कैलालीका दर्जनौ गाविस डुबानमा

कैलाली, ३० भदौ । शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले कैलाली जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले दर्जनौं घर डुबानमा परे पछि स्थानीय विस्थापित भएका छन् ।
वर्षाले धनगढी नगरपालिकाको शिवनगर, विशालनगर, हसनपुर, धनगढीगाउँ, तारानगर र बुद्धनगर जलमग्न भएका छन् । धनगढीकै विशालनगरमा पानी घरभित्र पसेपछि २० घरपरिवार अन्यन्त्र आफ्न्तकोमा वस्न वाध्य भएका छन् ।
धनगढी–फूलवारी हुलाकी सडकखण्डमा पानी बढेपछि सो क्षेत्रमा चल्ने यातायात सेवा अवरुद्ध भएको छ । फूलबारी गाविसका ४० घर डुबानमा परेका छन् । हसुलीया मोहनपुरमा पनि ८० घर डुबानमा परेका छन्
चौमाला गाविसको राजिपुरमा ३५, रतनपुर गाविसमा ३० घरपरिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।
धनगढी नगरपालिका वडा नम्बर ७ बेली र उर्मा गाविसको कनरी गाउँ पनि डुबानमा परेका छन् । गाउँका एकसय बढी घरपरिवारको डुबानमा परेर बिचल्ली भएको छ ।
लालबोझी–४, चर्राका ४० घर डुवानमा परेका छन् । फूलवारी गाविसका विभिन्न बस्तीमा कनरी नदी गाउँ पसेको स्थानीयले जानकारी दिए । सो क्षेत्रमा उद्दारका लागि, सीमा सुरक्षा प्रहरी चौकी लालबाझी र सशस्त्र प्रहरी बल भजनीको टोली खटिएको छ ।
कान्द्रा नदीमा पानीको सतह बढ्दै गएकाले त्यस क्षेत्र जोखिममा रहेको ईलाका पहरी भजनीका प्रहरी निरीक्षक पदम विष्टले बताए । रतनपुर गाविसमा बाढीले केही चौपाया बगाएको स्थानीय पिरु चौधरीले बताए । कान्द्रा नदी खैलाडको कुँडीमा पस्न थाले पछि स्थानीय त्रसित भएका छन् ।
भजनीको बर्दुवाफाँटा, जवलपुर कसुमघाट बाढीको उच्च जोखीममा रहेका छन् । कँन्द्रा, काढा पथरैया र मोहना नदीको जल सतह पनि बढ्न थालेको छ । बाढी ग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलगायतका विभिन्न क्लवका पदाधिकारी खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले बताए ।
अविरल वर्षा जारी रहेका कारण नदीनालामा पानीको सतह बढ्ने क्रम जारी छ । केही जोखिमपूर्ण स्थानका बासिन्दा सुरक्षित स्थानतर्फ लाग्न थालेको स्थानीय प्रशासनले जनाएको छ ।
बाटोघाटो तथा घर जलमग्न भएपछि सर्वसाधरणहरु एक ठाउँबाट अर्को ठाउँसम्म जान नपाएर घरभित्रै थुनिएका छन् ।
जलमान केन्द्र अत्तरियाले शुक्रबार साझ देखि शनिबार बेलुका सम्म एक सय दशमलव सात मिलिमिटर वर्षा भएको जनाएको छ ।

यसैवीच, शुक्रबार रातिको अविरल वर्षाका कारण बाजुरामा लाखौको अन्न बालीमा क्षति पुगेको छ । दर्जनौं परिवार पहिरोको जोखिममा परेका छन् ।
जिल्लामा सञ्चालित अधिकांस लघुजल विद्युत् हाउसको विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सयौं घरपरिवार अध्यारोमा बस्न बाध्य भएका छन् ।
पहिरोले डोगडी गाविसको भुजनगाड रहेको १४ किलोवाट क्षमताको लघुजल विद्युत आयोजनाको नहर र विद्युत् घर बगाउँदा लाखौको क्षति भएको छ ।
वडा नम्बर ६ का ३६ र ९ का ३८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको स्थानीय लालबहादुर सेजुवालले बताए । माथिबाट पानी आउने र पहिरो बग्ने क्रम नरोकिएकाले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मानकोट गाविसमा रहेको थारखोला दोस्रो लघु जलविद्युत आयोजना र काडा–७ मा रहेको कचालीगाड लघु जलविद्युत आयोजनाको पनि नहर बगाउँदा त्यहाको विद्युत सेवा अबरुद्ध भएको छ ।
पहिरोले काडाका सौैरे रोकाया, रामगिरी रोकाया, विर्ख रोकाया र तेज रोकायाको घर भत्किएको छ । उनीहरु बिस्थापित भएका छन् । मानाकोट–९ कोटमा २० घरपरिवारको कोदो, मकै बाली तथा तरकारी र फलफूल पहिरोले बगाएको छ ।
उता, बाबजुरामै खोलामा बगेर शुक्रबार साझ ब्रह्मतोला गाविसमा एक बालकको ज्यान गएको छ । राष्ट्रिय बाल दिवसमा भाग लिएर घर फर्किने क्रममा ब्रह्मतोला–४, नडाङका पदम नेपालीका १० वर्षका छोरा सुनिलको ज्यान गएको हो ।

प्रतिक्रिया