२३ हिमाल आरोहणका लागि खुला गरिँदै

काठमाडौं, १ असोज । सरकारले थप २३ वटा हिमाल आरोहण अनुमतिका लागि नेपाल पर्वतारोहण संघलाई जिम्मेवारी दिनेभएको छ । संघले थप हिमाल आरोहण अनुमतिका लागि माग गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको प्रक्रिया थालेको हो ।
थप हिमाल आरोहणका लागि खुला गर्ने विषयमा छलफल भइरहेको पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले बताए । ‘नयाँ हिमाल खुला गर्ने विषयमा मन्त्रालय सकारात्मक छ,’ उनले भने । खुला गरिएका हिमालको प्रवद्र्धनमा जोड दिँदै क्रमश: नयाँ पनि खुला गर्दै लैजानुपर्ने पक्षमा आफू रहेको उनले बताए । सरकारले आरोहणका लागि खुला गरेको तर प्रवद्र्धन हुन नसकेका थप २३ वटा हिमाल संघलाई प्रवद्र्धन र व्यवस्थापनको जिम्मेवारी दिन सरकारसमक्ष माग गरेको थियो ।
सरकारले पहिलोपटक पर्यटन ऐनमा व्यवस्था गरि ०३४ सालमा ६ हजार पाँच सय मिटरभन्दा कम उचाइ भएका १८ वटा हिमालको व्यवस्थापन जिम्मेवारी दिएको थियो । पछि ०५९ सालमा १५ वटा हिमाल थपिएको थियो ।
संघले आरोहण अनुमति प्रदान गरिरहेका ३३ वटा हिमालमध्ये १५ वटाको म्याद भने आइतबारदेखि सकिएको छ । सरकारले ०६४ भदौ मसान्तमा पाँच वर्षका लागि म्याद थप गरेकामा यो समयावधि आइतबार सकिएको हो । यसअघि सरकारले ३१ भदौ ०५९ मा संघले व्यवस्थापन गर्नेगरी १५ वटा हिमाल पाँच वर्षका लागि परीक्षणका रूपमा संघलाई उपलब्ध गराएको थियो । संघले ती हिमालको म्याद पुन: नवीकरण गर्नु नपर्ने गरी स्थायी रूपमा थपिदिन पर्यटन मन्त्रालयलाई अनुरोध गरेको छ ।
पर्यटन मन्त्री बोगटीका अनुसार नवीकरणका लागि मन्त्रालयले स्वीकृति दिइसकेको छ । नवीकरणको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बताइएको छ । यससँगै संघले आगामी पाँच वर्षसम्म ३३ वटै हिमालको आरोहण अनुमति जारी गर्न पाउँछ ।
पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाम्बु शेर्पाले संघको कार्यक्षेत्र विस्तार हुँदै गएकाले आम्दानीको स्रोत पनि थपिनुपर्ने भन्दै थप हिमाल माग गरिएको बताए । सरकारले आरोहण अनुमति दिएका ३३ वटा हिमालबाट संघले वार्षिक करिब साढे चार करोड रुपियाँ आम्दानी गर्छ । आव ६९/७० मा संघले आरोहण अनुमति शुल्कबाट चार करोड ४० लाख रुपियाँ संकलन गर्ने लक्ष्य राखेको छ । गत आवमा यो रकम चार करोड ४८ लाख ५० हजार रुपियाँ थियो । संघले विभिन्न स्तरका पर्वतारोहण तालिम, पूर्वाधार विकास, आरोहण मार्गमा पर्ने बाटोघाटो तथा पुल आदिको मर्मत तथा निर्माणका साथै हिमाल सफाइ कार्यक्रम र आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको स्वर्ण वर्ष मनाउने लगायत काम गर्दै आएको छ ।
पर्वतारोहण संघको साधारणसभा
काठमाडौं : नेपाल पर्वतारोहण संघ (एनएमए) को २३ औँ वार्षिक साधारणसभा आइतबार राजधानीमा सकिएको छ ।
साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले पर्वतीय पर्यटन विकासका लागि सरकारले सक्दो प्रयास गर्ने बताए । संसद्को अभावमा कानुनी अड्चन हटाउन समस्या परेको उनको भनाइ थियो ।
कार्यक्रममा संघले पुरस्कार प्रदान गरेको थियो । यस वर्षको कुमार खड्ग विक्रम साहसिक पुरस्कार हिमाली क्षेत्रमा सफलतापूर्वक उद्धार कार्य सम्पन्न गर्ने अमेरिकी नागरिकद्वय ग्युलर्मो बेनेगास तथा डामियन बेनेगासलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ । त्यस्तै डा. हर्क गुरुङ पर्वतीय पुरस्कार पर्वतारोहण प्रशिक्षणमा चार दशक बिताएका प्रेmन्च नागरिक स्वर्गीय जाँ कुद्रेलाई मरणोपरान्त प्रदान गरिएको छ । यो पुरस्कारको राशी पनि ५० हजार रुपियाँ छ ।
संघले प्रदान गर्ने दाबा नर्बु पर्वतीय पत्रकारिता पुरस्कार भने यस वर्ष नेपाल टेलिभिजनका पत्रकार राजु सिलवाललाई प्रदान गरिएको छ । पुरस्कारको राशी २५ हजार रुपियाँ छ ।
साधारणसभामा आव ६८/६९ मा संघअन्तर्गतका चुलीको सर्वाधिक आरोहण अनुमति जारी गर्ने उत्कृष्ट १० सहयोगी सदस्य पनि सम्मानित भएका थिए । सो आवमा धेरै अनुमति जारी गर्ने १० कम्पनीमा थामसेर्कु ट्ेरकिङ
(३६ वटा), समिट नेपाल ट्ेरकिङ
(३४ वटा), हिमालयन गाइड्स नेपाल ट्ेरकिङ एन्ड एक्सपिडिसन (३१ वटा), हिमालयन इकास्टी प्रालि (२३ वटा), एडभेन्चर जियो ट्ेरक प्रालि (२१ वटा), कस्मो ट्ेरक (२१ वटा), हिमालयन ग्लेसियर ट्ेरकिङ प्रालि (२० वटा, मल्टि एडभेन्चर (२० वटा), रोय हाई माउन्टेन ट्ेरक नेपाल प्रालि
(२० वटा) र हिमालय एक्सिपिडिसन (१९ वटा) छन् ।
उद्घाटन सत्रमै मन्त्री बोगटीले एनएमए पिक प्रोफाइल र इन्टरनेसनल माउन्टेन म्युजियमको वेब पेज विमोचन गरे । कार्यक्रमका वक्ताले कीर्तिमानी नेपाली पर्वतारोहीले नेपाल र नेपालीको गौरवलाई जीवित राख्न योगदान दिएको भए पनि सरकारले उनीहरूको योगदानलाई बुझ्न नसक्दा विदेश पलायन हुन बाध्य भएको गुनासो गरेका थिए ।
साधारणसभाको बन्द सत्रमा संघका महासचिव दिवस विक्रम शाहले आव ०६८/६९ को प्रगति प्रतिवेदन तथा आव ०६९/७० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष आशा गुरुङले ६९/७० को बजेट र आव ६८/६९ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारणसभाले महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन र नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रतिक्रिया