शिक्षकद्वारा पठनपाठन अवरुद्ध

गुल्मी, २ असोज । शिक्षा नियमावलीविपरीत दोहोरो तलब खाँदै आएका अर्खावाङका शिक्षकले पठनपाठन बन्द गरेका छन् । अर्खावाङ उच्च माविका स्थायी शिक्षकले अध्यापन नगरेका हुन् ।

प्राथमिक तह र निम्नमाध्यमिक तहमा स्थायी नियुक्ति रही उमाविमा पनि अध्यापन गराउँदै आएका नौ शिक्षकले उमाविमा तलब नबढाइदिएको भन्दै पठनपाठन ठप्प पारेको विद्यार्थी रमेश बुढाले बताए । ‘दुई घन्टा उकालो–ओरालो हिँडेर ह्वाङ्दीबाट आउनुपर्छ तर पढाउँदैनन्,’ उनले भने, ‘शिक्षकलाई पढाइको चिन्ता छैन, दोहोरो तलब खानेहरूले तलब नबढेको भन्दै हामीलाई बिचल्लीमा पारे ।’
स्थायी शिक्षकका लागि एकै समयमा जुनसुकै तहमा पढाए पनि दोहोरो–तेहेरो तलब खान नपाउने व्यवस्था शिक्षक नियमावलीमा भए पनि यहाँका शिक्षक तीन वर्षदेखि दोहोरो तलब खाइरहेको प्रधानाध्यापक चुरामणि रेग्मी बताउँछन् ।
‘प्राविका पाँच र निमाविका चार जनाले थप तलब खाएर उमावि पनि पढाएका छौँ,’ रेग्मीले भने, ‘शिक्षक नियमावलीमा यस्तो व्यवस्था छ भनेर पटक–पटक जानकारी गराए पनि विद्यालयको आर्थिक समस्याका कारण नयाँ शिक्षक राख्न सकिँदैन भन्दै विद्यालय व्यवस्थापन समितिले तलब दिएको हो ।’
गत साउनमा शिक्षा कार्यालयले पत्र पठाएको तर विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण नयाँ शिक्षक नराखेर पुरानै स्थायी शिक्षकलाई थप तलबमा राखिएको रेग्मीले बताए । प्राथमिक र निम्नमाध्यमिक तहमा स्थायी नौ शिक्षकले मासिक दुई हजार एक सय रुपियाँ थप तलब बुझ्दै आएको विद्यालयले जनाएको छ । उमावि पढाउनका लागि राखिएका निजी स्रोतका शिक्षकको तलब बढाइएको तर आफूहरूको भत्ता नबढाइएको भन्दै दोहोरो तलब खानेमध्येका ६ शिक्षकले पठनपाठन ठप्प पारेका हुन् ।
विद्यालयको उमाविअन्तर्गत कक्षा ११ मा ३४ र १२ मा १९ सहित ५३ विद्यार्थी अध्ययनरत छन् । दुर्गम गाविस र छिमेकमा अन्य उमावि नभएका कारण ह्वाङ्दी, अर्खावाङ, दर्लिङ, मर्भुङ, छाप, हिलेलगायत गाविसका विद्यार्थी घन्टौँ हिँडेर विद्यालयमा उच्चशिक्षा अध्ययन गर्न आउने गर्छन् ।
विद्यालयमा जेनतेन उमाविको कक्षा सञ्चालन भए पनि भौतिक स्रोत र शैक्षिक सामग्री राम्रो नभएको विद्यार्थीको गुनासो छ । ‘विद्यालयमा पुस्तकालय, शौचालय, खानेपानी, खेलमैदान तथा खेलसामग्रीको व्यवस्था छैन,’ विद्यार्थी रमेश बुढाले भने, ‘गाउँको विद्यालय भनेर सहेका छौँ, शिक्षक भने मनपरी तलब खान नपाएको भन्दै पढाउन तयार छैनन् ।’
विद्यालयमा केही समयदेखि भएको खिचातानीका कारण माध्यमिक तहको जेहेनदार छात्रवृत्तिसमेत वितरण हुन सकेको छैन । शिक्षा कार्यालयले तुरुन्त सार्वजनिक लेखापरीक्षण गरी प्रतिवेदन पेस गर्न निर्देशन जारी गरे पनि अर्खावाङ उमाविमा अहिलेसम्म सार्वजनिक लेखापरीक्षण भएको छैन ।
प्रअद्वारा राजीनामा
गुल्मी : विद्यालयको समस्यालाई व्यवस्थापन समितिले चासो नदिएको भन्दै प्रधानाध्यापक चुरामणि रेग्मीले राजीनामा दिएका छन् । प्रधानाध्यापक रेग्मीले आफूसँगै व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिका रूपमा सदस्य रहेका अर्का शिक्षक धनबहादुर थापाले पनि राजीनामा दिएको बताए । ‘शिक्षा नियमावलीमा जे भए पनि हामीले गरेको श्रमअनुसारको पारिश्रमिक पाउनुपर्छ, आन्दोलनरत शिक्षक लक्ष्मण अर्यालले भने, ‘महँगीअनुसारको तलब वृद्धि नभएमा अध्यापनमा फर्कन सकिन्न ।’

प्रतिक्रिया