बाढीपीडितलाई राहत वितरण

कैलाली, २ असोज । तीन दिनदेखि लगातार वर्षाका कारण प्रभावित बाढी तथा डुबान क्षेत्रका बासिन्दालाई सोमबार नेपाली सेना र रेडक्रसका प्रतिनिधिले राहत वितरण गरेका छन् ।

वर्षासँगै आएको बाढीका कारण कैलालीमा सयौँ घरपरिवार विस्थापन भएका छन् भने दुई जनाको ज्यान गएको छ । नेपाली सेनाको ५ नम्बर बाहिनी तेघरीबाट खटिएका दुईवटा टोलीले बाढीग्रस्त क्षेत्र चौमाला र लालबोझीमा राहत वितरण र स्वास्थ्यशिविर सञ्चालन गरेका छन् ।
बाहिनीका मेजर मन बस्नेतको नेतृत्वमा गएको टोलीले चौमालाको राजीपुरमा ७३ घरपरिवारलाई चाउचाउ, बिस्कुट, लत्ताकपडा वितरण गर्नुका साथै दुई सयजना बाढीपीडितको स्वास्थ्यपरीक्षण गरेर नि:शुल्क औषधि वितरण गरेको थियो । त्यस्तै, मेजर प्रज्वल शाहीको नेतृत्वमा गएको टोलीले लालबोझीमा बाढी प्रभावितलाई चामल, तरकारी, बिस्कुट, लत्ताकपडालगायत सामग्रीका साथै सय जनाको स्वास्थ्यपरीक्षण गरेर औषधि वितरण गरेको कर्णेल सुवर्णबहादुर शाहले बताए ।
उता, नेपाल रेडक्रस सोसाइटी कैलालीले राहत सामग्री वितरणका साथै बाढीबाट प्रभावित क्षतिको लगत संकलन सुरु गरेको जनाएको छ । रेडक्रसले जिल्लामा रहेका उपशाखामार्फत राहत सामग्री वितरण गर्ने काम सुरु गरेको रेडक्रसका सभापति उत्तम जोशीले बताए ।
उनले हालसम्म कैलालीमा चार सय १९ घरपरिवार विस्थापन भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै रेडक्रसले बाढी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा राख्न पहल गरिरहेको बताए । पानी पर्ने क्रम नरोकिएको तथा पानीको सतह नघटेकाले बाढी प्रभावित क्षेत्रका बासिन्दा अझै घर फर्कन सकेका छैनन् ।
मुक्तकमैया शिविर, चौमाला, लालबोझी, फूलबारी, रतनपुर, पवेरा, उदासीपुर, धनसिंहपुरलगायत गाविसमा अझै पानीको सतह घटेको छैन । बाढीप्रभावितहरू विद्यालय, स्वास्थ्यचौकीमा बसिरहेका छन् । अधिकांश प्रभावितले अझै राहत सामग्री नपाएका कारण भोकै बस्नुपरेको बताए ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको आइतबार बसेको बैठकले बाढीका कारण चार सय १९ घरपरिवार विस्थापन, १५ घर बगाएको र दुई हजार चार सय ५० घरपरिवार प्रभावित भएको जनाएको छ । समितिका अध्यक्ष तथा सिडिओ कैलाशकुमार बजिमयले बाढी प्रभावितहरूको लगत लिने र राहत वितरण गर्ने काम सुरु गरिसकेको बताए ।
बजिमयले सबै प्रभावितले राहत सामग्री पाऊन् भनेर वितरण गर्न एकद्वार प्रणाली अपनाइएको बताउँदै रेडक्रससँग समन्वय गरेर प्रभावित क्षेत्रमा जाने निर्णय भएको बताए । उनले अहिलेसम्म उद्धार तथा लगत लिने काम भएको र मंगलबारबाट तदारुकताका साथ राहत वितरणको कार्यक्रम थालिने जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले वर्षापछि आएको बाढीका कारण संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा औषधि पठाइएको छ । कार्यालयका प्रमुख जयबहादुर कार्कीले प्रभावितमा झाडापखाला, ज्वरो, रुघाखोकीको संक्रमण देखापरेकाले फैलिन नदिन औषधि पठाएको बताए ।
बाजुरामा एक बेपत्ता
दुई दिनदेखि लगाताररूपमा परिरहेको वर्षाले बझाङको जनजीवन अस्तव्यस्त भएको छ । वर्षाका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँसम्म जान सकिरहेका छैनन् भने सदरमुकाम चैनपुरको विद्युत् सेवा अवरुद्ध भएको छ ।
डोगडीमा सुर्मादेवी विद्युत् प्रालिको नहर बाहुलीगाडमा आएको बाढी र पहिरोले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ । बाढीपहिरोका कारण विद्युत् सेवा बन्द भएपछि सदरमुकाम चैनपुरलगायत आसपासका पाँच गाविसका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् ।
विद्युत् सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमको जिएसएम प्रविधिको नमस्ते मोबाइल सेवा बन्द भएको छ । उता वर्षासँगै आएको पहिरो र बाढीले जिल्लाको केही स्थानमा धान, कोदो, मकैलगायतका बालीनालीमा क्षति पुर्‍याएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
त्यस्तै वर्षाका कारण जिल्लाको एक मात्र सडक मार्ग जयपृथ्वीबहादुर सिंह राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा यातायातका साधन आवतजावतमा समस्या भएको छ ।
उता बाजुरामा आइतबार साँझ खोलामा बगेर मानाकोट–८ का २५ वर्षीय हिक्मत रोकाया बेपत्ता छन् । सदरमुकाम मार्तडीबाट घर जाने क्रममा मानाकोटमा रहेको कीर्तिचौर उमाविनजिकै पर्ने भौनेरा खोलाको काठेपुलबाट खसेर रोकाया बेपत्ता भएका हुन् । बेपत्ता रोकायाको खोजीकार्य भइरहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया