हेटौंडामा भाइरल प्रकोप

हेटौंडा : उत्तरी मकवानपुरका गाविसहरूमा भाइरलको प्रकोप बढिरहेका बेला हेटौंडा नगरपालिका क्षेत्रमा पनि प्रकोप देखिएको छ ।

श्वासप्रश्वासका माध्यमबाट चाँडो सर्ने भएकाले पनि भाइरल ज्वरोको प्रकोप बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपछि नगरपालिकाले नगरका अधिकांश पायक पर्ने वडा कार्यालयमा सञ्चालित नगरस्वास्थ्य केन्द्रमार्फत उपचार थालेको छ । वडा कार्यालयमा सञ्चालित केन्द्रमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको हेटौंडा नगरपालिकाका सामाजिक विकास अधिकृत ध्रुवबहादुर भुजेलले जानकारी दिए ।
भाइरलले आग्रा, गोगने, दामन, डाँडाखर्कमा प्रकोपको रूप लिँदा चारजनाको ज्यान गइसकेको छ । आग्रा–७ का १० वर्षीय मिलन सुवेदी र गोगने–३ कटहरेकी सात वर्षीया संगीता वाइबा, दामन–८ का दुई वर्षीय युवराज रुम्बा र विपिन पाख्रिनको ज्यान गएको छ । हेटौंडा अस्पतालका डाक्टर सौरभ सापकोटाले उपचारका लागि आएका अधिकांश बिरामी भाइरल ज्वरोको भएको जानकारी दिए । (सौस)

प्रतिक्रिया