साल्ट ट्रेडिङसँग बयान

भैरहवा, १ असोज । नुनमा बालुवा मिसाएर बिक्रीवितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय भैरहवालाई जिल्ला प्रसाशन कार्यालय रूपन्देहीले बयान लिएको छ । नुनमा बालुवा मिसिएको प्रमाणित भएपछि गत १३ भदौमा खाद्य ऐन २०२३ अनुसार कर्पोरेसनविरुद्ध मुद्दा पश्चिमाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयले दर्ता गरेको थियो ।

नुनमा अखाद्य पदार्थ तथा बालुवा मिसिएको तथ्य बाहिर आएपछि पश्चिमाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जाँच गर्दा प्रयोगशालाबाट नुनमा बालुवा मिसिएको प्रमाणित भएको थियो । नुनमा बालुवा मिसिएको प्रमाणित भएपछि कारबाहीका लागि मुद्दा दर्ता गरिएको खाद्य प्रमुख किशोर खत्रीले बताए । प्राविधिकको राय र सरकारी वकिलको तामेली रायले साल्ट ट्ेरडिङलाई कारबाहीको भागिदार बनाउन दरिलो प्रमाण पुगेको उनले बताए ।
यता रूपन्देही प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले एक चरणको बयान लिइसकेको र अर्को बयान ११ असोजमा लिइने बताए । गल्ती गर्नेलाई प्रमाण जुटेमा सजाय दिलाएर छाड्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीको दर्ता नं. ३३१ मा दर्ता गरिएको मुद्दामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय भैरहवाका प्रमुख हरिश्चन्द्र श्रेष्ठलाई प्रतिवादी र नेपाल सरकार, खाद्य तथा गुण नियन्त्रण कार्यालय वादी रहेको छ ।
यसैबीच, नेपाल स्वास्थ्यकर्मी सघं रूपन्देहीले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भएको भनिएको अनियमितता छानबिनको माग गरेको छ । सघंको शनिबार भैरहवामा सम्पन्न भेलाले यस्तो माग गरेको हो ।

प्रतिक्रिया