भारतीय प्रहरीले कन्चटमा बन्दुक राखे

मध्य पहाडको बसाइ । सानो छँदा मैले निकै हिँड्नुपथ्र्येा । हिँड्नु के भन्नु दौडनुपथ्र्येा । खेत पुग्न आधा घन्टा । हाइस्कुल जान पौने घन्टा । नजिकको बजार पुग्न डेढ घन्टा । जिल्लाको सदरमुकाम पुग्न डेढ दिन । सबैभन्दा नजिकको मोटर गुड्ने बाटो देख्न दुई दिन । नजिकको अस्पताल पुग्न चार दिन । एउटा शाश्वत नियम थियो, जो मान्छे दौडेन ऊ बाँचेन ।
पहिलो नोकरी ताप्लेजुङमा खाएँ । राष्ट्रिय जनगणनाको सहायक सुपरीवेक्षक । नांखोल्याङ र थेचम्बु पञ्चायतका घरघर डुलेर मान्छेसम्बन्धी जानकारी बटुल्ने । बेँसीको एक्ले घर पुग्न तल काबेली नदीको खोँचमा झरेँ । लेकको घर पुग्न चाहिँ चैतमा पनि जाडोले कठिङ्ग्रयाउने डाँडा चढेँ ।
परिस्थितिले जता मुन्ट्यायो त्यतै जाँदा पत्रकार भएँ । नहिँड्ने मानिस पनि पत्रकार भएका छन् । तर, मैले त्यो दुर्भाग्य बेहोर्नु परेन । नेपाल वातावरण पत्रकार समूहले तयार गर्ने भिडियो म्यागजिन आँखिझ्यालमा रिपोर्टिङ गर्न थालेपछि गोरखा जानुपर्‍यो । बूढीगण्डकी नदी त्रिशूलीमा मिसिएको ठाउँ बेनीघाटदेखि बूढीगण्डकीको पूर्वीशाखा सुकेर एक अँगालो भएको छेकम्पारसम्म । आजको होइन ०५१ सालको मंसिरको कुरा । बूढीगण्डकीको शिरदेखि पुच्छारसम्म जम्मै पैदल हिँड्नुपर्ने । ‘कस्ता–कस्ता सुख त खप्न सकिन्छ भने दु:ख नाथे भोग्न के को चिन्ता †’ भन्ने सम्झेर हिँडेँ । दु:ख खप्दा आनन्द आउने कुनै काम संसारमा छ भने त्यो यात्रा रहेछ । त्यस यात्रामा मलाई यही तत्त्वज्ञान भयो ।
दस महिनापछि बूढीगण्डकीको पश्चिमीशाखा कुताङ खोला नसुकुञ्जेल हिँड्नुपर्ने भयो । हामीले ५,१०० मिटर अग्लो लार्के भञ्ज्याङको पूर्वीढलो नाँघेर पश्चिमीढलो लाग्नुपथ्र्याे जहाँ परेको हिउँ र पानी दूधखोला हुँदै मस्र्याङ्दीमा झर्छ ।
पहाड र मधेसलाई विल्कुलै फरक शक्ति, प्रक्रिया र उद्देश्यले बनाएको हुनुपर्छ । दोस्रोपटक हिँडाइले मलाई यही कुरा भन्यो । देख्नेबित्तिकै सबै कुरा खुल्ने मधेस जस्तो छैन पहाड । राम्रोसाग बुनिएको कथाले पाठकलाई जसरी अब के हुन्छ भन्ने कुतुहलले तानेर अन्त्यमा पुर्‍याउँछ पहाडले पनि त्यसरी नै यो मोडभन्दा उता के होला, त्यो डाँडामाथि के होलाजस्ता उत्सुकता जगाउँदै बटुवालाई शिखरमा पुर्‍याउँछ । अप्ठ्यारा मोड आएनन् भने कथा अघि बढ्दैन । पार गर्न नसकिने अप्ठ्यारा आए भने कथा थालनीमै टुंगिन्छ । पहाडको हिँडाइको स्वभाव पनि त्यस्तै छ ।
कहीँ खोँच, कहीँ अलि खुला फाँट । हिँड्ने दिशा धेरै छन्– पूर्व, पश्चिम, उत्तर, दक्षिण, पाताल र आकाश । भिन्न–भिन्न स्वभाव भएका ठाउँमा बस्ने भिन्न–भिन्न स्वभाव, पेसा, भाषा, धर्म र जीवनशैली भएका मानिस । ती सबैमा एउटा तत्त्व भने समान भेटिन्छ– सोझोपन । मधेसका खोलाझैँ पूर्व हिँडेको केहीबेरमै पश्चिम घुम्दैन आधुनिकतादेखि टाढा रहेका मानिसको मन ।
यस्ता ठाउँ, यस्ता मान्छे र यी दुवैसँग लुकामारी गर्ने मौसमसँग घुलमिल हुँदा रमाइला र नरमाइला दुवै खालका क्षण भोग्यौँ । सबैभन्दा घनघोर क्षण चाहिँ लार्के भञ्ज्याङको थियो जहाँ हामी बाँच्ने सबै उपाय गुमाएर मर्न बसेका थियौँ । कालभन्दा एकदुई घन्टा मात्र टाढा । एउटा अप्रत्यासित घटनाले हाम्रो जीवनकै यात्रा टुंगिनबाट बचायो । अरू क्षण भोग्ने, देख्ने र सुन्ने मौका दियो ।
‘उमेर नढल्दै पुग्नु पर्ने’ तीर्थ मानसरोवरसम्म पनि जान पाइयो । महाकाली नदीको वारिपारि हुँदै मानसरोवरसम्मको हाम्रो हिँडाइ धर्मका लागि थिएन कर्मका लागि थियो । हाम्रो काम थियो– यो बाटो हुँदै भारतबाट उकालो लागेर तिब्बतसम्म पुग्ने बाघका हड्डी र छाला अनि तिब्बती मरुभूमिबाट ओरालो झरेर भारतका विभिन्न भागसम्म झर्ने संसारको सबैभन्दा नरम ऊन शाहतुसको अवैध व्यापारको मात्रा र प्रकृतिबारेमा थाहा पाउनु । यस अवैध व्यापारले भारतीय उपमहाद्वीपको ठाँटिलो जनावर पाटे बाघ र तिब्बतको बाख्राजस्तो हेर्दै माया लाग्ने जनावर चिरूको अस्तित्वमा खतरा पुर्‍याएको थियो । हामीले खोजेका जानकारीले यी दुई प्राणी बचाउने संसारको प्रयास थोरै भए पनि मद्दत गर्ने थियो । यस अर्थमा चाहिँ हाम्रो यो यात्रा धर्म कमाउनका लागि थियो ।
यस्तो धर्म गर्न हिँडेका मान्छे लफडामा परियो । धार्चुलामा राति सुतेका बेला एक हुल भारतीय प्रहरी आएर हामी दुईजनाका दुवै कञ्चटमा बन्दुकका मोहरी राखे । फलामको मोहरी र कञ्चटमा ती मोहरी टाँसिने काम दुवै अति चिसा हुँदारहेछन् । यसरी यो यात्रामा पनि कथामा हुनेजस्ता घटना बेहोर्नु पर्‍यो ।
तेस्रोपल्ट पनि बूढीगण्डकीको किनार हिँड्ने मौका मिल्यो ०५९ सालको झरीमा । यसपटक कथाकारले लेखेको भए पत्यार नलाग्ने क्षण भोग्नुपर्‍यो । सात वर्ष पहिले जो मानिस संसारका सबैभन्दा आत्मीय मानिस थिए ती अहिले हामीसँग छेउ नपर्ने भएछन् । हामीसँग डराउने भएछन् । एउटा ठाउँका मात्र हो र सबै ठाउँका । पछि उनीहरूले हामीलाई देशको यथार्थ बताए– हामी त्यसपटक त्यहाँ जाँदा जुग अर्कै थियो । मान्छेसँग मान्छे डराउनु पर्ने जुग । माओवादीले के–केन नाप्छु भनेर मान्छे मार्ने कामलाई ‘घनीभूत’ बनाएको थियो । नौला मान्छे देख्यो मान्छे भाग्नु पर्ने । पुरानो भेटघाटको प्रसंग सम्झाएपछि भने उनीहरूको मौलिक स्वभाव फर्कियो ।
यसपटक पृथ्वीको स्वर्ग अर्थात् बेयुल घुम्यौँ । मनासलु हिमालको आँगन, मनासलु देवतालाई साक्षी राखेर दूधे बालक र कुप्री परेका वृद्धले मित लगाएको हेर्‍यौँ । लेकका फूलको लीला हेर्‍यौँ ।
आफूले देखेजानेका, सुनिजानेका र भोगिजानेका कुरा अरूलाई बताउनु पत्रकारको धर्म र कर्तव्य हो भन्छन् । त्यसैले ती कुरा अरूलाई बताउँm भनेर अक्षर जोड्न थालेँ । साँवा अक्षरलाई ताछेर आधा पार्ने, खुट्टा काट्ने, दाया–बायाँ, मुनिमात्रा जोड्ने, कतै अक्षरका कानमा फुर्का जोड्ने, कतै घटाउने कतै जोड्दा ७५ हजार शब्द जम्मा भएछन् ।
पहिलो मस्यौदा तयार गरिसक्दा पोहर सालको कात्तिक सकिएको थियो । एकजना इमान्दार पाठकमा परीक्षण नगरीकन धेरै पाठककहाँ पठाउन मन लागेन । पत्रकार हस्त गुरुङले सूक्ष्म किसिमले हेरेर गहन सुझाव दिनुभयो । मेरो क्षमताले भ्याएसम्म तिनलाई ग्रहण गरो ।
विषयवस्तु मात्र राम्रो भएर हुँदैन भाषा र प्रस्तुति पनि राम्रो हुनुपर्छ भनिन्छ । शरच्चन्द्र वस्तीसँग संगत गर्दा मैले मनमनै भनेको थिएँ– कुनैबेलामा किताब लेखेँ भनेँ त्यसको सम्पादनका लागि वस्ती सरलाई गुहार्छु । अलि नजिकका मानिसले शोषण गर्नलाग्दा नाइँ भन्ने नसक्ने उहाँको स्वभावबाट हदैसम्मको फाइदा लिएँ । दोस्रो खण्डमा घटनालाई अघिपछि पारेर राखेको थिएँ । केही साथीलाई देखाउँदा यसले पाठकलाई अल्मल्याउँछ भने । यही कुरा वस्ती सरलाई भनेँ । यो चुनौतीलाई स्वीकार गरेर उहाँले आफ्नो सिर्जनशील ऊर्जा यसरी लगाउनुभयो कि त्यस खण्डका विभिन्न टुक्रा एकदमै दह्रो गरी जोडिए ।
यति बलले मात्र पुस्तक निस्कँदो रहेनछ । यसरी खारिएका शब्द र वाक्यलाई पेजमा सजाएर राख्नुपर्‍यो । हिज्जे आदि हेर्नुपर्‍यो । गाता डिजाइन गर्नुपर्‍यो । यी सबै कामका बीचमा संयोजन गर्नुपर्‍यो । यस काममा जगदम्बा प्रकाशनका सम्पादक दीपक अर्यालको धेरै ऊर्जा र धैर्य खर्च भएको छ ।
‘उपल्लो थलो’ किताबको नाम गज्जबको छ,’ नाम मात्रै सुन्नेले भन्ने गरेका छन् । धेरैवटा नाम चित्त नबुझेपछि एक दिन पाण्डुलिपि पल्टाउँदै कनक दीक्षितसँग चिया खाँदा उहाँले नाम जुराइदिनुभयो । अनि सकियो ‘उपल्लो थलो’का लागि हामीले गर्नुपर्ने काम । किताब निस्किइसकेपछिको काम त पाठक/समीक्षकको हो ।

प्रतिक्रिया