हतकडी देखाएर ठगी धन्दामा विद्यार्थी

काठमाडौं , ३ असो ज । राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीसँग किताब–कापी मात्र होइन, हतकडी पनि भेटिएको छ । ती विद्यार्थीले हतकडी देखाएर ठगी गर्दै आएको रहस्य खुलेको छ ।

प्रहरीले मकवानपुरको हेटांैडा–४ का २२ वर्षीय सुरजकुमार सिंहलाई बुधबार ठमेलबाट हतकडीसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनादे खि थालेको सिल एन्ड सर्च अपरेसनअन्तर्गत महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले जाँचका क्रममा सिंहलाई पक्राउ गरेको हो । सिंहले बा.४९प ६२७७ नम्बरको स्कुटरको डिकीमुनि लुकाइराखेको अवस्थामा हतकडी फेला परेको थियो ।
काठमाडौं–७ मा डेरामा बस्दै आएका सिंह बानेश्वरस्थित हिमालयन कलेजको बिबिएस दोस्रो वर्ष का विद्यार्थी हुन् । बुधबार दिउँसो सिंह बानेश्वरबाट स्कुटर चढेर स्वयम्भूतर्फ जाँदै थिए । प्रहरीका अनुसार सिंहले आफू प्रहरी हँ भनी हतकडी देखाए सर्वसाधारणबाट रकम असुल गर्दै आएका थिए । सिंहले सातजनाको लुटेरा समूह नै बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहले उनीहरूले अवैध काममा संलग्न हुनेको पहिचान गर्ने अनि प्रहरी भनी हतकडी देखाउँदै ठगी गरेको खुलेको बताए ।
‘विशेष गरी जुवातास खेलिरहेको अड्डामा जाने, हतकडी देखाउँदै धम्क्याउने र रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो,’ डिएसपी सिंहले भने । सिंहका अनुसार उनीहरूले व्यापारीलाई समेत धम्क्याउँदै रकम असुल्ने गरेका थिए । प्रहरीका अनुसार सिंहको समूह केही महिनादेखि ठगीमा
संलग्न थियो । प्र हरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक प्रकाश शर्माले सिंहको समूह व्यावसायिक र खतरनाक रहेको बताए ।
उनले भने, ‘उनीहरूको यसअघि कुन–कुन स्थानबाट ठगी गरेको खुलिसकेको छैन, ती सबै अनुसन्धानपछि खुल्ला । तर, यो समूह निकै खुंखार सूमह हो ।’ डिएसपी सिंहले अनुसन्धान जारी रहेकाले उनीहरूले हतकडी कहाँबाट ल्याए भन्नेबारे खुलिनसकेको बताए ।

अपराधमा कलेजका विद्यार्थी

अभिभावकहरू छोराछोरीको सुन्दर भविष्यको कल्पना गर्दै उच्च शिक्षाका कलेज पठाउँछन् । छोराछोरी भने बाबुआमाको सपनालाई लत्याउँदै अपराधको बाटो रोज्न पुग्छन् । राजधानीमा चार महिनादेखि अपराधमा संलग्न विद्यार्थी भटाभट पक्राउ पर्नुले यसको पुष्टि गर्छ ।
गत १६ भदौमा बागबजारस्थित श्रेष्ठ टेलरिङनजिकै १९ वर्षीय चिरञ्जीवी रेग्मीको चक्कु प्रहार गरी हत्या भयो । रेग्मीलाई चक्कु प्रहार गर्ने सरोज बस्नेत, निशुभ तण्डुकार, रविन शाह र आकाश श्रेष्ठ चारजना विद्यार्थी हुन् ।
बुद्धनगरस्थित ग्लोबल ब्वाइज होस्टेलबाट नेपालगन्जका २० वर्षीय रोहित पुन र मध्यबानेश्वरको नवजीवन ब्वाइज होस्टलमा बस्ने जुम्लाका २१ वर्षीय भीम एडी लागुऔषधसहित पक्राउ परे । प्रहरीले होस्टेलको कोठाबाट उनीहरूलाई १४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले कोठाबाटै लागुऔषध कारोबार गर्दै आएका थिए ।
८ भदौमा बानेश्वरस्थित कोलम्बस एकेडेमीका विद्यार्थी रोशन थापाले मोटरसाइकलले ठक्कर दिँदा उनीसहित ट्राफिक प्रहरी जवान प्रदीप राईको मृत्यु भयो । त्यस्तै, गत २६ जेठमा नयाँबजारमा वसन्त शाहीमाथि गोली प्रहार भयो । पेस्तोलबाट गोली चलाउने रिहर्सल गर्ने क्रममा शाहीलाई गोली लागेको थियो । घटनामा संलग्न भएको भन्दै प्रहरीले अमृत साइन्स क्याम्पसका स्ववियु सभापति २९ वर्षीय वीरबहादुर राउत र २४ वर्षीय मुकेश नेपालीलाई पक्राउ गर्‍यो ।
चार महिनायता भएका यी घटनामा आठ विद्यार्थी पक्राउ परिसकेका छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार विद्यार्थीहरू अपराधमा संलग्न हुनुमा ‘उमेरगत मनोविज्ञान’ महत्त्वपूर्ण कारण हो । उनले भने, ‘कलेज पढ्ने उमेरका विद्यार्थी भनेका सबै २५ वर्षमुनिका हुन्छन्, यस उमेरमा होस भन्दा पनि जोश धेरै हुन्छ, यही कारण पनि उनीहरू अपराधमा संलग्न हुन्छन् ।’

प्रतिक्रिया