विभेदविरुद्धको अभियान टोली सिरहामा

सिरहा : जातीय विभेद र छुवाछुत अन्त्यका लागि भन्दै इलामबाट सुरु भएको राष्ट्रव्यापी सामूहिक अभियानको टोली आइतबार चौथो दिन सिरहाको लहान आइपुगेको छ । चर्चित सिनो बहिष्कार आन्दोलनको थालनी भएको लहानमा बहुसंख्यक गैरदलितको सहभागिता रहेको अभियान टोलीलाई लहानका दलित समुदाय र सामाजिक कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
स्वागतपछि प्रदर्शनसहित बजार परिक्रमा गरी स्थानीय दुलिचन्द सदनमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकार, राजनीतिक दलका प्रतिनिधि, सामाजिक कार्यकर्ता, अधिकारकर्मीले जातीय छुवाछुतविरुद्ध बहुसंख्यक गैरदलितको सहभागितामा सुरु गरिएको अभियानको प्रशंसा गरेका थिए । १३ असोजमा नुवाकोट पुगेर राजधानी काठमाडौंमा बृहत् सम्मेलन गरी समापन गरिने टोली संयोजक रमेश अधिकारीले जानकारी दिए । संयोजक अधिकारीका अनुसार ३६ जिल्ला पुग्ने अभियानका क्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रशासन प्रमुखहरूसँग अन्तरक्रिया छलफल गरी जातीय विभेदविरुद्ध कानुन कार्यान्वयनका लागि प्रतिबद्धतासमेत लिइरहेको छ । (सौस)

प्रतिक्रिया