६५ प्रतिशतमा दूरसञ्चार सेवा

काठमाडौं, ३ असोज । आर्थिक वर्ष ०६८/६९ को अन्त्यसम्म देशका सयमध्ये ६५ जनामा दूरसञ्चार सेवा पुगेको छ । आधारभूत टेलिफोन, मोबाइल तथा अन्य प्रविधिमार्फत कुल जनसंख्याको ६४.९१ प्रतिशतमा दूरसञ्चारको पहँच पुगेको हो ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकभर कुल टेलिफोन प्रयोगकर्ताको संख्या एक करोड ७२ लाख ८० हजार पुगेको छ । ल्यान्डलाइन र जिएसएम तथा सिडिएमए मोबाइलका ग्राहकसमेत गरी यो संख्या पुगेको प्राधिकरणले जनाएको छ ।
खासगरी जिएसएम मोबाइल सेवाको विस्तार उत्साहजनक छ । मोबाइलको पहुँच उल्लेख्य बढेकाले टेलिघनत्व पनि बढेको हो । कुल टेलिफोन प्रयोगकर्तामध्ये ५७.६० प्रतिशत मोबाइल प्रयोगकर्ता छन् । गत असार मसान्तसम्म मोबाइल प्रयोगकर्ताको संख्या एक करोड ५३ लाख ३४ हजार पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । मोबाइलका उपभोक्तामध्ये एक करोड ४५ लाख चार हजार जिएसएम मोबाइलका छन् । नेपालमा ११ वर्षअघि नेपाल टेलिकमले जिएसएम प्रविधिको मोबाइल सेवा सुरु गरेको थियो । सिडिएमए प्रयोगकर्ता भने आठ लाख २९ हजार ६ सय ६९ छन् । नेपाल टेलिकमले मात्र सिडिएमए प्रविधिमा मोबाइल सेवा प्रदान गरिरहेको छ ।
मोबाइल सेवाको विस्तार उत्साहजनक देखिए पनि आधारभूत टेलिफोन विस्तार भने सुस्त छ । प्राधिकरणका अनुसार असार मसान्तसम्म ६ लाख ३४ हजार मात्र फिक्स्ड लाइन टेलिफोन वितरण भएको छ । तथ्यांकले कुल जनसंख्याको ३.१५ प्रतिशतमा मात्र यस्तो सेवा पुगेको देखाएको छ ।
इन्टरनेट प्रयोगकर्ताको संख्या ५० लाख ४३ हजार पुगेको छ । तथ्यांकले करिब १९ प्रतिशत जनतामा इन्टरनेटको पहुँच विस्तार भएको देखाएको छ । सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता जिपिआरएसका छन् । पछिल्लो समयमा मोबाइलबाट चलाउन मिल्ने जिपिआरएसतर्फ धेरै उपभोक्ता आकर्षित भएको तथ्यांकले देखाएको छ । मोबाइलका उपभोक्ता बढेकाले जिपिआरएसमार्फत इन्टरनेट चलाउनेको संख्या पनि बढेको हो । असार मसान्तसम्म विभिन्न दूरसञ्चार कम्पनीका जिपिआरएस प्रयोगकर्ता ४६ लाख ८३ हजार नौ सय पुगेको प्राधिकरणको तथ्यांक छ । एडिएसएलका प्रयोगकर्ता भने ९२ हजार मात्र छन् ।
प्राधिकरणले हालसम्म आधारभूत टेलिफोनका लागि तीनवटा, मोबाइलका लागि दुईवटा, नेटवर्क सर्भिस प्रोभाइडरका लागि नौवटा, भिस्याटका लागि एकसय वटा, इन्टरनेट सेवाका लागि ४८ वटा, ग्रामीण दूरसञ्चारका लागि दुईवटा, लिमिटेड मोबिलिटीका लागि दुईवटा कम्पनीलाई लाइसेन्स दिएको छ ।
असार मसान्तसम्मको तथ्यांकअनुसार सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको बजार हिस्सा ४५ प्रतिशतमा झरेको छ । निजी क्षेत्रको सेवा प्रदायक आक्रामक बजार विस्तारको रणनीतिका साथ आएपछि टेलिकमको बजार हिस्सा घटेको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ग्राहक संख्याका आधारमा नेपाल टेलिकमको बजार हिस्सा ४५ प्रतिशत छ । असार मसान्तसम्म टेलिकमका कुल ग्राहक ७७ लाख ५६ हजार छन् । यसमध्ये ६१ लाख ६६ हजार जिएसएम मोबाइलका ग्राहक छन् भने सिडिएमएका ग्राहक आठ लाख २९ हजार छन् । त्यस्तै ल्यान्डलाइन मोबाइलका ग्राहक ६ लाख २८ हजार पाँच सय ७५ ग्राहक छन् । टेलिकमले फिक्स्ड लाइन, जिएसएम र सिडिएम प्रविधिमा सेवा सञ्चालन गरिरहेको छ । युटिएलको बजार हिस्सा ४ प्रतिशत छ । अन्य सेवा प्रदायकको बजार हिस्सा भने १ प्रतिशतको हाराहारीमा छ ।

प्रतिक्रिया