द्रूतमार्गको ठेकेदार बताउँदै ६ लाख रुपियाँ ठगी

नुवाकोट, ४ असोज । सदरमुकाम विदुरबाट झन्डै ६ लाख रुपियाँबराबरको नगद र जिन्सी ठगी गरेर एक व्यक्ति फरार भएका छन् ।

आफूलाई काठमाडौं तराई दु्रतमार्गमा काम गरिरहेको ठेकेदार बताउँदै गोरखाका महेन्द्र पोखरेल सदरमुकाम विदुरबाट विभिन्न व्यक्तिसँग ठगी गरेका हुन् । उनले हिमालयन बैंक त्रिशूली शाखाको बाउन्स चेक दिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पोखरेलले विदुरमा डेरी उद्योग सञ्चालन गर्दै आएका अर्जुन भट्टलाई एक लाख ५० हजार रुपियाँको चेक दिएर ५० हजार ठगी गरेका हुन् । राइनो आवासप्रालिका नाममा काटिएको उनको खातामा रकम नभएपछि स्थानीयले आफू ठगिएको थाहा पाएका हुन् । यस्तै उनले त्रिशूलीबजारका श्यामकृष्ण श्रेष्ठसँग सापटी लिएको एक लाख ५० हजार रुपियाँको सट्टामा साईबाबा पेट्रोल पम्प हेटांैडाका नाममा जारी भएको दस लाख रुपियाँको चेक दिएका थिए । विदुरमा होटल व्यवसाय गर्दै आएकी एक महिलाको सापटी लिएको ६० हजार रुपियाँको चेक पनि पैसा नभएको खाताको भएको पीडितहरूले बताए ।
सदरमुकाम विदुरमा दुई महिनादेखि भाडामा बस्दै आएका पोखरेलकी पत्नीले समेत घरधनीकी बुहारीको तीन तोला सुनको गहना ठगी गरेर फरार भएकी छन् । तीजमा माइती जानका लागि भनेर गहना लगेको पीडितको भनाइ छ ।

प्रतिक्रिया