चिमिरे भिर र कालापहाड छिचोल्दा

विश्वबन्धु पहाडी नेपाली सेनाका मेजर हुन्  । नेपाली सेनाले थुप्रै जिल्ला सदरमुकाममा सडकमार्ग पुर्‍याउने क्रममा यिनी सक्रिय रहे । सेनाको विकास निर्माण महानिर्देशनालयअन्तर्गतको कार्यदल प्रमुख रहेका उनले १२ वर्षयता मध्य पहाडी क्षेत्रका सडक योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सशस्त्र द्वन्द्वका बेला विकट जिल्लाहरूमा सडक खन्दाका डरलाग्दा अनुभूति पनि सागालेका छन् । छेवैको पालमा विद्रोहीको सकेटबम पड्किन्थ्यो । उनीहरू गाउालेको विश्वास जित्दै विकास निर्माणका काममा डटिरहन्थे । हाल जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख रहेका उनी सम्झिादै छन् ती दिन :
समवयी युवाहरू खोला किनारमा पिकनिक जमाएर रमाउँदै गर्दा हामीचाहिँ पाल, पिक, सावेल र तार बोकेर मस्र्याङ्दीको किनारमा पुगेका थियौं । द्वन्द्वकाल व्याप्त थियो । म २४ वर्षे ठिटो । त्यति बेला सुरक्षाका दृष्टिले संवेदनशील मानिने गोरखामा काम गर्नु थियो । मस्र्याङ्दी नदीमा गोरखा र तनहुँ जिल्ला जोड्ने पुल बनाउने जिम्मेवारी नेपाली सेनाको काँधमा थियो । नेपाली सेनाको इन्जिनियर म । ५० सैनिकको टुकडी थियो हाम्रो ।
२०५८ सालमा एकाबिहानै काठमाडौंबाट हिँडेका हामी साँझ ६ बजे मस्र्याङ्दी किनारमा पुग्यौँ । तनहुँको तुर्तुरेमा नौ महिनाका लागि अस्थायी क्याम्प खडा गरियो । नेपाल सरकारले जनतालाई सुरक्षा र विकासको प्रत्याभूति एकसाथ दिलाउने अवधारणा लिएको थियो । त्यसैलाई पूरा गर्ने क्रममा हामीले नमुना कार्यक्रम सञ्चालन गर्नु थियो ।
सशस्त्र द्वन्द्व चुलीमा थियो । विद्रोहीहरू सोच्थे– विकासको निहुँमा सेना संवेदनशील क्षेत्रमा प्रवेश गर्दै छ । अनि विद्रोही र सेनाको दोहोरो चपेटामा परिएला भन्ने त्रास स्थानीयको अनुहारमा हामी प्रस्टै पढ्न सक्थ्यौँ । जनताको मनबाट त्रास हटाउँदै उनीहरूसँग नजिकिएर काम गर्नु थियो हामीले । विकासलाई द्वन्द्वका हिसाबले बुझ्नु हुँदैन भन्ने हाम्रो नीति थियो । जीवन यति गतिशील छ कि हामीले रोक्ने ठाउँ नै छैन, विकास पनि जीवनको अभिन्न पक्ष हो ।
हामीसँग दुईवटा प्रमुख चुनौती थिए– एउटा विकास निर्माणको काम फत्ते गर्नु, अर्को द्वन्द्वरत पक्षले थाप्न सक्ने एम्बुस वा आक्रमणबाट जोगिनु । त्यसबाहेक जनता आफैँ विद्रोहीको उक्साहटमा पर्न सक्ने सम्भावना पनि उत्तिकै रहन्थ्यो । उनीहरूलाई हामी विकास निर्माणका लागि मात्र आएका हौँ भनेर बुझाउँथ्यौं ।
मस्र्याङ्दी किनारमा स्थान सुरक्षित गर्‍यौँ । पहिलेदेखि रहेको झोलुंगे पुललाई साइटिङ बनायौँ । पिकेड गाड्दै काँडेतारले बेरेर पेरिमिटर बनायौँ । अस्थायी क्याम्प खडा गर्‍यौँ । काम थाले पनि जनता हामीनजिक आउन डराउँथे । युद्धरत पक्षले जनतामा त्रास फैलिने गरी उर्दी जारी गरेका रहेछन्– ‘आफ्नो सुरक्षा आफैँ गर्ने भए मात्र क्याम्पतिरै बस्नू, अन्यथा जे पनि हुन सक्छ †’
सेनाजस्तो गरिमामय संस्थाको बर्दीधारी भइसकेपछि हौसला बुलन्द भएर आउँथ्यो । लाग्थ्यो– ‘सशक्त बन्नका लागि चुनौतीसँग त जुध्नै पर्छ नि †’ त्यसो त विद्रोहीबाट हुन सक्ने सम्भावित आक्रमणको डर जतिखेरै रहन्थ्यो । खाद्यान्न र निर्माण सामग्री पनि परिचय लुकाएर ल्याउनुपथ्र्यो । त्रासैत्रासका बीच नौ महिनामा पुल तयार भयो । केही दिनपछि मस्र्याङ्दीमा ५० वर्षपछिको ठूलो बाढी आएछ । तर, हामीले बनाएको पुल केही भएन ।
० ० ०
यो पुल बनेपछि नेपाली सेनाको साख उँचो भएको थियो । त्यो प्रतिकूल अवस्थामा पनि हामीले नमुना विकास कार्यक्रमलाई सफल बनाएका थियौँ । त्यही सफलताको गोरेटोले नेपाली सेनालाई विकट जिल्लाहरूमा सडकमार्ग पुर्‍याउने अभियानको विश्वसनीय पक्ष बनाएको छ ।
गोरखापछि त्यही टोली लिएर लमजुङको बेँसीसहर गयौँ । साथमा तीन जना अफिसर थियौँ । जनताको घर भाडामा लिएर काम थाल्यौँ । त्यहाँ पनि सडक निर्माणको काम थाल्ने वातावरण तय भयो ।
त्यति बेला मेरो जिम्मेवारीचाहिँ फेरि गोरखामै फर्कियो । द्वन्द्वका कारण सडक विभागले थालेका चारवटा सडक अधुरै थिए । एक मेजर साथी र म गोरखा आयौँ । गोरखा–मनकामना, गोरखा–आरुघाट, अबुआ–सिरानडाँडा र सातदोबाटो–बालुवा गरी करिब दुई सय किमी सडकको काम पूरा गर्नु थियो । द्वन्द्वबाट अति प्रभावित सोही जिल्लामा यसअघि पुल निर्माण गरिसकेकाले हामीमा उत्साह भने निकै थियो । स्थानीय जनतामा सकारात्मक सन्देश दिन सफल भइसकेका थियौँ ।
तर, पूरै जिल्ला समेट्ने सडक बनाउन पुलभन्दा निकै गाह्रो काम थियो । त्यसमाथि कहीँकतै एम्बुसमा परियो भने जीवन पनि गयो, साख पनि † तैपनि जनताबीच घुलमिल हुन फेरी लगाउने जोगीजसरी गाउँगाउँ पुगिरहन्थ्यौँ । राति ब्यारेकमा बस्थ्यौँ, दिउँसो आमजनतासँग मिलेर काम गथ्र्यौं । सेनाको पोसाक पनि परिस्थिति हेरेर मात्र लगाउँथ्यौँ । धेरै स्थानीय महिला मजदुरलाई काममा लगायौँ । पुरुष त गाउँमै थिएनन्, कोही बिदेसिएका अनि कोही गाउँमा टिक्न नसकेर राजधानी छिरेका । जनतासँग घुलमिल हुने रणनीति लिएकै कारण सेनाले त्यस्तो अवस्थामा पनि सडक निर्माणलाई टुंगोमा पुर्‍याउन सकेको थियो ।
त्यति बेला विद्रोहीबाट आउने ज्यानको धम्की त सामान्यजस्तो भइसकेको थियो । एक दिन राति निर्माण सामग्री राखेको पालमा सकेट बम हानेछन् । हामी ब्यारेकमा रहेकाले जोगियौँ । केही समयका लागि कामै अघि नबढ्ने गरी क्षति पुर्‍याए । त्योभन्दा ठूलो डर त अर्को थियो– कतै आत्तिएर महिलाहरू काममा आएनन् भने कति गरी बटुलेको जनताको विश्वास फेरि सेलाउन सक्थ्यो । धन्न † त्यसै बेला तीज परेछ । उनीहरूलाई केही दिन बिदा दिएजस्तो गरी मिलायौं । झट्ट अर्को जुक्ति पनि फुर्‍यो– कामदारको मनोबल बढाउन खसी काटेर खुवायौँ । महिलाहरूलाई तीजको कोसेली चुरा र धागो दियौँ । केही दिन आराम गर्नू भनेर घर पठायौँ । तोकिएको बिदा सकिएपछि अधिकांश काममै फर्किए ।
० ० ०
२०६१ सालमा सडक निर्माणकै क्रममा विकट जिल्ला जाजरकोट खटियौं हामी । हामीमध्ये कति साथीका लागि भौगोलिक हिसाबले विकट पश्चिमी क्षेत्रको रहनसहन र मान्छेहरू बिल्कुलै नौला थिए । सडकमार्गकै अभावमा दातृ निकायहरूले त्यहाँ लगानी गर्न सकिरहेका थिएनन् । छिन्चु–जाजरकोट र देवस्थल–चौरजहारी खण्ड गरी एक सय ४८ किलोमिटर सडक पूरा गर्नु थियो । सबै जिल्ला सदरमुकाममा यातायात पुर्‍याउने सरकारको लक्ष्य थियो । सशस्त्र द्वन्द्वका कारण सडक विभागले काम गर्न नसकेपछि सेनाको जिम्मेवारीमा आएको थियो । ६० जनाको सैनिक टुकडी सल्यानको सल्लीबजारनजिकै अस्थायी क्याम्प खडा गरेर काम थाल्यौँ । द्वन्द्वरत समूहको रणनीतिक भूमि थियो त्यो, छिन्चुबाट ४५ किमी पर । मध्यपहाडी क्षेत्रको प्रवेशद्वार । राज्य प्रशासनको पहुँचै नभएजस्तो अवस्था रहेछ । सेना पुग्दा पनि सबैजना आश्चर्यमा परेका देखिन्थे । स्थानीय एकातिर सुरक्षित भइनेमा आशावादी थिए भने अर्कातिर विद्रोही र सेनाको दोहोरो मारमा परिने त्रास पनि थियो । त्यहाँ पुगेपछि पनि हाम्रो भूमिका उस्तै रह्यो । जनताको घरघर पुग्थ्यौं र सम्झाउँथ्यौं– ‘हामी विकासको मिसन लिएर तपाईंहरूकोमा आएका हौं, तपाईंहरूको क्षेत्रमा सडक बनाउँछौं ।’ यसका लागि हामीलाई श्रम र सीप भएका स्थानीय जनशक्ति पनि आवश्यक पर्थे । त्यसका लागि पनि उनीहरूलाई आग्रह गर्‍यौं तर आएनन् । क्याम्पबाट २/३ किलोमिटर मात्रै पर थियो सडक खन्ने थलो । कामदार नभएपछि एक सातासम्म काम अघि बढाउन सकेनौँ ।
म सिभिल ड्ेरसमा गाउँको चौतारामा पुगेँ, अनि गाउँलेहरूलाई सम्झाएँ । भोलिपल्ट पाँच गाउँले बाटो खन्न आए, ४१ किमीको यात्रा सुरु गर्‍यौँ । हेर्न आउनेहरूसँग कुरा गरेर विश्वास दिलाउँदै जाँदा कामदार थपिँदै गए, सय जना पुगे । तर, त्यो ठाउँमा द्वन्द्वको प्रभाव यस्तो थियो कि हामी भात खान जाँदा विद्रोहीपक्ष आएर कामदारलाई लखेट्ने, औजार खोसिदिने, फेरि काम गरे सिध्याइदिने धम्की दिँदा रहेछन् । फेरि ती कामदारलाई अनेक तरहले सम्झाउनुपथ्र्यो । जसोतसो त्यहाँको काम पूरा गर्‍यौँ । त्यसपछि छिन्चु–जाजरकोटको सडकखण्ड थाल्यौँ । त्यहाँ पनि बिस्तारै जनताको विश्वास जित्यौँ । चिमिरेजस्ता च्याङ्ग्रा प्रयोग गरेर नुन बोक्नुपर्ने भिर छिचोल्यौँं । सो क्रममा एक सैनिक जवानसहित तीन कामदार पनि गुमाएको सम्झँदा दु:ख लाग्छ । भिरमै भगवान्को तस्बिरमा धूप बालेर प्रार्थना गथ्र्यौं । दुई वर्षमा जाजरकोटको प्रवेशमार्ग चिमिरे भीर छिचोलेरै छाड्यौं । ट्रयाक्टर पहिलोपल्ट पुर्‍याउँदा आधा काम सकेको महसुस भएको थियो । त्यसपछि कालापहाड छिचोल्यौँ । चिमिरे र कालापहाडमा सेनाले गरेको साहस र सफलतालाई द्वन्द्वरत पक्षले पनि राम्रो रूपमा हेरे । २०६४ साल दसैँमा जाजरकोट सदरमुकामलाई सडकमार्गले जोड्न सफल भयौं । अहिले जाजरकोटदेखि डोल्पाको दुनै जोड्ने सडकमार्ग निर्माणमा खटिइरहेको नेपाली सेनाले आधाउधी काम सकिसकेको छ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया