आन्दोलनकारीलाई थुनेर कुटपिट

विराटनगर, २८ भदौ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बुधबार चारघन्टे आमहड्तालको कार्यक्रम गरिरहेका विद्यार्थी नेतामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । बन्दको आह्वान गरेका विपक्षी दल समर्थित विद्यार्थी नेतालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगेरसमेत निर्घात कुटपिट गरिएको हो ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको उनीहरूले बताए । अनेरास्ववियु मोरङका अध्यक्ष भाष्कर खनालका अनुसार प्रहरीले विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयमा रहेको महिला सेलको कक्षमा ढोका थुनेर कुटपिट भएको थियो । कुटपिटबाट आधा दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएको उनले बताए ।
प्रहरीले नियन्त्रणमा लिइसकेपछि जिल्ला प्रहरी कार्यालयमा कुटपिट गर्दा महेन्द्र मोरङ क्याम्पसका स्ववियु कोषाध्यक्ष दीपक नेपाल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रमेश खरेल, पूर्व केन्द्रीय सदस्य केदार कार्की, नेविसंघकै सन्दीप काफ्ले, दीपेश देव, रोशन पोखरेल सख्त घाइते भएका छन् । उनीहरूको टाउको, ढाड, पाखुरालगायत भागमा चोट लागेको छ । मदिरा सेवन गरेर आएका प्रहरीले आफूहरूमाथि निर्घात लठ्ठी प्रहार गरेको नेविसंघका पूर्व केन्द्रीय सदस्य कार्कीले बताए ।
विराटनगरका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा–माओवादीलगायत राजनीतिक दलका विद्यार्थी संगठनका नेता तथा कार्यकर्तालाई प्रहरीले विनाकारण जिल्ला प्रहरी कार्यालयभित्र लगी थुनेर कुटपिट गरेको हो । प्रहरीले विद्यार्थी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा पनि लाठीचार्ज गरेको खनालले बताए । ‘हामी शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रम गरिरहेका थियौँ,’ उनले भने, ‘प्रहरीले त्यस क्रममा पनि लाठीचार्ज गर्‍यो ।’ कार्कीका अनुसार अनुसार मूल्यवृद्धिको विरोधमा यातायात र बजार बन्द गर्दै शान्तिपूर्ण रूपमा हिँडेका विद्यार्थीलाई विराटनगरका विभिन्न ठाउँमा समेत प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्द लाठी प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर खगेन्द्र खड्काको निर्देशनमा आफूहरूमाथि कुटपिट गरिएको घाइतेले बताए । घाइतेमध्येका महेन्द्र मोरङ क्याम्पसका स्ववियु कोषाध्यक्ष दीपक नेपालका अनुसार नियन्त्रणमा लिने क्रममा इन्स्पेक्टर मनोजित कुँवरको निर्देशनमा समेत प्रहरीले अन्धाधुन्द विद्यार्थीमाथि लाठी प्रहार गरेको थियो । उनका अनुसार नियन्त्रणमा लिने क्रममा इन्स्पेक्टर कुँवर र जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि इन्स्पेक्टर खड्काको निर्देशनमा अपशब्द प्रयोग गर्दै कुटपिट गरिएको हो ।
पक्राउ परेकाले आफूहरूमाथि भएको प्रहरी–दमनविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमै भोकहड्ताल गरेका थिए । मोरङका डिएसपी उमाप्रसाद चतुर्वेदीले विद्यार्थी अनियन्त्रित भएपछि कुटपिट गरिएको स्विकारे । उनले प्रहरीमाथि नै दुव्र्यवहार गर्दै सवारीसाधन तोडफोड गरेपछि बाध्य भएर प्रहरीले कुटपिट गर्नुपरेको दाबी गरे ।

प्रतिक्रिया