अस्ताए गणतन्त्रवादी नेता सिंह

काठमाडौं, २८ भदौ । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको ७७ वर्षको उमेरमा बुधबार निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे निधन भएका सिंहको बुधबार नै राजकीय सम्मानका साथ अन्येष्टि गरिएको छ ।
मुटु, मिर्गाैला, हाड र नशासम्बन्धी रोगबाट पीडित सिंह स्वास्थ्यमा खराबी आएपछि १७ भदौमा अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार दिउँसो ३:३० बजेदेखि सघन उपचारकक्षमा भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले लामो प्रयास गरे पनि अन्तत: बुधबार बिहान सिंहको निधन भयो । ‘मल्टी अर्गान फेलियर’का कारण उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. केपी सिंहले बताए । डा. सिंहका अनुसार नेता सिंह लामो समयदेखि पार्किन्सन, उच्चरक्तचाप र पिठ्यु दुख्ने समस्याबाट पीडित थिए ।
‘उहाँको मुटु, मिर्गौला, फोक्सोलगायत महत्त्वपूर्ण अंगले काम गर्न छाड्दै गएपछि हामीले तुरुन्त आइसियुमा लगेर भेन्टिलेटरमा राखेका थियौँ,’ डा. सिंहले भने, ‘तर शरीरका महत्त्वपूर्ण सबै अंगले काम गर्न छाडेकाले उहाँलाई बचाउन सकिएन ।’ उनको उपचारमा झन्डै एक दर्जन चिकित्सकको टोली खटिएको थियो ।
सिंहको निधनपश्चात् सरकारले उनलाई राष्ट्रगौरवका रूपमा विभूषित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ‘सिंह नेपाली गणतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व भएको’ भन्दै राष्ट्रगौरवबाट विभूषित गर्ने निर्णय गरेको हो । यसअघि सर्वमान्य नेता गणेशमान सिंहलाई राष्ट्रगौरवबाट विभूषित गरिएको थियो । यसका साथै बैठकले सिंहलाई राजकीय सम्मानका साथ नेपाली सेनाले १३ तोपको सलामी दिएर अन्तिम संस्कार गर्ने निर्णय पनि गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार नै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ सिंहको अन्त्येष्टि गरिएको छ । सिंहको पार्थिव शरीरमा छोरा मनोजले दागबत्ती दिएका थिए । अन्त्येष्टिअघि सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि तीन घन्टा खुलामञ्चमा राखिएको थियो । दिउँसो ३ बजेपछि सिंहको शवयात्रा गरी पार्थिव शरीर आर्यघाट पुर्‍याइएको थियो । आर्यघाटमा साँझ ५ बजे सिंहको अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलबाट १३ तोपको सलामी दिइएको थियो ।
सरकारले सिंहको निधनको शोकमा बिहीबार स्वदेश तथा विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ भने निधनप्रति शोक व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नवजनवादी मोर्चाका अध्यक्षसमेत रहेका सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली चढाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले नेताहरू, उपप्रधानमन्त्री विजयकुमार गच्छादर, नेकपा–मओवादी अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गजुरेललगायत नेता तथा कार्यकर्ता खुलामञ्च पुगेका थिए । यसअघि उपचाारकै क्रममा पनि राष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी अध्यक्षलगायत नेताहरूले अस्पताल पुगी सिंहको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए भने सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो ।
देशमा सबैभन्दा पहिला गणतन्त्रको वकालत र गणतन्त्रका लागि जीवनभर योगदान गरेको भन्दै सिंहलाई एमाओवादीले राष्ट्रपति चुनावमा उम्मेदवार बनाएको थियो । ०६२/६३ पछि आएको राजनीतिक परिवर्तनमार्फत राजसंस्थाको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो । पहिलो राष्ट्रपतिका लागि एमाओवादीले सिंहलाई उम्मेदवार बनाए पनि उनी राष्ट्रपति डा. रामवरण यादवसँग पराजित भएका थिए ।
राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायत विभिन्न राजनीतिक दलले सिंहको निधन भएकामा विज्ञप्तिमार्फत शोक व्यक्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘नवजनवादी मोर्चाका नेता तथा गणतन्त्रका अभियन्ता नेता रामराजाप्रसाद सिंहको उपचारका क्रममा निधन भएको’ भन्दै दु:ख व्यक्त गरेका छन् । जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले ०६४ सालमा पटनामा तराईलाई अलग राष्ट्र घोषणा गरी राष्ट्रपतिको प्रस्ताव गर्ने ज्वाला सिंह–गोइतहरूको योजनाको भत्र्सना गरेको स्मरण गर्दै विज्ञप्तिमा भनेका छन्, ‘उहाँको निधनले एक निर्भिक नेता गुमाई देशले अपूरणीय क्षति व्यहोर्नुपरेको छ ।’
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद्सिंह भण्डारीले देशमा गणतान्त्रिक चेतनाको बिउ छर्ने ऐतिहासिक व्यतिmत्व भन्दै गणतन्त्रवादी नेता सिंहको निधनले मर्माहत तुल्याएको बताएका छन् ।

को हुन् सिंह ?
१९९१ सालमा सप्तरीमा जन्मेका सिंह पञ्चायतकालमै गणतन्त्रको पक्षमा वकालत गर्ने नेता हुन् । ०४२ सालमा नारायणहिटीनजिक, सिंहदरबार परिसर, झापा, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, कन्चनपुरलगायत ठाउँमा बम विस्फोटका घटना भए । गणतन्त्रका लागि सशस्त्र संघर्ष भन्दै विभिन्न स्थानमा गराएको बमकाण्डमा संलग्नताको अभियोगमा तत्कालीन सरकारले उनलाई सर्वस्वहरणसहित मृत्युदण्ड सुनाएको थियो । विस्फोटमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य डम्बरजंग गुरुङसहित तीनजनाको मृत्यु भएको थियो । विस्फोटपछि भारत निर्वासनमा गएका सिंह ०४६ सालमा प्रजातन्त्र आए पनि मृत्युदण्डको सजाय फिर्ता नभएकाले ०५१ सालमा मात्रै फर्केका थिए ।
सिंह ल्याटिन अमेरिकी नेता चे ग्वेभारालाई भेट्ने एक मात्र नेपाली नेता हुन् । पत्रकार सीताराम बरालले उनको जीवनीमा तयार पारेको पुस्तक ‘गणतन्त्रका लागि संघर्ष’मा सिंह भारतको दिल्ली विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्दै गर्दा चे ग्वेभारा विश्व क्रान्तिका लागि विभिन्न देशमा प्रतिनिधि पठाएर माहोल बनाउन लागिपरेको उल्लेख छ । त्यति नै बेला क्लारा नामकी युवती दिल्ली विश्वविद्यालय पुगिन् । उनकै संयोजनमा सिंहले चे ग्वेभारालाई बर्मामा भेट्ने अवसर पाए । सिंहसितको भेटमा ग्वेभाराले नेपालमा पनि क्रान्ति गर्न सकिन्छ कि भन्ने योजना सुनाएका थिए । तर, रामराजाको संगठन थिएन । त्यसैले चे ग्वेभाराले कांग्रेसका सुवर्णशमशेरलाई सन्देश पठाएर नेपालमा संघर्षको योजना सुनाएका थिए । यो सन्देश लिएर रामराजा सुवर्णशमशेरकहाँ पुगे पनि सुवर्णले कम्युनिस्टसँग मिलेर संघर्ष नगर्ने बताएपछि सिंह केही समय चुप लागेर बसेको कुरा पुस्तकमा उल्लेख छ ।
०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि सिंहले ‘राजा र राजतन्त्र भनेको पातहरूको प्रतीक हो, त्यसैले राजतन्त्र नै फाल्नुपर्छ त्यसपछि पात नै सकिन्छ’ भनेर पर्चा निकालेका थिए । उनले त्यसबेला पुष्पलाल र सुवर्णशमशेरहरूलाई सशस्त्र संघर्ष गर्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भनेर त्यतिबेलै भनेका थिए ।
शोकमा सप्तरी
दिनेश शर्मा
राजविराज, २७ भदौ । गणतन्त्रका लागि हतियार उठाएका नेता रामराजाप्रसाद सिंहको निधनको खबरले सप्तरी शोकमा डुबेको छ ।
सप्तरी कांग्रेसका पुराना नेता वीरबल विराजीले सिंहको निधन लोकतन्त्रका लागि क्षति भएको बताए । गणतन्त्र संस्थागत नहुँदै सिंहको निधन भएको भन्दै बिराजीले दु:ख व्यक्त गरे । देश र जनताका लागि आजीवन संघर्ष गर्ने सिंह सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ ।
सिंह नेतृत्वको नवजनवादी मोर्चा नेपालका संस्थापक महासचिवसमेत रहेका सिंहका भाइ लक्ष्मणप्रसादले सिंहले थालेको अभियानमा ठूलो धक्का पुगेको बताए । देश र जनताका लागि नि:स्वार्थ भावले काम गर्ने नेतृत्वको अभाव रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सिंहको निधन मुलुककै लागि दुर्भाग्य भएको सुनाए ।
बालसखा विजयप्रसाद सिंहले रामराजाको नि:स्वार्थ नेतृत्व सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनको निधनले मुलुकलाई क्षति पुगेको बताए । रामराजा युवावस्थादेखि अन्यायको विरोधमा लागिपरेको स्मरण गर्दै उनले यस्ता व्यक्तिको खाँचो रहेको औँल्याए ।
कोइलाडी– १ की उर्मिलादेवी सिंहले रामराजा आफू दु:ख पाए पनि अरूको दु:ख देख्न नसक्ने व्यक्तित्व रहेको उल्लेख गरिन् । ‘यस्ता नेता बिरलै पाइन्छन्,’ उनले भनिन्, ‘रामराजा आफू बिते पनि इतिहास बनाएर गए ।’
१९९१ मा सप्तरीको कैलाडीमा जन्मेका सिंहलाई गणतन्त्र स्थापनाकै लागि ०४२ मा सिंहदरबार परिसरलगायत विभिन्न ठाउँमा बम विस्फोट गराएको अभियोगमा सर्वस्वहरणसहित मृत्युदण्डको सजायसमेत सुनाइएको थियो । १४ जेठमा संविधानसभाको अवसानपछि सिंहले पुन: संसदीय प्रणाली असफल भएको भन्दै विज्ञप्तिमार्फत भनेका थिए– ‘जेठ १४ को मध्य रात इतिहासकै कालो रात हो ।’
सिंहका दुई छोरा छन् । उनकी पत्नीको १० वर्षअघि नै निधन भएको थियो ।

प्रतिक्रिया