चार शव फेला

काठमाडौं : रौतहट र बैतडीमा चारवटा शव फेलापरेका छन् । रौतहटको छुट्टाछुट्टै दुई स्थानबाट दुई व्यक्तिको शव फेलापरेको हो । चन्द्रनिगाहपुरको राजपैडामा एक वृद्धाको शव नहरको किनारामा फेलापरेको छ । चन्द्रनिगाहपुर–५ स्थित बाग्मती खोलाको नहरमा निजगढ पानी टयाङ्की घर भएका ६५ वर्षीय कर्ण पौडेलको शव फेलापरेको प्रहरीले जनाएको छ । एक वर्षदेखि चाँदी नदीको किनारास्थित महादेव मन्दिरमा रेखदेख र पूजाआजा गर्दै आएका पौडेल पहिले नेपाली सेनामा समेत कार्यरत रहेको बुझिएको छ ।
नेपाली सेनामा कार्यावधि सकिएर लामो समयदेखि मन्दिरवरपर नै बसोबास गर्ने गरेको स्थानीयले बताएका छन् । दमका रोगी पौडेल सोमबार बिहान मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यस्तै रौतहटकै मोथिहायीमा रहेको मन्दिरछेउमा सोमबार बिहान एक व्यक्तिको शव फेलापरेको छ । सन्तपुर–९ मोतीपुरका ४६ वर्षीय गोविन्द चौधरी मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । चौधरी दुई दिनदेखि बेपता थिए ।
यस्तै, बैतडी–१ असौस सिद्धेश्वर–९ नौलानीधुरा जंगलमा एक महिला र बालकको शव भेटिएको छ । सोमबार बिहान आधा जलाएको अवस्थामा अन्दाजी २५ वर्षीया महिलाको शव र छेउमा २ वर्षीय बालकको टाउको भेट्टिएको प्रहरीले जनाएको छ । महिलाको पछाडिको भाग केही जलेको र बालकको टाउको चिन्न नसकिने अवस्थामा रहेको सइ लालबहादुर साउदले बताए । सोमबार घाँस काट्न गएका महिलाले शव देखेर प्रहरीलाई खबर गरेका थिए । (सौस)

प्रतिक्रिया