‘प्रधानन्यायाधीशज्यू सक्रिय हुनुस्’

काठमाडौं, २९ भदौ । कानुन व्यवसायीले देशलाई अहिलेको संकटबाट मुक्त गराउनका लागि न्यायालयको माध्यमबाट सक्रिय भूमिकामा आउन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई उक्साउन थालेका छन् । सत्तारूढ दल एमाओबादी र मधेसी मोर्चाले कामचलाउ प्रधानमन्त्रीको र विपक्षी दल कांग्रेस–एमालेले राष्ट्रपतिको सक्रिय भूमिका चाहिरहेका बेला कानुन व्यवसायी न्यायालयको सक्रियताको पक्षमा लागेका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का, बारकै पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापा, सर्वाेच्च अदालत बार एसोसिएसनका अध्यक्ष रामप्रसाद गौडेललगायतले सार्वजनिक कार्यक्रमबाटै सक्रिय भूमिकामा आउन प्रधानन्यायाधीशलाई आग्रह गरेका छन् । प्रधानन्यायाधीश रेग्मी प्रमुख अतिथि रहेको कार्यक्रममा बिहीबार वरिष्ठ अधिवक्ता थापाले भने, ‘प्रधानन्यायाधीशज्यू देश बचाउन र विधिको शासन स्थापित गर्न तपाईंको सक्रिय भूमिका देशलाई आवश्यक छ ।’
संवैधानिक अंगहरू कमजोर भएका बेला देश नै कमजोर हुने जिकिर गर्दै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोगमा पदाधिकारी र न्यायालयमा न्यायाधीश चाहिँदैन भने प्रधानमन्त्री र राष्ट्रपति किन चाहियो भनी प्रश्न गरे । विधिको शासन नभएका धेरै देशमा लोकतन्त्र खतरामा परेको उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्र बचाउन र जनताको भावना बुझ्न प्रधानन्यायाधीशज्यू तपार्इं केही बोल्नुस्, केही लेख्नुस् त्योभन्दा अझै न्यायालयबाटै कुनै सक्रिय भूमिकामा आउनुस् ।’
राजनीतिलाई फोहोरको डंगुरको संज्ञा दिँदै उनले देश राजनीति र काठमाडौंको ढलले कहिले निकास नपाउने अवस्था आएको बताए ।
सोही कार्यक्रममा बार अध्यक्ष खड्काले देशलाई बचाउन प्रधानन्यायाधीशको भूमिका आवश्यक भएको बताए । उनले भने, ‘प्रधानन्यायाधीशज्यू अब जग्गाको किचलो मुद्दा हेरेर नबस्नुस्, कानुन र लोकतन्त्रको व्याख्या गरी देशलाई निकास दिनुस् ।’
खड्काले न्यायालय सक्रिय भए राजनीतिक अराजकता अन्त्य हुने दाबी गरे । ‘सक्रिय कदम चाल्नुस् हामी तपार्इंको पछि छाँै,’ उनले भने । उनले वर्तमान सरकार कहिलेसम्म सञ्चालन हुन पाउने हो त्यस विषयमा पनि सर्वाेच्चबाट ‘केही’ आदेश गर्नुपर्ने बताए ।
सर्वाेच्च बारका अध्यक्ष गौडेलले पनि राजनीतिक दलहरू असफल भए न्यायालय सक्रिय भएर देश बचाउनुपर्ने बताए । उनले भने, ‘राज्य सञ्चालनका सबै अंग प्यारालाइसिस भएपछि न्यायालय सक्रिय हुनुपर्छ, सक्रिय बनाउन प्रधान्यायाधीशज्यू तपार्इं अगाडि बढ्नुपर्छ ।’
कानुन व्यवसायीको आग्रह सुनेपछि प्रधानन्यायाधीश रेग्मीले न्यायिक सक्रियता परिस्थितिअनुसार आउने बताए । उनले भने, ‘कानुनको परिधिमा रहेर मात्र कानुनी सक्रियता हुन्छ, आवश्यकता र चुनौतीअनुसार अदालत अगाडि बढ्छ, त्यसमा तपाईंहरू विश्वस्त हुनुहोस् ।’ प्रधानन्यायाधीश रेग्मीले वर्तमान अवस्थाबारे भने स्वतन्त्र न्यायपालिकाको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै अदालतका विषयमा केही विवाद आए त्यसै चुप लागेर नबस्ने बताए ।

‘न्यायालय सक्रिय हुन मिल्दैन’

कानुन व्यवसायीले शक्ति सन्तुलन खलबलिएको भन्दै सक्रिय भूमिकामा आउन प्रधानन्यायाधीशलाई उक्साइरहेका बेला उही कार्यक्रममा राष्ट्रपतिका कानुनी सल्लाहकार डा. सूर्य ढुंगेलले भने न्यायालयले आºनो भूमिका बिर्सेर सक्रिय हुन नमिल्ने बताए । ढुंगेलले कानुन व्यवसायीलाई लक्ष्य गर्दै भने, ‘तपाईंहरू प्रधानन्यायाधीशज्यूलाई सक्रिय भूमिकामा आउन आग्रह नगर्नुस् यसले अर्काे चुनौती थप्छ, अदालत परिसरमै नाराबाजी हुन थालेका बेला सक्रिय भूमिका खोज्नु राम्रो हुँदैन ।’
कानुन व्यवसायीले भनेजस्तो सबै कुरा समाप्त भइनसकेको टिप्पणी गर्दै उनले लोकतन्त्रको सिकाइमा दलहरू लागेका बेला न्यायालयले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया