‘६ महिनाभित्रै कमोडिटिजको नियमन’

काठमाडौं, २९ भदौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले वस्तुबजारको व्यवस्थित नियमन आगामी ६ महिनाभित्र प्रभावकारी ढंगले सुरु हुने बताएका छन् । निरव पुडासैनीद्वारा लिखित कमोडिटी डेरिभेटिभ नामक पुस्तकको बिहीबार विमोचन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले नियमनको लागि आवश्यक प्रक्रियाका लागि सरकारको निर्देशनमा बोर्डले छानबिन समिति गठन गरेको र त्यसको प्रतिवेदनको आधार दुई साताभित्रमै सरकारलाई प्रतिवेदन बुझाएर नियमनको प्रक्रिया प्रारम्भ गर्ने बताए । उनले धितोपत्र बोर्डभित्रै भिन्नै विभाग गठन गरेर काम गरिने भन्दै दुई साताभित्रै लाइसेन्सको लागि आह्वान गर्नेसमेत जानकारी दिए । उनले अहिलेसम्मको कामकारबाहीको छानबिन गरेर गैरकानुनी पाइए कारबाही गर्नेसमेत स्पष्ट पारे । धितोपत्र बोर्डको एउटा नियमका आधारमा बोर्डले नियमन गर्नसक्ने भन्दै कम्पनीका रूपमा दर्ता भए पनि वस्तु बजारका सम्पूर्ण गतिविधि अहिलेसम्म गैरकानुनी भएको बताए ।
अर्थविद् डा. चिरञ्जीवी नेपालले वस्तु बजार र पुँजी बजारलाई नियमन नगरेसम्म मुलुकमा विदेशी लगानी भित्रिनै नसक्ने बताएका छन् । डा. नेपालले दुई ठूला वस्तु बजारका बीचमा रहेको नेपालले आफ्नो बजारलाई नियमनसमेत गर्न नसक्नु दुखद् भएको भन्दै यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । बजार आपैँmले आफूहरूलाई नियमन गर्नु पर्‍यो भनेर अगाडि आउँदासमेत सरकारले नियमन नगरेर बन्द गर्नेतर्फ उन्मुख हुनु विडम्बनापूर्ण भएको भन्दै धितोपत्र बोर्डबाटै नियमन गराउनुपर्ने बताए । उनले अवैध रूपमा चलेको बजारलाई बन्द गर्नुभन्दा पनि नियमन गर्न आवश्यक रहेको औँल्याए । डा. नेपालले मुलुकको अर्थतन्त्र अहिले सबैभन्दा खराब अवस्थामा रहेको दाबी गर्दै वैदेशिक लगानी सबैभन्दा बढी घटेको निर्यात र आयातको अवस्था सबैभन्दा खराब अवस्थामा रहेको बताए ।
त्यसैगरी, बिहीबार नै फोरम फर कमोडिटिज मार्केटले आयोजना गरेको एक कार्यक्रममा बोल्दै वस्तु बजार ब्रोकर जोसेफ अधिकारीले कमोडिटिज बजारलाई धितोपत्र बोर्डले नै नियमन गर्ने वातावरण तयार गर्नुपर्ने बताउँदै विश्वमै चलिआएको वस्तु बजारलाई नेपालमा पनि व्यवस्थित रूपमा दिगो ढंगले सञ्चालन गर्न पहल गर्नुपर्ने बताए । दुई ठूला अर्थतन्त्रका बीचमा रहेको नेपाललाई वस्तु बजारको मिश्रित बजारका रूपमा विकास गर्नुपर्ने एवं कृषिजन्य वस्तुको विकासका लागि पनि कमोडिटिज बजारको प्रवद्र्धन गर्नुपर्ने बताए । नेपालमा कमोडिटिज एक्सचेन्जको सुरुआत भएको ६ वर्ष पुगे पनि अहिले सरकारसमेत बजारलाई नियमन गरेर अगाडि बढ्नुपर्छ भन्नेमा सहमत भएकामा फोरम फर कमोडिटिजका प्रतिनिधि विजय सत्यालले खुसी व्यक्ति गरे । विश्वमा अनियमनको अवस्थाबाट नियमनतिर गएको कमोडिटिज बजारको धेरै उदाहरण रहेको बताउँदै उनले नेपालमा पनि चाँडै कमोडिटी बजारलाई नियमन गर्न आग्रह गरे ।

प्रतिक्रिया