हत्यापछि गाउँमा त्रास

सिरहा, ३० भदौ । धनगढी–५ का ४० वर्षीय शिवकुमार साहलाई अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेपछि परिवार शोकमा डुबेको छ । पतिको हत्यापछि ३५ वर्षीया पत्नी जितनी बेहोस भएकी छन् ।
दाजु सञ्जयकुमारका अनुसार दुई छोरी र एक छोराका बाबु शिवकुमारको  कसैसँग दुस्मनी थिएन । उनको बिहीबार राति हत्या भएको हो । तीन महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्केका साह गाउँनजिकै रहेको बजारबाट साँझ साइकल चढेर घर फर्किने क्रममा पछाडिबाट उनीमाथि अज्ञात समूहले शरीरका विभिन्न भागमा गरी पाँच राउन्ड गोली प्रहार गरेको थियो ।
धनगढी इलाका प्रहरी कार्यालयबाट मुस्किलले सात सय मिटरको दूरीमा साहको हत्या भएको हो । प्रहरीले हत्याको खबर शुक्रबार पाएको थियो । हत्याको जिम्मेवारी कसैले नलिए पनि हत्याराको खोजी कार्य तीव्र पारिएको एसपी विक्रम गुरुङले बताए । सिरहामा चार दिनअघि आएर कार्यभार सम्हालेका एसपी गुरुङले पत्रकार सम्मेलन गरेर जिल्ला शान्त बनाउने दाबी गरे पनि प्रहरी चौकीनजिकै सर्वसाधारणको हत्या भएको हो ।
प्रहरीले हत्या भएको ठाउँबाट पाँच थान गोलीको खोका र दुई राउन्ड चाइनिज पेस्तोलका गोली फेला परेको छ । (सौस)

प्रतिक्रिया