गाउँमा खाद्यान्न संकट

जाजरकोट, ३१ भदौ । जाजरकोटका डेढ दर्जन बढी गाउँ विकास समितिमा चरम खाद्यान्न संकट देखिएको छ । प्राय: खाद्यान्न अपुग भइरहने भगवती, रग्दा, खगेनकोट, लहा, नायकवाडा, रोकायगाउँ, लिम्सा, सक्ला, ढिमे, पजारु, दशेरा, सीमा, जुंगा थापाचौर, अर्छानी, टालेगाउँ, थालारैकर, पौक, झाप्रालगायतका गाविसमा खाद्यसंकट देखिएको हो । खाद्यसंकट देखिए पनि नेपाल खाद्य संस्थानको शाखामा भने चामल बिक्री नभएर थन्किएको छ ।

१६ हजार ६ सय ९८ हेक्टर खेतियोग्य जमिन रहेको जाजरकोटमा यस वर्ष समयमा पानी नपर्दा मकै उत्पादन घटेकोले खाद्यसंकट चरम भएको हो । जिल्लाको पूर्वी क्षेत्रमा खाद्यान्न पूर्ति गर्ने उद्देश्यले रग्दा गाविसको चौखा, उत्तरी क्षेत्रको लागि नायकवाडा गाविसको घाट, उत्तरपश्चिमी क्षेत्रका लागि पजारु गाविसको घोगी र पश्चिम क्षेत्रको लागि दशेरा गाविसको दशेरामा संस्थानका चार डिपो स्थापना गरिएको छ । तर ती डिपोमा चामल सकिएको दुई महिना भएको छ । अघिल्लो आर्थिक वर्षका लागि ल्याइएको चामल सकिएको र यस वर्षका लागि चामल पुर्‍याउन ढिलाइ भएपछि डिपोहरू ‘निल’ भएको संस्थान शाखा प्रमुख रामबहादुर बमले बताए ।
जिल्लामा रहेका खाद्य संस्थानका चार डिपो ‘निल’ छन् तर सदरमुकाममा रहेको शाखा कार्यालयमा भने आवश्यक मात्रामा चामल बिक्री नहुँदा राख्ने ठाउँको अभाव भएको छ । हाल कार्यालयमा करिब एक हजार क्विन्टल बढी चामल मौज्दात रहेको कार्यालय प्रमुख बमले जानकारी दिए । उनले भने, ‘गाउँमा खाद्यसंकट परेको खबर आउँछ तर यहाँ हामीसँग चामल मौज्दात छ ।’
टेन्डर प्रक्रियामा ढिलाइ भइरहेकाले सम्बधित डिपोमा चामल पुर्‍याउन नसकिएको कार्यालयले जानकारी दिएको छ । यस वर्ष सरकारले जाजरकोटका चारवटा डिपोमा आठ सय क्विन्टलका दरले तीन हजार दुई सय र शाखा कार्यालयमा चार हजार दुई सय गरी जम्मा सात हजार चार सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ ।
यसभन्दा अगाडि खोलिएको टेन्डरमध्ये दशेरा र घोगी डिपोको टेन्डर सदर भइसकेको छ भने चौखा र घाट डिपोका लागि सदर नभएपछि पुन: टेन्डर आह्वान गरिएको छ । दशेरा र घोगी डिपोमा तत्काल दुई सय क्विन्टलका दरले चामल पुर्‍याउने तयारी भइरहेको कार्यालयले बताएको छ । बाँकी दुई डिपोमा दशैँसम्म पुर्‍याउने लक्ष्य रहेको छ । अघिल्लो आवमा केही ठेकेदारले राजनीतिक आडमा सम्बन्धित डिपोमा आवश्यक खाद्यान्न नपुर्‍याएपछि स्थानीयले खाद्यसंकट व्यहोर्नुपरेको थियो । यस वर्ष त्यस्तो हुन नदिने कार्यालय प्रमुख बमले प्रतिबद्धता जनाए ।
गाउँमा खाद्यान्न सकिएपछि केही स्थानीयले खच्चडमा महंगो ढुवानी भाडा तिर्दै चामल लिने गरेका छन्  । खच्चड लिएर चामल लिन आएका ढिमे–७, का वीरबहादुर सिंहले समयमा पानी नपर्दा मकै उत्पादन राम्रो नभएपछि खाद्यान्न अभाव भएको बताए । सिंहले थपे, ‘गाउँमा खाने केही छैन । ढुवानीमा धेरै लागे पनि चामल लिन खच्चड लिएर यहाँ पुगेको हुँ ।’
संस्थान प्रमुख बमले स्थानीयले सोचेको मात्रामा कार्यालयमा सेवा लिन नआएको बताए । ‘बिदाको दिनबाहेक सातामा पूूूरै दिन चामल वितरण गर्ने गरेका छौँ,’ कार्यालय प्रमुख बमले भने, ‘तर सेवाग्राहीहरू औँलामा गन्न सकिने मात्रामा आउँछन् ।’ कार्यालयमा चामल लिन आउनेमध्येमा रुकुमको पूर्तिमकाँडाका स्थानीय पनि रहेको बमको भनाइ छ । गाउँलेहरू स्थानीय व्यापारीसित चर्काे मूल्यमा चामल किन्ने तर कार्यालयमा आउन अल्छी गर्ने गरेको प्रमुख बमले बताए । व्यापारीले मौकाको फाइदा उठाएर चर्काे मूल्य असुली रहेको बमको दाबी छ । हाल जापानी चामल मात्र वितरण गरिरहेको कार्यालयले प्रतिकिलो ३१ रुपियाँमा उपलब्ध गराउँदै आएको छ ।
संस्थानको अञ्चल कार्यालय नेपालगन्जले पठाएको दुई सय तीस क्विन्टल चामल केही गुणस्तरहीन भएको र चामल फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा जिल्ला खाद्य अधिकार सञ्जालको बैठक बसेर निर्णय गरिने कार्यालय प्रमुख बमले बताए । त्यसलाई पुन: प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । प्रमुख बमले थपे, ‘त्यो चामल केही गुणस्तरहीन मात्र हो तर प्रयोग नै गर्न नमिल्ने होइन ।’
आर्थिक वर्ष ०६७/६८ मा जाजरकोटमा ११ हजार आठ सय ३५ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो भने आर्थिक वर्ष ०६८/६९ मा ११ हजार चार सय ६३ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो । अघिल्लो अर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०६८/६९ मा केही मात्रामा खाद्यान्न पूर्ति भए पनि यो आर्थिक वर्ष ०६९/७० मा भने वर्षात्का कारण खाद्यान्न उत्पादन स्वत: कम हुने र चरम खाद्यसंकट व्यहोर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा २५ प्रतिशत खाद्य उत्पादन घट्ने कार्यालयको अनुमान छ ।

प्रतिक्रिया