चमत्कार गर्छु भन्नु रक्सीले मातेका कुरा

काठमाडौं, ३ असोज । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले चार/चार वर्षसम्म काम गर्न नसकेको संविधानसभा ब्यूताएर कुनै चमत्कार हुन नसक्ने बताएकी छन् ।
‘चार बर्ष सम्म केही गर्न नसक्ने संविधानसभाले चार दिनमा कुनै चमत्कार गर्न सक्दैन,’ उनले भनिन्, ‘राजनीतिमा चमत्कार गर्छु भन्नु रक्सीले मातेकाले गर्ने कुरा हुन् ।’
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले कांग्रेस भित्रको अन्तरद्वन्द्वले पनि मुलुकलाई समस्यामा पारेको आरोप लगाईन । उनले भनिन्, ‘कांग्रेसले प्रधानमन्त्रीमा बैकल्पिक नेतृत्व दिन सक्नु पर्छ ।’
कांग्रेसले उम्मेदवार बनाउन नसके एमालेले आफ्ना स्थायी समिति सदस्य केपी ओलीलाई प्रधानमन्त्रीको उमेदवार बनाउने भण्डारीले बताईन । उनले भनिन्, ‘ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय एमालेले गरिसकेको छ ।’
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले अराजनीतिक, अनैतिक र असम्बैधानिक कार्य गरेको आरोप लगाएकी भण्डारीले भनिन्, ‘भट्टराई कुरा एउटा र काम अर्को गर्ने ढोगी प्रधानमन्त्री हुन् ।’ उनले जनताको घरमा बस्ने बहानामा भट्टराईले राज्यको ढुकुटीमा ब्रम्हलुट गरेको आरोप लगाईन ।
कांग्रेस प्रवक्ता दिलेन्द्र्र प्रसाद बडुले एमाओवादीले राजनीतिक इमान्दारिता देखाए आफूहरुले आधा घण्टामा प्रधानमन्त्रीको उम्मेदवार दिने बताए ।
एमाओवादीमा ईमान्दारीताको अभावका कारण नै मुलुकमा संकट बढ्दै गएको उनको आरोप थियो ।

प्रतिक्रिया