नेपाल सेमिफाइनलमा श्रीलंकाविरुद्ध भिड्ने

कोलम्बो, २८ भदौ । अफगानिस्तानविरुद्ध ७–१ ले विजयी हुँदै नेपाल दोस्रो साफ महिला च्याम्पियनसिपको समूह–बी विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालको भिडन्त शुक्रबार समूह–एको उपविजेता तथा आयोजक श्रीलंकाविरुद्ध हुनेछ ।
मिडफिल्ड र फरवार्डबीच समन्वय नभएपछि यसअघिका खेलहरूमा निराश देखिएका प्रशिक्षक किशोर केसी बुधबारको प्रदर्शनमा भने खुसी देखिए । आफ्नो तर्फबाट जारी साफ च्याम्पियनसिपकै उत्कृष्ट खेल पस्कने क्रममा नेपालका लागि मिडफिल्डरद्वय निरु थापा र सजना राणाले २–२ गोल गरे भने अर्को २ गोल स्ट्राइकर अनु लामाले गरेकी थिइन् । यसअघिका दुवै खेलमा हयाट्रिक पूरा गरेकी जमुनाले यस खेलमा भने एक गोल मात्र गरिन् । खेलभरि नेपालको पोस्टमा भएको एक मात्र आक्रमणमा अफगानिस्तान सफल भयो । उसका लागि मर्जानले पहिलो हाफमा गोल गरिन् ।
जारी प्रतियोगितामा नेपालविरुद्ध गोल गर्ने उनी पहिलो खेलाडी बनिन् । यसअघिका खेलमा नेपालले पाकिस्तानलाई ८–० र माल्दिभ्सलाई ५–० ले पराजित गरेको थियो । निरुले नेपाललाई खेलको पाँचौँ मिनेटमै गोल गरेर पहिलो अग्रता दिलाएकी थिइन् । दीपा अधिकारीले कर्नरमा पास दिएपछि केही कदम अगाडि बढ्दै निरुले १५ यार्डबाट सशक्त प्रहार गर्दै गोल गरेकी थिइन् । त्यसपछि जमुनाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । खेलको १९औँ मिनेटमा अफगान गोलकिपर नादियाले अनुलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले प्राप्त गरेको पेनाल्टी अवसरमा जमुना सफल भएकी हुन् ।
त्यसको एक मिनेटपछि जमुनाले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न भने सकिनन् । अफगान डिफेन्डरहरूलाई छक्याउँदै बल डी–एरियाभित्र लग्न सफल भए पनि जमुनाको प्रहारलाई नादियाले छेकेकी थिइन् । २६औँ मिनेटमा अनुले दुई अफगान डिफेन्डर र किपरलाई बिट गरे पनि उनको प्रहारलाई अर्की खेलाडीले गोललाइनबाटै क्लियर गरेकी थिइन् । त्यसपछि नादियाले वान भर्सेज वानमा जमुनाको प्रहारलाई विफल पारिन् । अफगानिस्तानले ४२औँ मिनेटमा गोलअन्तर कम गर्‍यो । नेपाली डिफेन्डरहरूले राम्रो मार्किङ गर्न नसक्दा मर्जानले हाइलाई अरघार्नडिवालले मिलाएको पास सदुपयोग गर्दै सजिलै गोल गरेकी थिइन् । दुई मिनेटपछि नै अनुले गरेको बलियो प्रहारलाई नादियाले डाइभ हान्दै उत्कृष्ट बचाउ गरेकी थिइन् ।
आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै निरुले पहिलो हाफको अतिरिक्त समयमा टिमलाई ३–१ को स्थितिमा पुर्‍याइन् । अनुले प्रहार गरेको बल पहिले साइडबार अनि गोलकिपरलाई लागेर फर्केपछि निरुले रिबाउन्डमा सशक्त प्रहार गर्दै गोल गरेकी थिइन् ।
दोस्रो हाफ सुरु भएको दुई मिनेटपछि नै सजनाले गोलअन्तरलाई फराकिलो पारिन् । उनको प्रहार अफगान रक्षक फ्रोजान ताजालीलाई लाग्दै गोलपोस्टभित्र छिरेको थियो । लगातारको प्रयासका बाबजुद गोल गर्न नसकेकी अनु ६९औँ मिनेटमा भने सफल भइन् । दीपा अधिकारीको कर्नरबल नादियाले फुत्काएपछि अनुले गोललाइन नजिकैबाट सहजै गोल गरेकी थिइन् । त्यसको तीन मिनेटपछि नै सजनाले २० यार्डबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा अनुले सजनाको पासमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
टिमको प्रदर्शनबाट प्रशिक्षक किशोर केसी सन्तुष्ट देखिएका थिए । ‘आज हाम्रो मिडफिल्ड र फरवार्ड लाइनबीच राम्रो समन्वय भयो । तर हाम्रो डिफेन्समा अझै कमजोरी यथावत् छ । यसलाई हामीले श्रीलंकासँग खेल्दा सुधार्नैपर्छ,’ खेलपछि केसीले भने । केसीले निरुको प्रशंसामा कुनै कन्जुस्याइँ गरेनन् । ‘निरु राम्री खेलाडी हुन् । उनले प्रतियोगिताको एकदमै सही समयमा आफ्नो लय समातेकी छन् । उनको प्रदर्शनले टिममा निकै मद्दत पुग्छ,’ केसीले अगाडि थपे । एजेन्सी

प्रतिक्रिया