१३ नेपालीको बिचल्ली

धरान, ३१ भदौ । कतारमा कम्पनीले एक वर्षसम्म पनि तलब नदिएपछि १३ नेपाली बिचल्लीमा परेका छन् । कतारको फिचर क्याटरिङ सर्भिसको डब्लुएलएल कम्पनीमा काम गर्दै आएका उनीहरूलाई मालिकले खानासमेत दिन छाडेको छ । कम्पनीले दिनमा एकपटक दिने रोटीको भरमा बस्नुपरेको पीडितहरूले जनाएका छन् ।
‘उनीहरूले तीनदेखि १४ महिनासम्म तलब पाएका छैनन्, तलब दिलाउन माग गर्दै नेपाली दूतावास पुगेको थाहा पाएपछि कम्पनीले खाना पनि दिन छाडेको छ,’ तेह्रथुमका मरिचमान लिम्बूले सौर्यसँग भने । एक वर्षदेखि कतार बस्दै आएका लिम्बूले ५ महिनादेखि तलब नपाएका रहेछन् । लिम्बू इटहरीस्थित भाइबा म्यानपावरका संग्रामसिंह लिम्बू हुँदै काठमाडौंको मुन म्यानपावरका पवन प्रसार्इंमार्फत कतार पुगेका उनलाई त्यहाँका एजेन्ट निर्मल शर्माले उक्त कम्पनीमा काममा लगाएका थिए । ‘मालिकले पाँच महिनादेखि तलब दिएको छैन, तलब माग्दा विभिन्न आरोप लगाउँछ, गाली मात्र गर्छ,’ उनले भने ।
उनका अनुसार बाग्लुङका पुरणबहादुर खत्री र रुपन्देहीका गोविन्द कामीले १४ महिनादेखि तलब पाएका छैनन् । लमजुङको रामबहादुर गुरुङले ९ महिना, स्याङ्जाको तिलबहादुर गुरुङले १० महिना, तनहँुको रोशन गुरुङले ७ महिना, तनहँुकै अखिलकुमार श्रेष्ठले ४ महिनादेखि तलब पाएका छैनन् । श्रेष्ठलाई मालिकले ‘फर्काउँछु’ भन्दै कोठामै बसाएको ३ महिना भएको लिम्बूको भनाइ छ ।
प्युठानको सेते सार्कीले ५ महिना, धनकुटाको किरण बुढाथोकीले ४ महिना, इलामका किशोर विश्वकर्माले ४ महिना, महोत्तरीका सन्तोष यादवलगायतले ३ महिनादेखि तलब पाएका छैनन् । यादवलाई चाहिँ मालिकले भिसा भएको भन्दै नेपाल फर्काउने आश्वासन दिएका रहेछन् । अरू १२ जनालाई चाहिँ भिसा नभएको भन्दै तलब र खाना नदिई राखेको लिम्बूले बताए ।
उनका अनुसार दूतावासको चिठी लिएर कम्पनीलाई बुझाएपछि मालिकले खानासमेत दिन छाडेको हो । सहयोग माग्दा एजेन्टले टार्ने गरेको उनले बताए ।

प्रतिक्रिया