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहको भ्रमणबाट त्रसिएका म्याग्दी जिल्लाका विभिन्न राजनीतिक दलहरुले विरोधमा जिल्ला बन्दको घोषणा गरेका छन् ।
उनले राजाकै हैसियतामा भ्रमण गर्न खोजेको भन्दै एकीकृत माओवादी, कांग्रेस, एमालेलगायतका ७ दलले भोली शुक्रबार म्याग्दी बन्द आह्वान गरेका हुन् । बन्दको स्थानीयद्वारा विरोध समेत भएको छ ।
म्याग्दी कांग्रेसको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर पूर्व राजाको भ्रमणलाई बिथोल्न बन्द आव्हान गरेको जानकारी दिईयो ।
एमाओवादीका सह–इन्चार्ज गोविन्द पौडेलले अन्त्य भइसकेको राजतन्त्र र राजाकै हैसियतमा शाहले जिल्ला भ्रमण गर्न खोजेको आरोप लगाए । उनले भने, ‘पूर्व राजा शाहलाई चुनौति दिन बन्द आव्हान गरेका हौं ।’
भ्रमण आयोजक समितिले श्री ५ बडामहाराजधिराज सरकार भन्दै प्रचार प्रसार गरेपछि प्रमुख दलहरु प्रदर्शनमा उत्रिएका हुन् ।
पूर्व राजा शाह भोली शुक्रबार म्याग्दी जाने कार्यक्रम छ । साताव्यापी पश्चिमाञ्चल भ्रमणका क्रममा उनी आज पोखरा पुगेका छन् ।
पर्वतमा भ्रमणको बिरोधमा प्रर्दशन
पर्वतमा विभिन्न दलहरुले पूर्व राजा शाहले आज देखि शुरु गरेको गण्डकी र धौलागिरि अञ्चलको भ्रमणको बिरोधमा प्रर्दशन समेत गरेका छन् ।
विरोधमा उनीहरुले कुस्माबजारको शिवालय चोकमा कोणसभा गरेका छन् । नेताहरुले पूर्व राजालाई भ्रमण रोक्न आग्रह गरे ।
पर्वतका धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्व राजा शाह शनिबार पर्वत आउने कार्यक्रम छ । पूर्व राजा शाहले पर्वतको सदरमुकाम कुस्माबजारस्थित गुप्तेश्वर गुफा, गायत्री मन्दिरमा दर्शन गर्ने कार्यक्रम पनि छ ।
पूर्व राजा शाहको भ्रमणबाट त्रसिएका दलहरुले भ्रमण कार्यक्रमा सरिक नहुन आफ्ना कार्यकर्तालाई आब्हान गरेका छन् ।
यता, राप्रपा नेपाल पर्वतले पूर्व राजाको भ्रमणमा सक्रिय हुन आफ्ना कार्यकर्तालाई आब्हान गरेको छ । राप्रपा पर्वतका अध्यक्ष ठाकुर भुषाल र सचिव प्रकाश पौडेलले विज्ञप्ति जारी गरेर भ्रमणमा सहभागी हुन आग्रह गरेका छन् । उनीहरुले भ्रमणबाट नत्रसिन सबैलाई आग्रह गरे ।
बाग्लुङमा प्रधानमन्त्रीको ध्यानाकर्षण
बाग्लुङमा विभिन्न राजनीतिक दलले पूर्व राजा शाहको धौलागिरि भ्रमणप्रति कामचलाउ सरकारको ध्यानाकर्षण गराएका छन् ।
धार्मिक भ्रमणका नाममा संक्रमणकालको फाईदा उठाएर गणतन्त्र माथि शाहले धावा बोलेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया