यथास्थितिमा लिखित सहमति हुँदैन

भक्तपुर, २८ भदौ । कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठन भएपछि मात्र एमाओवादीसँग लिखित सहमति हुने बताएका छन् ।
भक्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलहरुबीच पछिल्लो पटक भएका छलफल सकारात्मक रहेको टिप्पणी गरे । ‘छलफलहरु सहमतितर्फ अग्रसर भएका छन्,’ उनले भने, ‘सहमति भए पनि सरकार परिवर्तन नभएसम्म लिखित सहमतिमा हस्ताक्षर गरिँदैन ।’
‘एमाओवादीले पटकपटक सहमति उलंघन गरेर विश्वासको वातावरण भंग गरिसककेको छ,’ कोइरालाले भने, ‘अहिले पनि एमाओवादीसँग शंका गर्ने ठाउँ छन् ।’
उनले आगामी वार्तामा लिखित सहमति गर्नुअघि सरकार परिवर्तन हुनै पर्ने दोहराए ।
उनले एमाओवादीसँग सहमति गर्दा राष्ट्रपतिको भूमिका कस्तो रहने, सर्वोच्च अदालतको फैसलाको विषयलाई कसरी लैजाने, अन्तर्राष्ट्रिय समुदायलाई सहमतिका बारेमा कसरी भन्नेलगायतमा पनि समझदारी आवश्यक रहेको बताए ।
सहमतिको सरकार गठन भएपछि मात्रै केही दिनका लागि संविधानसभा पुनःस्थापना गर्न सकिने सभापति कोइरालाको भनाइ थियो । ‘कांग्रेस नयाँ जनादेशमा जान तयार छ,’ उनले भने, ‘सहमति भए नयाँ संविधान जारी गर्न मात्रै संविधानसभा पुनःस्थापना पनि गर्न सकिन्छ ।’
उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको प्रस्ताव सरकारले बिथोलेको आरोप लगाए । उनले भने, ‘सहमतिको वातावरण भाँड्न काम सरकारबाटै भएको छ ।’

प्रतिक्रिया