‘दसैँमा घर आउँछु भनेको थियो’

दैलेख : तोलिजैसी–६ थलारका एकै घरका दुई दाजुभाइको भारतमा पहिरोमा पुरिएर मृत्यु भएपछि परिवार शोकमा छ । भारतको उत्तराञ्चल प्रदेशको रुद्रप्रयाग जिल्लाको उखिमेटबजारमा बिहीबार राति १२ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको खबरले परिवार शोकमा डुबेको हो ।

‘दसैँमा घर फर्किन्छु,’ भारत उखिमेटबाट तीन दिनअघि मात्र घरमा फोन गरेर बमबहादुर शाहीले पत्नी मानकुमारीलाई भनेका थिए । एक छोरा, चार छोरीकी आमा मानकुमारी दसैँमा छोराछोरीको इच्छा पैसा कमाएर घरमा बुबा आएपछि पूरा गर्ने आश्वासन दिएर बसेकी थिइन् । पति पहिरोमा पुरिएर मरेको खबरले उनी अहिले पनि क्षणक्षणमा मुर्छित हुन्छिन् । मानकुमारी मात्र होइनन्, उनकी जेठानी जैसरा पनि पतिको मृत्युको खबरले बहोस छिन् । घरपरिवार मात्र होइन थलार गाउँ नै शोकमग्न छ । कमाइ गरेर घरपरिवारलगायत बालबच्चाको लवाइखुवाइलगायत पढाइ खर्चको व्यवस्था गर्ने अभिभावकको मृत्युले छोराछोरीलगायत घरपरिवार बिचल्लीमा परेका छन् । जेठा शमशेर शाहीका चार छोराछोरी र बमबहादुरका पाँचसहित नौ बालबालिकाको लालनपालन, पढाइलेखाइ गराउने अविभावकको परिवारमा थप समस्या थपिएको छ । ‘सपनाजस्तो लागिरहेको छ,’ दीपक शाहीले भने, ‘तीन दिनपहिले मात्र मेरो मोबाइलमा फोन गरेर घरको हालखबर सोधेका थिए ।’
‘पत्नीलाई बोलाइदेऊ,’ उनले भने, ‘पत्नीलाई फोनमा दशैँमा घर आउँछु भनेका थिए तर मरेको खबर पो आयो ।’ गरिबका कारण घरखर्च धान्नका लागि पैसा कमाउन भारत पुगेका बमबहादुर र दाइ शमशेर रुद्धप्रयाग जिल्लाको उखिमेट रासन गोदाममा भरिया काम गरिरहेका थिए । बिहीबार राति आएको पहिरोमा तिलेपाटा–४ का मानबहादुर र जयरूप शाही, तोलिजैसी–६ का शमशेर र बमबहादुरसहित १२ जनाको ज्यान गएको थियो । (सौस)

प्रतिक्रिया