आधादिने बन्दले पनि सास्ती

काठमाडौं, ३० भदौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा–माओवादीले आह्वान गरेको आधादिने नेपाल बन्दले शुक्रबार जनजीवन प्रभावित बनेको छ ।
सरकारले जनताको ढाड सेक्ने गरी पटक–पटक पेट्रोलियमको मूल्य बढाउँदा उपभोग्यवस्तुको बजारभाउ अकासिएकाले निर्णय फिर्ताका लागि दबाब दिन भन्दै माओवादीले शुक्रबार बन्द आह्वान गरेको थियो । उनीहरूले मूल्यवृद्धिको निर्णय फिर्ताको मागसँगै राष्ट्रियता, जनजीविकाका अन्य विषयलाई पनि बन्दको नारा बनाएका थिए ।
आधा दिनका लागि मात्र बन्द गरे पनि मुलुकभरका शैक्षिक संस्था, उद्योगधन्दा ठप्प बनेका थिए । मध्याह्नसम्म मुलुकभरका सडकमा सार्वजनिक तथा निजी सवारीसाधन गुडेका थिएनन् । बन्दकर्ताको आँखा छल्दै फाट्फुट्ट केही सवारीसाधन नम्बर प्लेट छोपेर चलेका थिए ।
गाडी नचल्दा सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई समस्या परेको देखिन्थ्यो । कर्मचारी पैदल हिँडेर कार्यालय पुगेका थिए । शान्ति मन्त्रालयका कर्मचारी उमेश तण्डुकारले भने, ‘यसअघि म ९ बजे मात्र घरबाट निस्कथँे तर आज (शुक्रबार) सवारीसाधन नचलेकाले ७:३० बजे नै कार्यालयतर्फ हिँडेँ ।’ सुन्दरीजलबाट कार्यालय धाउने गरेको उनले बताए ।
यसअघि पूरै दिनका लागि बन्द घोषणा गरेको माओवादीले बाल दिवस र तिज कार्यक्रम परेको भन्दै मध्याह्नसम्म मात्र बन्द गर्ने निर्णय बिहीबार गरेको थियो । जनताको समस्यका समाधानका लागि बन्द आयोजना गरिए पनि बन्दका कारण बाल दिवस र महिलाका कार्यक्रमलाई असर पर्ने देखेर आधा दिन मात्र बन्द गरिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।
‘बाल दिवस र तिज कार्यक्रममा सर्वसाधारणलाई असजिलो नहोस् भनेर बन्द छोट्याउने निर्णय गरेका हौँ,’ उनले भनिन्, ‘हामीले राखेका मागमा सरकार गैरजिम्मेवार बने विरोध कार्यक्रम विस्तारै सशक्त हुँदै जानुका साथै आन्दोलनले सरकार नै परिवर्तन गराउनेछ ।’ शुक्रबारको बन्द शान्तिपूर्ण बनेको उनको दाबी थियो ।
पार्टीको कार्यक्रमअनुरूप कार्यकर्ता बिहानै सडकमा जम्मा भएका थिए । रड, लाठीसहित पार्टीको झन्डा बोकेर चोक–चोकमा जम्मा भएका थिए । बन्द मध्याह्नसम्मका लागि भनिए पनि मुलुकभरको जनजीवन दिउँसो मात्र सामान्य बन्दै गएको थियो ।
बन्दलाई लक्ष्य गरी सरकारले उपत्यकालगायत मुख्य सहरहरूमा सुरक्षा व्यवस्था कडा पारेको थियो । उपत्यकाको प्रमुख चोक तथा सिंहदरबार आसपासमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
एमाओवादीबाट असार पहिलो साता अलग भएपछि माओवादी सरकारविरुद्ध आक्रामक बन्दै आएको छ । उनीहरूले केही दिनअघि मात्र सरकारसँग ७० बुँदे माग पेस गरेका थिए । ती माग पूरा नभए सशस्त्र संघर्षसम्म गर्न पछि नपर्ने चेतावनीसमेत दिइसकेका छन् ।

प्रतिक्रिया