डिआइजीद्वारा आफैँलाई पुरस्कार

विराटनगर, २ असोज । पूर्वाञ्चलका डिआइजी सुरेन्द्रबहादुर शाहले शान्तिसुरक्षा र अमनचयन कायम गराउन सफल भन्दै आफैँसहित मातहतका प्रहरी अधिकृतलाई पुरस्कृत गरेका छन् । बितेको आर्थिक वर्षमा पूर्वाञ्चलमा शान्तिसुरक्षा कायम गराउने क्रममा कुशलतापूर्वक काम गरेको भन्दै डिआइजी शाहसहित सात सय तीन प्रहरी पुरस्कृत गरिएका छन् ।

पूर्वाञ्चल प्रहरी कार्यालयका अनुसार डिआइजी शाहसहित नौ एसपी, २२ डिएसपी, ३३ इन्स्पेक्टर, ७१ सइ, ९७ असइ, एक सय ५३ हवल्दार, तीन सय नौ जवान र आठ परिचरलाई उत्कृष्ट मानेर पुरस्कृत गरिएको छ ।
यस्तै, पूर्वाञ्चलमा तीन सय ६६ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी आचरणविरुद्ध काम गरेको आरोपमा आर्थिक वर्ष ०६८/६९ मा उनीहरूलाई कारबाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पूर्वाञ्चलका १६ जिल्लामा कार्यरत उनीहरूलाई कारबाही गरिएको हो । कारबाही पर्नेमा प्रहरी अधिकृतदेखि परिचरसम्म छन् । डिआइजी सुरेन्द्रबहादुर शाहका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारबाहीमा परेका छन् । शाहका अनुसार १० इन्स्पेक्टर, १८ सइ, ३८ असइ, ७० हवल्दार, दुई सय २५ जवान र पाँच परिचर कारबाहीमा परेका छन् ।
नियमित कामकारबाही चुस्तदुरुस्त नगरेको, विभिन्न आपराधिक घटनामा संलग्न भएको, घुस लिएको, भ्रष्टाचार गरेको, प्रहरी आचरणविपरीतका काममा सक्रिय भएको, आपराधिक समूहसँग साँठगाँठ गरेकोलगायतका कारण कारबाही गरिएको डिआइजी शाहको दाबी छ ।
कारबाहीमा परेका अधिकांशलाई आगामी दिनमा कुनै पनि गल्ती नगर्ने सर्तमा सचेत गराउँदै सरुवा गरिएको छ । कारबाहीमा परेकामध्ये ५९ प्रहरीलाई जागिरबाट बर्खास्त गरिएको छ । उनीहरूमध्ये दुई सइ, चार असइ, पाँच हवल्दार, ४३ जवान र पाँच परिचर छन् । चालु आर्थिक वर्षको दुई महिनामा पूर्वाञ्चलमा ५९ प्रहरीलाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमध्ये ६ सइ, ११ असइ, १३ हवल्दार र २९ जवान छन् ।

प्रतिक्रिया