वृत्तचित्रमा ‘दुर्लभ’ नारी

काठमाडौ : थुप्रै नेपाली नारी तिजको रमझममा रमाइरहँदा सर्वनामको रंगमञ्चमा भने एक दुर्लभ नारीको कथा पर्दामा देखाइएको छ । पर्दामा उतारिएकी ७५ वर्षीया वृद्धा देवरूपा पाण्डे एक्लै बुढेसकाल गुजार्दै छिन् । र, उनीसँग संसार हेर्ने आँखा पनि छैनन् । उनी आफ्नो आँखाको ज्योतिविनै सामान्य मानिसले जस्तै दैनिक क्रियाकलाप गर्छिन् ।
देवरूपा आफ्नो वृद्ध देहलाई सामान्य ग्रामीण महिलाले जस्तै घाँसदाउरा, वस्तुभाउ गरेर उपभोग गरिरहेकी छिन् । तर, आम मानिसलाई यही कुरा दुर्लभ लाग्छ । त्यही दुर्लभ जीवन पद्धतिलाई डकुमेन्ट्रीमा उनिदिएका छन्, तीन युवा अंकित अधिकारी, कुमार पौडेल र प्रदीप बस्यालले ।
देवरूपाको जिन्दगी सिनेमाको कथाजस्तै छ, जसलाई डकुमेन्ट्रीमा सुहाउने ढंगले उजागर गरिएको छ । नौ वर्षे वसन्त पार गर्दा नगर्दै देवरूपाको आँखाको ज्योति गुम्छ । उनी जब १५ वर्ष पुग्छिन्, पितासमान उमेरको पुरुषसँग विवाह हुन्छ । कुनै अपांग नारीलाई बिहे गरे अनिष्ट टर्ने ज्योतिषीको भविष्यवाणीको पछि लागेर देवकलासँग वैवाहिक सम्बन्धमा जोडिएको हुन्छ सो पुरुष । चार छोरा र दुई छोरी जन्माएकी देवरूपा अन्तत: एक्ली बन्छिन् । ३५ वर्षअघि नै उनका श्रीमान्को निधन भइसकेको छ । हुर्केका सन्तानले एकक गर्दै उनलाई छोडेर जान्छन् । देवरूपाको जीवन गीतको शब्दजस्तै बनिदिन्छ ।
‘…छोराछोरी पालेँ–तालेँ यही भारीको भरमा, जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म …उमेर भइसक्यो असी, झन् ठुला दु:खले घेरेको…’
यद्यपि देवरूपालई जीवनप्रति कुनै गुनासो छैन । उनी त जिन्दगीको आगो छाम्दै आशाको खाना बनाइरहेकी छिन् । यही आशा र सकारात्मकतालाई डकुमेन्ट्रीले केन्द्रीय विम्ब बनाएको छ । उत्कृष्ट सम्पादनले डकुमेन्ट्रीको उचाइ थपिदिएको छ । सामान्य क्यामरा र प्रविधिका भरमा पनि सरल र उत्कृष्ट डकुमन्ट्री बन्नसक्ने उदारहण दिएको छ– लुकिङ दि अनआइड वेले । डकुमेन्ट्री हेरेपछि बाहिर आउन बाँकी कयौँ दुर्लभ देवरूपाहरूलाई खोज्न प्रेरित गरेझैँ लाग्छ । (सौस)

प्रतिक्रिया