एलए कप पौडीमा एलए नै अगाडि

काठमाडौं : आयोजक लिटिल एन्जल्स स्कुल (एलए) ६९ अंकसाथ १३औँ एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लिङ्कनले ५७ तथा २४ अंकसाथ द ब्रिटिस स्कुल तेस्रो स्थानमा छन् ।
हात्तीवनस्थित एलएकै पौडी पोखरीमा भएको गल्र्सका विभिन्न स्पर्धामा लिङ्कनकी श्रेया धितालले ३ स्वर्ण तथा १ कांस्य जितिन् । १५ वर्षमाथि श्रेयाले १०० मिटर व्यक्तिगत मेड्ले (१ मिनेट २२.३७ सेकेन्ड) तथा ५० मिटर बटरफ्लाई (३५.४१ सेकेन्ड) मा स्वर्ण जितिन् । गल्र्सको खुला ४ गुणा ५० मिटर मेड्ले रिलेमा श्रेया सम्मिलित टोलीले स्वर्ण जित्यो । १५ वर्षमाथि ५० मिटर ब्रेस्टस्ट्रोकमा श्रेया ४४.०४ सेकेन्ड समयसाथ तेस्रो भइन् । ब्रिटिस स्कुलकी लिली कोल्सटनले निर्धारित दूरी ४३.८८ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् ।
१५ वर्षमाथि ब्वायजको १०० मिटर व्यक्तिगत मेड्लेमा गोल्डेनगेटका मिराज प्रजापति पहिलो भए । १० वर्षमुनि गल्र्सको २५ मिटर ब्रेस्टस्ट्रोकमा एलएकी मनिला पुन र ब्वायजमा दीक्षान्त एकेडेमीका रोजन राई, ११–१२ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा सेन्ट मेरिजकी ओसिना भारती र ब्वायजमा एलएका सन्दीप प्रधान तथा १३–१४ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा ब्रिटिसकी अञ्जली स्याङ्बो र ब्वायजमा एलएका संरक्षण थापा पहिलो भए ।
१५ वर्षमाथि ब्वायजको ५० मिटर ब्रेस्टस्ट्रोकमा पनि गोल्डेनगेटका मिराजले स्वर्ण चुमे । १० वर्षमुनि २५ मिटर बटरफ्लाईको गल्र्समा हिम्सकी नवाङ डोल्मा र ब्वायजमा गोल्डेनपिकका आनन लामा, ११–१२ वर्षको ५० मिटर बटरफ्लाईको गल्र्समा सेन्ट मेरिजकी ओसिना भारती र ब्वायजमा एलएका पासाङ शेर्पा तथा १३–१४ वर्षको ५० मिटर बटरफ्लाईको गल्र्समा ब्रिटिसकी अञ्जली स्याङ्बो र ब्वायजमा एलएका शिशिर थापा शीर्षस्थानमा रहे । १५ वर्षमाथि ब्वायजको ५० मिटर बटरफ्लाईमा हिम्सका मनीष चित्रकार पहिलो भए । ४ गुणा ५० मिटर ब्वायज खुला मेड्ले रिलेमा एलए पहिलो, हिम्स दोस्रो तथा लिङ्कन तेस्रो भए । (सौस)

प्रतिक्रिया