महाकालीमा पानी बढेपछि आवागमन ठप्प

कैलाली,  ३ असोज । लगातार परेको अविरल वर्षाले कञ्चनपुरलगायत सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । यसअघि खासै वर्षा नभएको सुदूरपश्चिममा तीन दिनदेखि निरन्तर वर्षा भएपछि जनजीवन प्रभावित भएको हो  ।

वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । महाकाली नदीमा पानीको बहाव बढेको र वर्षा हुने क्रम नरोकिएपछि महाकाली किनारवासी विस्थापन भएका छन् भने महाकाली नदीको टनकपुरमा आवतजावत बन्द गरिएको छ ।
महाकाली नदीमा पानीको बहाव एक लाख २० हजार क्युसेकका दरले बगिरहेको छ । नेपालतर्फ भारतले एक लाख सात हजार क्युसेक पानी छाडेको भारतीय पक्षलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
भारत पक्षले प्रतिसेकेन्ड एक लाख क्युसेक बढी पानी छाडेपछि सोमबारबाट पुलमा आवतजावत बन्द गरेको हो । पुलमा आवतजावत बन्द भएपछि भारतबाट मजदुरी गरेर घरमा आउने र भारततिर जाने सर्वसाधारण बिचल्लीमा परेका छन् ।
वर्षाले दोदा नदीमा पानीको बहाव बढेपछि शंकरपुरलगायतका गाविसमा तीव्र कटान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सदरमुकाम महेन्द्रनगर पनि जलमग्न भएको छ । अविरलरूपमा परेको वर्षाका कारण कञ्चनपुरको दक्षिणी भेगमा रहेको झर्नाखोलाले ३० परिवारको झन्डै ४० बिघा जमिनको धानखेती बगाएको छ । रामपुरविलासपुर र बेलडाँडी–९ मा पर्ने झर्नाखोलाको सतह बढेकोले यस क्षेत्रका किसानको ४० बिघा जमिनमा रहेको धानखेती बगाएको बेलडाँडीका दिनेश अवस्थीले बताए ।
वर्षाका कारण दैजी–बेलडाँडी सडकखण्ड पनि ठप्प भएको छ । यातायात सेवा ठप्प भएपछि सर्वसाधारण यातायात सेवाबाट पूर्ण वञ्चित भएका छन् । कञ्चनपुरका आरक्षपीडित, बाढीपीडित, सुकुम्बासी, भूमिहीन, मुक्तकमैयाका शिविर पनि जलमग्न भएका छन् ।
त्यसैगरी कैलालीको भासु भीरमा पहिरो जाँदा पहाडी जिल्लामा चल्ने गाडी बीचबाटोमै अलपत्र परेका छन् । वर्षा
रोकिएपछि मात्र पहिरो पन्छाउने काम हुने बताइएको छ । पहाडी जिल्लाबाट कैलाली कञ्चनपुरलगायत तराईका जिल्ला आउने र तराईबाट पहाड चल्ने सबै सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । बाढीका कारण कैलालीका अधिकांश भाग डुबानमा परेका छन् भने २० भन्दा बढी विद्यालयको पठनपाठन बन्द भएको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया