आधा लडाकुले मात्रै परीक्षा दिए

काठमाडौं, ३ असोज । समायोजन रोजेर बसेका माओवादी लडाकुमध्ये आधा मात्रै लिखित परीक्षामा सामेल भएका छन् । तीन हजार एक सय २३ जना माओवादी लडाकुमध्ये एक हजार ५ सय ४४ लडाकुले मात्रै समायोजनका लागि लिखित परीक्षा दिएका हुन् ।

गत २१ भदौबाट प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणमा लिखित परीक्षा लिइएको थियो । लडाकुको लिखित परीक्षा मंगलबार सम्पन्न भएको छ । सेना समायोजन विशेष समितिको सचिवालयबाट परिचालित सरकारी अधिकारीहरूले एक हजार ५ सय ४४ लडाकुको परीक्षा लिएको समितिले जनाएको छ । यस्तै, सरकारले ‘प्याकेज’मा उपलब्ध गराएको रकमको ‘चेक’ र बाटो खर्चबापतको रकम बुझेका छन् । इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार एक सय २३ जना माओवादी लडाकुमध्ये एक हजार ५ सय ११ जना स्वैच्छिक अवकाशमा जाने भएका छन् । लिखित परीक्षामा अधिकांश पूर्वलडाकु कमान्डरहरू अनुपस्थित भएका छन् । चौथो डिभिजनका पूर्वकमान्डर तेजबहादुर ओली, पूर्वडिभिजन कमान्डरमा दोस्रोका सुकबहादुर रोका, तेस्रोका धनबहादुर मास्की, छैटौँका महेन्द्रबहादुर शाही, सातौँका सन्तु दराई परीक्षामा अनुपस्थित छन् । यी सबै एमाओवादी महाधिवेशन आयोजक समिति सदस्य छन् । अनुपस्थित पूर्वलडाकुले स्वैच्छिक अवकाश रोज्न पाउनेछन् । एमाओवादी महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका पहिलो डिभिजनका पूर्वकमान्डर यमबहादुर अधिकारीले भने समायोजनका लागि भर्ना, छनोट प्रक्रियामा सहभागी भएका छन् । उनले लिखित परीक्षासमेत दिएका छन् । एमाओवादीले केन्द्रीय राजनीतिमा रहेका लडाकुलाई समायोजनमा नलैजाने बताएको थियो ।
विशेष समिति सचिवालयका निमित्त सचिव मधुविलास पण्डितका अनुसार अधिकृत तहको परीक्षामा सामेल भएका ८५ जना र अन्य दर्जाका लागि जाँच दिएकाको परीक्षाफल यही ७ असोजमा प्रकाशन हुनेछ । लोकसेवा आयोग, सचिवालयका कर्मचारीको संलग्नतामा नेपाली सेनाले सञ्चालन गरेको परीक्षामा अनुत्तीर्ण हुने लडाकु स्वत: अवकाशमा जानेछन् । अधिकृत र अन्य दर्जाको परीक्षा परिणाम प्रकाशन भएपछि सचिवालयको निर्णयअनुसार बाँकी काम अघि बढाइने सचिवालयले जनाएको छ । सरकारले हिमाली क्षेत्रका लडाकुलाई आठ, पहाडी भेगकालाई पाँच र तराई इलाकालाई दुई हजार रुपियाँ बाटो खर्चबापत दिएको थियो । त्यसैगरी, स्वैच्छिक अवकाशमा जानेलाई उनीहरूको दर्जाअनुसार चेकबाट ८१ करोड नौ लाख रुपियाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया