राहत पाएनन् भूकम्पपीडितले

ताप्लेजुङ, २ असोज । १ असोज ०६८ अर्थात् ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको दिन । पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले निकै ठूलो धनजनको क्षति गरेको थियो । भूकम्प गएको एक वर्ष नाघ्दा पनि कतिपय भूकम्पपीडितले ओभानोमा वाससमेत पाउन सकेका छैनन् ।

भूकम्प पीडितका लागि सरकारले ऋण उपलब्ध गराउने भनेर गरेको निर्णय चार महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । भूकम्पपीडित वर्षायाममा पालभित्र बस्न बाध्य छन् भने अर्कातिर सरकारको निर्णय कागजी पानामा सीमित भएको छ ।
१६ चैत ०६८ मा मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, इलाम, धनकुटालगायत भूकम्प प्रभावित १२ जिल्लाका लागि ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट गठित कार्यदलको प्रतिवेदनका अनुसार अतिविपन्न परिवारका लागि १० हजार रुपियाँ अनुदान, पूर्णक्षति भएकालाई एक लाख र अर्धक्षति भएकालाई ५० हजार रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यसको कार्यान्ययन गर्ने निकाय जिल्ला प्राविधिक कार्यालयले भने अहिलेसम्म विभागबाट औपचारिक पत्र नआएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजेशकुमार यादवले बताए ।
भूकम्पपीडितले तत्कालीन समयमा उपलब्ध भएको तीनदेखि पाँच हजार रुपियाँ राहतबाहेक केही सहयोग नपाएको गुनासो गरेका छन् । बढीमा १० वर्षका लागि १३ प्रतिशत ब्याजमा दिइने ऋणको पहिलो दुई वर्षको ब्याज सरकारले र बाँकी आधा तिर्ने गरी योजना तयार पारिएको थियो । यसका लागि निजी घरका लागि मात्रै सरकारलाई दुई अर्ब १४ करोड रुपियाँ आवश्यक हुन्छ । भूकम्पले देशभरिका आठ हजार सात सय ९२ घरमा पूर्ण र २१ हजार आठ सय ९२ घरमा आंशिक क्षति पुर्‍याएको सरकारी तथ्यांक छ । एक वर्षसम्म पनि कार्यान्वयनमा नआएको सहयोग आउँछ कि आउँदैन भन्ने अन्योल रहेको छ ।
भूकम्पबाट प्रभावित ताप्लेजुङ जिल्लाका बासिन्दा अहिले भने दिनहुँको वर्षाका कारण त्रस्त बन्दै गएका छन । चिराचिरा बनेको जमिनमा जीवन गुजारिरहेका पीडितलाई लगातारको वर्षाले झनै चिन्तित बनाएको छ ।
यसैबीच भूकम्पले भत्काएका दुई सय २३ विद्यालयका पाँच सय ४४ भवन निर्माणाधीन रहेका छन् । भवन यथाशीघ्र नबन्दा विद्यार्थीले सहज पठनपाठन पाउन सकेका छैनन् । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले २१ वटा भूकम्प प्रतिरोधात्मक भवन पुन:निर्माण गरिरहेको छ । रेडक्रसले पहिलो चरणमा ४७ वटा भवन मर्मत गरिसकेको सभापति गणेश अधिकारीले जानकारी दिए । शिक्षा कार्यालय ताप्लेजुङले ४४ लाख रुपियाँको लागतमा विभिन्न विद्यालयका ३६ वटा भवन निर्माण गरिएको छ ।

प्रतिक्रिया