संघीयतामा जनमत संग्रह गरौः नेता केसी

विराटनगर, ३१ भदौ । कांग्रेस नेता अर्जुन नरसिंह केसीले संघीयतामा धेरै विवाद हुने गरेको भन्दै त्यसलाई जनमत संग्रहबाट टुङगो लगाउन प्रस्ताव गरेका छन् ।
विराटनगरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘संघीयताको विवाद जनमतसंग्रहबाटै टुङगो लगाउनु पर्छ ।’ उनले एकल वा बहुप्रदेश जे बनाए पनि जनताको मतबाट गर्नु पर्ने बताए ।
नेता केसीले संविधानसभा पुनःस्थापनाको चर्को विरोध गरेका छन् । ‘सत्ता पाउने लोभमा कांग्रेसका केही नेताले पुनःस्थापनाको कुरा गरेका हुन्,’ उनले भने, ‘संविधानसभा पुनःस्थापना दलहरुका लागि आत्मघाति सावित हुन्छ ।’
उनले एमाओवादीको लोभमा नफस्न कांग्रेस नेतृत्वलाई सुझाव समेत दिए । संविधानसभा पुनःस्थापना भए त्यो जनताका लागि ठूलो धोखा हुने नेता केसीको भनाई छ । ‘नयाँ निर्वाचनमा जानु पर्ने धारणा कांग्रेसमा बलियो छ,’ नेता केसीले भने ।

प्रतिक्रिया