पूर्वराजा ज्ञानेन्द्र फेरि जिल्ला दौडाहामा

काठमाडौं, ३ असोज । सरकार र राजनीतिक दलप्रति जनताको निराशा बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका बहानामा सक्रिय हुन थालेका छन् । उनले आगामी ४ असोजदेखि पाँच दिनसम्म पश्चिमाञ्चल क्षेत्रका चार जिल्ला भ्रमण गर्ने भएका छन् ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले गोरखा, लमजुङ, तनहुँ र स्याङ्जाको भ्रमण गर्नेछन् । उनले ती जिल्लास्थित धार्मिक मठमन्दिरको दर्शन तथा पूजा–अर्चना गर्नेछन् । निर्मलनिवास स्रोतले उनको भ्रमणलाई नितान्त धार्मिक भएको जनाएको छ । उनले सर्वसाधारणसित भेटघाट पनि गर्नेछन् ।
पूर्वराजा ज्ञानेन्द्र निकटहरूले भ्रमण नितान्त धार्मिक बताए पनि राजनीतिक वृत्तमा भने यसलाई गुमेको सत्ता प्राप्ति गर्ने कसरतका रूपमा हेरिएको छ । ‘धार्मिक भ्रमणको निहुँमा जनता र राजनीतिक दलको शक्ति आँकलन गर्ने उद्देश्य हुन सक्छ,’ राजनीतिक विश्लेषक मुमाराम खनालले भने, ‘लोकतन्त्रका हिमायती राजनीतिक दलहरू संक्रमणकालमा बलिया भइदिएको भए पूर्वराजाको भ्रमणले केही प्रभाव पार्ने थिएन, त्यही कमजोरीको फाइदा ज्ञानेन्द्रले उठाउँदै छन् ।’
पाँच वर्षअघि शासनसत्ता गुमाएका पूर्वराजा ज्ञानेन्द्रले संविधानसभा विघटन भएयता देशका दुई स्थान र एकपटक विदेश भ्रमण गरिसकेका छन् । सुदूरपश्चिमबाट आºनो धार्मिक यात्रा सुरु गरेका उनले लुम्बिनी अञ्चलको भ्रमण पनि सकिसकेका छन् । धार्मिक भ्रमण बताउँदै आए
पनि उनले विभिन्न पक्षसँग भेटघाट गर्दै देश बचाउन आग्रह गर्ने गरेका छन् । अप्रत्यक्ष रूपमा राजनीतिक दलका कारण देशको अस्तित्व गुम्न थालेको गुनासो उनले गर्ने गरेका छन् । पछिल्लोपटक लुम्बिनी भ्रमणका बेला उनी निकटहरूबाट पाएको जयजयकारबाट हौसिएका पूर्वराजा ज्ञानेन्द्र त्यसलगत्तै पत्नी कोमलको स्वास्थ्योपचारका लागि युरोप गएका थिए । युरोप भ्रमणका क्रममा मलेसिया र भारतका केही प्रभावशाली व्यक्तिसँग पनि उनले भेटघाट गरेका थिए । युरोप भ्रमणपछि उनले पश्चिमाञ्चलको भ्रमण तय गरेका हुन् ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र पश्चिमाञ्चलको भ्रमणपछि मध्यपश्चिम क्षेत्रको भ्रमणमा जाने योजनामा छन् । पश्चिमाञ्चलभन्दा पहिले मध्यपश्चिमको भ्रमण गर्ने योजना भए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्लाबाट भ्रमण सुरु गर्नुपर्ने निकटस्थहरूको सुझावअनुसार उनले कार्यक्रम परिवर्तन गरेका थिए ।

प्रतिक्रिया