चौथो टी–ट्वान्टी विश्वकप आजदेखि

कोलम्बो, २ असोज । ‘हिटिङ क्रिकेट’का रूपमा परिचित क्रिकेटको पछिल्लो स्वरूप टी–ट्वान्टीको चौथो विश्वकप संस्करण मंगलबारदेखि श्रीलंकामा सुरु हुँदै छ । ब्याट्सम्यान बढी हावी हुने यसस्वरूपको क्रिकेटमा ‘हिटर ब्याट्सम्यान’लाई समावेश गरी यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का १० स्थायी सदस्य टोली र दुई एसोसिएट तथा एफिलिएट गरी १२ टिम श्रीलंकामा जम्मा भइसकेका छन् । एसोसिएट र एफिलिएटको तर्फबाट यसपटक आयरल्यान्ड र अफगानिस्तान सहभागी हुँदै छन् ।

सन् २००७ देखि सुरु भएको टी–ट्वान्टी विश्वकपको पहिलो संस्करणको विजेता भारत हो भने त्यसपछि सन् २००९ मा पाकिस्तान र २०१० मा इंग्ल्यान्ड बनेका थिए । भारतले फाइनलमा पाकिस्तानलाई हराएको थियो भने लगातार दोस्रोपटक फाइनल पुग्ने क्रममा पाकिस्तानले श्रीलंकालाई पराजित गरेर उपाधि जितेको थियो । इंग्ल्यान्डले यसपटक डिफेन्डिङ च्याम्पियन बन्ने क्रममा अस्ट्रेलियालाई पराजित गरेको थियो ।
यसपटक यसअघिका तीनवटै विजेता टोली इंग्ल्यान्ड, भारत र पाकिस्तान प्रबल दावेदारका रूपमा छन् । पछिल्ला केही महिनादेखि यी तीनवटै टोलीले
टी–ट्वान्टीमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । क्रिस गेल, किरोन पोलार्ड, ड्वायन ब्राभो, मर्लोन स्यामुएल्स र जादुगर बलर सुनील नारायनलगायत इन्डिभिजुअल खेलाडीले बेजोड प्रदर्शन गरे पनि समग्र टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेको वेस्ट इन्डिजलाई पनि कमजोर आँक्न मिल्ने छैन । अस्ट्रेलिया पछिल्लो समय ब्याटिङमा कमजोर देखिए पनि लयमा फर्कन संघर्ष गरिरहेको छ । प्रदर्शन राम्रो गरे पनि ठूला प्रतियोगितामा आफ्नो पक्षमा नतिजा निकाल्न नसकिरहेको दक्षिण अफ्रिकाको चुनौती पनि उत्तिकै दमदार छ ।
पाकिस्तानद्वारा भारत पराजित
आइसिसी टी–ट्वान्टी विश्वकपको पूर्वसन्ध्यामा खेलिएको अन्तिम अभ्यास खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ । सोमबारै भएका अन्य अभ्यास खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई हरायो भने न्युजिल्यान्डविरुद्धको खेलमा दक्षिण अफ्रिका विजयी भयो । कामरान अकमलको ९२ रनको सहयोगमा पाकिस्तानले भारतविरुद्ध १ सय ८६ रनको लक्ष्य १९.१ ओभरमा हासिल गर्‍यो । अविजित कामरानले ५० बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । अविजित नै रहेका अर्का ब्याट्सम्यान सोएब मलिकले १८ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३७ रन जोडे । यी दुईबीच छैटौँ विकेटका लागि ८.३ ओभरमा ९५ रनको साझेदारी भएको थियो । यसअघि भारतले विराट कोहलीको अविजित ७५ र रोहित शर्माको ५६ रनको मद्दतमा विशाल योगफल तयार गरेको हो । कोहलीले ४७ बलमा सात चौका र दुई छक्का प्रहार गरे भने ४० बल सामना गरेका रोहितको इनिङमा ६ चौका र दुई छक्का सामेल रह्यो । अर्कोतिर,
१ सय ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरमा १ सय ६३ रन मात्र जोड्न सक्यो । त्यसैगरी,
१ सय ८७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा १ सय ७७ रन मात्र जोड्यो ।

प्रतिक्रिया