अधिकार र कर्तव्य संयोजन गर्ने अपेक्षा

हरितालिका तिज महिलाको महान् चाड हो । परापूर्वकालदेखि नै यो पर्व महिलाले मनाउँदै आएका छन् । तिज कहिलेदेखि मनाउन थालियो, केका लागि मनाउन थालियो, किन मनाउन थालियो ? भन्ने विषयमा विभिन्न धारणा रहँदै आएका छन् । जहिले मातृसत्ता हट्यो, सोही समयदेखि महिलालाई पुरुषले दबाब र नियन्त्रणमा राख्न थाले । यसैको परिणामस्वरूप महिलालाई चुलो र चौकामा सीमित बनाउन थालियो । आफ्ना कुरा स्पष्ट भन्न नसक्ने अवस्थामा पुरुषले आफ्नो पूजा–आजाका लागि भनेर महिलाका लागि एक दिन भए पनि स्वतन्त्रता दिनुपर्छ भन्ने उद्देश्यले तिज पर्वको सुरुवात भएको एउटा मान्यता पनि रहिआएको छ । तिजको दिन महिलालाई स्वतन्त्रतापूर्वक नाचगान गर्नसमेत छुट दिने गरिएको छ  ।
यसरी महिलालाई सांस्कृतिक रूपमा पनि परापूर्व कालदेखि थिचोमिचोमा राखिँदै आएको छ । एक दिन अर्थात् तिजको दिन व्रत बसेर श्रीमान्को आयु लामो हुने विश्वास दिलाउने अभ्यास हुँदै आएको छ । यसरी आयु लामो हुने भए, श्रीमान्ले पनि श्रीमतीका लागि व्रत किन नबस्ने भन्ने बहस पनि विगत केही समयदेखि उठ्न थालेको छ । महिलाले पनि मनन गर्नुपर्ने विषय के हो भने पुरुष र महिलाविना समाज अगाडि बढ्न सक्दैन । जिम्मेवारी र दायित्वको हिसाबले दुवैको उत्तिकै भूमिका हुन्छ । हो, प्राकृतिक रूपमा महिलाका लागि थप दायित्व निर्वाह गर्नुपर्ने भने अवश्य छ । तर, त्यसलाई कमजोरी ठानिनु हुँदैन  । बच्चा जन्माउनु पर्ने, पालन–पोषण गर्नुपर्ने आदि कारणले महिला माथि थप जिम्मेवारी अवश्य छ । तर, यसलाई व्यवस्थापन गर्न पुरुषको पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ ।
आर्थिक र सामाजिक रूपमा महिला पछाडि पर्नुमा ८० प्रतिशत भूमिका पुरुषप्रधान सोच र मानसिकता जिम्मेवार छ  । पढेलेखेका श्रीमती भए पनि घरमै बसेर आफ्नो सेवक बनोस् भन्ने पुरुषको अधिक चाहना हुने गरेको पाइन्छ भने महिलाले पनि श्रीमान् जे भन्यो त्यही मान्नुपर्छ भन्ने प्रवृत्तिले सबैभन्दा पीडित महिला नै भइरहेका छन् ।
महँगीले चरम सीमा नाघिसकेको छ । एकजनाको कमाइले घर चलाउन गाह्रो परेको अवस्थामा समेत पढेका महिला त्यत्तिकै घरको काममा मात्र सीमित भएर बस्न बाध्य महिलाको संख्या ठूलो छ । यसरी घरका चौघेरामा रहेका महिलाले धर्मकर्मप्रति बढी चासो दिने गरेका छन् । अर्थात् धेरैले घरको चौघेराबाहिर जाने माध्यमका रूपमा धर्मलाई साथ लिएको पाइन्छ । धर्मकर्म गर्नुपर्छ यसले मानिसलाई अनुशासित बनाउँछ । तर, धर्मका नाममा दिनभर निराहार बसेर श्रीमान्को आयु बढ्छ भन्नुभन्दा उत्पादनका क्षेत्रमा श्रीमान्लाई सघाउन सकियो भने श्रीमान्को आयु बढाउन सहयोग पुग्न सक्छ ।
पितृसत्तात्मक सोचका कारण संसारमा जस्तै महिलामा भएको ज्ञान र सीपसहितको शक्ति नेपालमा पनि समुचित उपयोग हुन सकिरहेको छैन । यसको मुख्य दोष सामाजिक संरचना र पितृसत्तात्मक सोच मात्र नभएर महिलामा रहेको यथास्थितिवादी सोचमा परिवर्तन नआउनु पनि हो ।
अधिकार र कर्तव्य एउटा सिक्काका दुई पाटा हुन् । हामीले अधिकारका कुरा गरिरहँदा कर्तव्य पूरा गर्‍यौँ कि गरेनौँ भन्ने प्रश्न पनि चर्को रूपमा उठ्ने गरेको छ । कर्तव्य भनेको प्रथमत: परिवार अनि समाज र देशका लागि हुन्छ ।
कतिपय सन्दर्भमा महिला अधिकारका नाममा पुरुषलाई नियन्त्रणमा दबाएर राखेको सन्दर्भ नआएको पनि होइन । यहाँ महिलाले मात्र अधिकारको उपयोग गर्न खोजेको देखिन्छ । तर, कर्तव्यलाई चटक्क बिर्सनु पनि हुँदैन । महिला आफू दिनभर घर बसेर श्रीमान्ले घरको काममा पनि सघाउनुपर्छ भन्ने माग कतिपय सन्दर्भमा गलत पनि हुन सक्छ । श्रीमान्ले आर्थिक उपार्जनको कार्य गर्ने भएपछि घरको खाना पकाउने, लुगाधुने काम गर्नुलाई ठूलो कामका रूपमा लिनु पटक्कै राम्रो होइन ।
वास्तवमा सहरबजारमा कार्यालयमा काम गर्ने महिला बढी अन्यायमा परेका छन् । पुरुषसरह कार्यालयको काम गर्नुपर्‍यो र घरको पनि सबै काम गर्नु पर्दा दोहोरो मारमा कामकाजी महिला परेका छन् । समाज परिवर्तनको चाहना राख्ने हो भने परिवर्तनको सुरुवात आफैँबाट गरिनुपर्दछ । वास्तवमा महिलासँग भएको ज्ञान र सीपअनुसार अगाडि नआउनुमा उनीहरूको पराधीन मानसिकता र पुरुषको प्रभुत्वशाली स्वभाव नै हो । यी दुवै सोच अतिवादी सोच हुन् । यसमा परिवर्तन आउनु जरुरी छ  ।
अबको तिज परिवर्तन हुनुपर्छ । हामीले तिज मनाइरहँदा दूरदराजमा बस्ने आर्थिक रूपमा पछि रहेका महिलालाई निराश बनाउने होइन । उत्साह बनाउने खालको हुनुपर्छ । यस्तो उत्साह ल्याउनलाई हामीले तिज भड्किलो पाराले मनाउनु हुँदैन । लुगा र गहनाको प्रतिस्पर्धा होइन विचार, ज्ञान र सीपमा प्रतिस्पर्धा गरौँ । अनिमात्र हामी कसैबाट दबिएको महसुस गर्नुपर्ने छैन । अपहेलित पनि हुनुपर्ने छैन । वास्तवमा नारीले युगौँदेखि पुरुषप्रति देखाएको स्नेह, सम्मान र समपर्णले आज समाज बाँचेको छ । सभ्याताको प्रत्येक बिहानीमा नारी र पुरुष दुवैले हातेमालो गर्दै चुनौतीका अग्ला पहाड उक्लेका छन् ।

प्रतिक्रिया