खाद्यान्न वितरणमा आपत्ति

बाजुरा, २६ भदौ । नेपाल खाद्य संस्थान बाजुरा शाखाले तीन महिनापछि खाद्यन्न वितरण सुरु गरे पनि स्थानीयले भने मागभन्दा कम परिमाणमा खाद्यान्न दिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

असार तेस्रो साताबाट चामल सकिएलगत्तै वितरण कार्य रोकेको संस्थानले पुन: वितरण कार्य सुरु गरेको हो । प्रत्तिकेजी ३४ रुपियाँ ५० पैसाले राहतस्वरूप चामल वितरण कार्य सुरु गरे पनि प्रतिव्यक्ति १५ केजीका दरले मात्र चामल दिएको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन् ।
चामल लिन आएका स्थानीय छत्र शाहीका अनुसार तीन महिनापछि चामल वितरण गरे पनि प्रतिव्यक्ति १५ केजी चामलको १५ जनाको परिवार हुनेलाई केही राहत नपुग्ने दाबी गरे । खाद्य संस्थानले चार सय क्विन्टल मात्र खाद्यन्न ढुवानी गरेका कारण चामल अपुग हुने देखिएको हो । पहिलोचोटि पाँच सय क्विन्टल ढुवानीका लागि सम्झौता गरिए पनि चार सय क्विन्टल मात्र चामल मात्र ढुवानी गरिएको छ । चाड पर्व नजिक आए पनि स्थानीयलाई रमझमभन्दा पनि खानलाई चामल नभएको गुनासो आम नागरिकको छ ।
जिल्लाको मानाकोट, दहकोट, जुगाडा, बूढीगंगा, मार्तडीलगाएत गाविसका उपभोक्ता चामलका लागि खाद्य संस्थानमा बसेपछि प्रहरीलाई समेत वितरण कार्यमा सहजता ल्याउन कठिन भएको छ । चामल लिन बालबालिकादेखि वृद्धवद्धासम्म पनि एक दिनको पैदल हिडेर १५ केजी चामल लिन मार्तडी पुग्नुपर्ने अवस्था छ । खाद्य संस्थान शाखा प्रमुख वासुदेव भट्टले पाँच हजार क्विन्टल चामलका लागि नयाँ सम्झौताको प्रक्रिया भइरहेकाले कुनै समस्या नपर्ने बताए । मार्तडीसम्म सडक सुचारु भएलगत्तै खाद्यन्नको कुनै समस्या नहुने उनको भनाइ छ ।

प्रतिक्रिया