‘मिर्गौलारोगीलाई थप दुई करोड’

काठमाडौ, ४  असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले मिर्गाैलारोगीहरूको तत्काल उपचारका लागि अर्थ मन्त्रालयसँग दुई करोड रुपियाँ माग गरिएको बताएका छन् । मिर्गाैलारोगसम्बन्धी उच्चस्तरीय कार्यदलले बुधबार बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री महतोले दुई करोड रुपियाँले मिर्गाैलारोगीको उपचारमा राहत मिल्ने बताए ।

मन्त्री महतोले प्रतिवेदनलाई तत्काल कार्यान्वयन गरिने जानकारी पनि दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ सहसचिव प्रा. डा. तीर्थराज बुर्लाकोटीको संयोजकत्वमा गत ५ भदौबाट मन्त्रालयले ११ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको थियो । प्रतिवेदनमा अंगदानसम्बन्धी कानुनलाई सरलीकृत बनाइनुपर्ने, नि:शुल्क अंग प्रत्यारोपणको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । नेपाल किड्नी समाजसमेतको सहभागितामा तयार गरिएको सो प्रतिवेदनमा मिर्गाैलारोगीका लागि आर्थिक एवं उपचार सेवाजस्ता अल्पकालीन तथा दीर्घकालीन व्यवस्था गरिनुपर्ने समाजका उपाध्यक्ष रमेश चालिसेले बताए ।

प्रतिक्रिया