परीक्षामा २९ लडाकू अनुपस्थित

सुर्खेत, १ असोज । सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनमा विभिन्न दर्जाका लागि आज भएको लिखित परीक्षामा २९ लडाकुले अनुपस्थिति जनाएका छन् ।
यद्यपि २ सय ४५ जना लडाकूले भने लिखित परीक्षा दिएका छन् । नेपाली सेनामा समायोजन रोजेका २ सय ७४ लडाकूले फारम बुझाए पनि लिखित परीक्षामा २९ जना अनुपस्थित रहेको सेना समायोजन भर्ना छनोट समितिका संयोजक एवं नेपाली सेनाका प्रमुख सेनानी भरत कार्कीले जानकारी दिए ।
दशरथपुरमा भर्ना छनोटमा सहभागी भएका लडाकूमध्ये २२ जनाले चेक बुझेर गएका छन् । बाँकी ७ जना सम्पर्कमा नआएको संयोजक कार्कीले बताए ।
समायोजन रोजेका मध्ये योग्यता र उमेर हदका कारण छनोटमा नपरेका र आफै स्वैच्छिक अवकाश लिएका मध्ये ३ सय ३ जनाले एकमुष्ट चेक बुझेर शिविरबाट विदा भइसकेका छन् ।
दशरथपुर शिविरमा पछिल्लो पटक ५ सय ७४ जनाले समायोजन रोजेका मध्ये २ सय ४५ जनाले भर्नाका लागि लिखित परीक्षा दिएका छन् । ३ सय ३ जनाले चेक बुझेको र १४ जनाले चेक बुझ्न बाँकी रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया