भैरहवा, २७ भदौ । नेपाल सरकारका एक बहालवाला कर्मचारीले जिउँदी श्रीमतीको मृत्युदर्ता प्रमाणपत्र बनाएको खुलासा भएको छ । आफ्ना तीन श्रीमतीमध्ये माइलीलाई उनले जिउँदैमा मरेको प्रमाणित गरेका हुन् ।
यस्तो हर्कत गर्ने कृष्णकुमार बन्जाडे हेभी इक्विपमेन्ट डिभिजन कार्यालय बुटवलमा लेखापाल पदमा कार्यरत छन् । उनले आफ्नो राजनीतिक पहुँच प्रयोग गर्दै श्रीमती चन्द्रकला थापा बन्जाडेको मृत्युदर्ता प्रमाणपत्र २०६५ सालमा बनाएका थिए । जबकि उनै चन्द्रकलाले २०६७ सालमा आएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।
बन्जाडेले अर्घाखाँची जिल्लाको धारापानी गाविसबाट चन्द्रकलालाई मृतक भनी सरकारी कागजात बनाएका हुन् । बन्जाडेले दिएको निवेदनका आधारमा गाविसले बुझ्दै नबुझी मृत्युदर्ताको प्रमाणपत्र दिएको देखिन्छ । २०६५ साल मंसिर २ गते जारी प्रमाणपत्रमा गाविस सचिव जीवनारायण चुँदालीको हस्ताक्षर छ ।
प्रमाणपत्रको दर्ता नं ७ मा पारिवारिक लगत फारम नं. ४० मा लेखिएको छ, ‘यस कार्यालयमा खडा गरिएको मृत्युदर्ता किताबअनुसार प्रमाणित गरिन्छ कि सूचक श्री कृष्ण बन्जाडेले भरेको अनुसूची ३ को सूचना फारमबमोजिम श्री जुद्धबहादुर थापाको नाती श्री डम्बरबहादुर थापाको छोरा कृष्ण बन्जाडेकी श्रीमती अर्घाखाँची जिल्ला धारापानी गाविस वडा नं. ९ मा बस्ने वर्ष ३२ की चन्द्रकला थापा बन्जाडेको मिति २०६० ।१२।०७ गते म्याग्दीमा मृत्यु भएको हो ।’
गाविसद्वारा ०६० सालमै मृत घोषित चन्द्रकलाले ७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट २०६७ चैत्र १६ गतेको मितिमा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नेपाली नागरिक भएको प्रमाणित गर्दै नागारिकताको प्रमाणपत्र दिएका छन् । उनको नागरिकता प्रमाणपत्र नं. ४० (१०१९/१३८७) रहेको छ ।
गाविस सचिव चुँदालीले भने मृत्यु दर्ताको प्रमाणपत्र आफूले नबनाएको दाबी गरे । उनले भने, ‘म कृष्ण बन्जाडे र चन्द्रकला बन्जाडेलाई राम्रोसँग चिन्छु । उहाँहरूको पहिलेदेखि नै पारिवारिक कलह थियो । चन्द्रकला अहिले बुटवलतिर हुनुहुन्छ रे † मैले दिएको प्रमाणपत्र होइन त्यो । यो सरासर गाविसको लेटरप्याड र छाप तथा मेरो हस्ताक्षरमा जालसाझी गरिएको हो ।’
बन्जाडेका तीन श्रीमतीको कथा छुट्टै छ । धेरै वर्ष पहिले जेठी श्रीमती भित्र्याएका थिए उनले । जेठी श्रीमतीलाई अनेक यातना दिएपछि उनी पाँच महिनाको छोरो र घर छोडेर गएको स्थानीय बताउँछन् । उनी कहाँ छिन्, कसैलाई पत्तो छैन । त्यसपछि उनले चन्द्रकलालाई माइली श्रीमतीका रूपमा भित्र्याए । चन्द्रकलालाई मागेरै बिहे गरेको बुझिएको छ । माहिलीसँगको उनको सम्बन्ध पनि सुमुधर हुन सकेन । यद्यपि माहिलीपट्टिबाट पनि दुई छोरी र एक छोरा छन् । तर, पछि बन्जाडेले माइली श्रीमतीलाई पनि अनेक बहाना गरी निर्मम याताना दिन थाले । यत्तिसम्म कि एकपटक बन्जाडेले उनलाई खाल्डो खनेर जिउँदै पुर्नसमेत लागेका थिए, गाउँलेले थाहा पाएपछि उनको ज्यान जोगियो । गाउँलेले उनलाई समातेर कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा पुर्याए तर राजनीतिक पहुँचका कारण एकै दिनमा त्यहाँबाट उनी छुटे ।
यता बन्जाडेलाई जीवित श्रीमतीको मृत्युदर्ता बनाएको विषयमा फोनमा प्रश्न गर्दा उनी केही बोल्न चाहेनन् । ‘जहाँबाट सूचना पाउनुभएको हो, उसैलाई सोध्नुस्’ ठाडो शैलीमा प्रस्तुत भएर उनले भने ।
चन्द्रकलालाई सौर्य दैनिकले मंगलबार दिउँसो सम्पर्क गरी तपाईंलाई त तपाईंका श्रीमान्ले मरेको भनी गाविसबाट मृत्युदर्ताको प्रमाण पत्र बनाएका रहेछन् नि भनी सोध्दा उनले यसो भनिन्, ‘हेर्नुस् सर, मेरो र उहाँको बिहे ०४७ सालमा भएको हो । अहिले मेरा छोराछोरी पनि ठूला भए । चार वर्षअघिसम्म उहाँ सम्पर्कमा हुनुहुन्थ्यो । उहाँले दिएको यातना सम्भिँmदा अहिले पनि आङ सिरिंग हुन्छ । गाउँलेको सहयोग नभएको भए आज यो संसारमा म हुने थिइनँ होला । चार वर्षयता उहाँ आउनुभएको छैन । उल्टै म मरेको भनी गाविसबाट कागज बनाउनुभएछ । म त यो थाहा पाएर छांगाबाट खसेजस्तै भएँ । के गर्नु दुखियाको कर्म …’
उनले छोराछोरीको पढाइ र भविष्य नबिग्रियोस् भनेर श्रीमानविरुद्ध कहीँकतै उजुरबाजुर नगरेको बताइन् । ‘जति अन्याय अत्याचार भए पनि आइमाई भएपछि सहनै पर्ने रहेछ । छोराछोरीलाई पढाइ खर्च दिइराखेको थियो । मैले कहीँकतै उजुरी गर्दा तिनीहरूको पढाइमा समस्या आउँछ कि भनेर कहीँकतै भनेको छैन,’ उनले भनिन् । तर, आफूसँग भएकी कान्छी छोरीको तीन वर्षदेखि फी तिर्न नसकेको उनले बताइन् । १० वर्षीया सानी छोरीलाई उनले स्थानीय निजी स्कुलमा पढाउँदै आएकी छन् । अहिले कक्षा ५ मा पढ्ने ती छोरीको भर्ना फी र कुनै शुल्क उनले तिरेकी छैनन् । चन्द्रकलाले भनिन्, ‘कक्षा दुईदेखि अहिलेसम्मको कुनै फी तिरेकी छैन । श्रीमान्को त्यत्रो कमाइ छ । चार वर्षयता फर्केर आएका छैनन् । एकपटक सम्पर्क पनि गरेका छैनन् । तर, स्कुलका सरहरूले पनि जहिले सक्नुहुन्छ त्यही दिन तिर्नु भन्नुभएको छ ।’
रूपन्देहीको शंकरनगर गाविस वडा नं. ५ मा एउटा ओत लाग्ने टहरो बनाएर बसिरहेकी उनले आफ्नो दैनिक गुजारा ज्यालामजदुरी र मेलापर्वबाट चलेको बताइन् । ‘घरमा एउटा गाई छ । दिनभर छिमेकीकहाँ काम गर्छु । त्यहाँबाट पाएको धेरथोर पैसाले सानी छोरी र आफ्ने जीवन चलाइरहेकी छु,’ उनले भनिन् ।
गाउँलेले उनलाई धरैपटक अत्याचारी श्रीमान्का विरुद्ध उजुरी हाल्न अनुरोध गरे तर उनले मानिनन् । त्यसको एउटा मात्र कारण थियो– छोराछोरीको पढाइ । गाउँलेहरूले चन्द्रकलामाथि भएको अत्याचारको खुलेर विरोध गरे पनि पत्रिकामा नामचाहिँ नराखिदिन अनुरोध गर्दै थिए । उनीहरू भन्दै थिए, ‘हाम्रो नामचाहिँ नराखिदिनुहोला । त्यो मान्छे दादा हो, जे पनि गर्नसक्छ ।’
यसरी गाउँ नै त्रसित बनाएका बन्जाडे भने बुटवल नगरपालिका वडा नं. १४ नयाँमिलमा बनाएको अढाई तले आलिसन महलमा कान्छी श्रीमतीसँग सुखका साथ दिन काटिरहेका छन् । जागिर खान थाल्दा उनको आर्थिक अवस्था सामान्य थियो तर राजस्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा ०६५ सालमा लेखापाल भएर आएपछि एकाएक करोडपति बने । अहिले उनीसँग करोडौँ पर्ने घर छ । ४००२ नंं.को निजी बलेरो गाडी छ । बुटवलको मिलनचोकमा फेवा कटेज एन्ड रेस्टुरेन्ट छ । सो रेस्टुरेन्ट जेठी श्रीमतीपट्टिका छोरा योगेशले सञ्चालन गरिरहेका छन् । त्यसैगरी, बुटवलकै राममन्दिर लाइनमा आफ्नै मीत खुमानन्द अधिकारीको नाममा सुपा देउराली जुत्ता पसल सञ्चालित छ । सो जुत्ता पसल पनि बन्जाडेकै लगानीमा सञ्चालित हो ।
नेपाल सरकारको निजामती सेवा ऐन नियमावलीमा सरकारी कर्मचारीले कुनै पनि व्यावसायिक कारोबार गर्न नपाइने व्यवस्था भएको हुँदा बन्जाडेले अवैध रूपमा कमाएको करोडौँ रुपियाँ आफ्ना साथीभाइ र नातेदारको नाममा राखेका हुन् । राजस्व कार्यालय बुटवलबाट गत फागुनमा हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय बुटवलमा सरुवा भएका लेखापाल बन्जाडे विगत ७ महिनादेखि विनाहाजिर घरमै बसिरहेका छन् । गएको असारसम्म एनेकपा (माओवादी)का सचिवालय सदस्य तथा शान्तिमन्त्री टोपबहादुर रायमाझीको छत्रछाया पाएका उनी पछिल्लो समय अर्का पोलिटब्युरो सदस्य गिरिधारीलाल न्यौपानेनजिक पुगेका छन् ।
उनले भैरहवा भन्सार कार्यालयका तत्कालीन प्रमुख सुदीपचन्द्र शाहलाई अभद्र व्यवहार गरी हातपातसमेत गरेका थिए । जसका कारण एक दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा बस्नुपर्यो । तर, राजनीतिक दबाबको बलमा अर्को दिन छुटे । त्यसैगरी, बुटवलमा अर्काकी श्रीमतीसँग अनैतिक क्रियाकलाप गरिरहेको बेला गाउँलेले पक्रिएर प्रहरीलाई बुझाएका थिए । तर, एमाओवादीका नेता रायमाझीको ठाडो आदेशमा इप्रका बुटवलबाट छुटे ।
लेखापाल बन्जाडेले राजस्व अनुसन्धान कार्यलय बुटवलबाट सरुवा भएर जाँदा आफ्नो जिम्मामा रहेको कार्यालयको सरसामान तथा लेखास्रेस्ता बरबुझारथ गरेका छैनन् । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय रूपन्देहीले उनको रमाना हुलाकमार्फत पठाएको कार्यालय प्रमुख धर्मेन्द्र मिश्रले बताए । मिश्रका अनुसार तत्कालीन लेखापाल बन्जाडेले लेखाफाँटको चाबीसमेत लिएर जाँदा आर्थिक वर्ष ०६८/६९ को आन्तरिक लेखापरीक्षण हुन सकेको छैन ।
लेखापाल बन्जाडेले अर्घाखाँची जिल्ला पशु कार्यालयमा पनि हंगामा मच्चाएको प्रमाण भेटिएको छ । उनी त्यहाँस्थित जिल्ला पशु सेवा कार्यालयमा लेखापाल पदमा कार्यरत छँदा कार्यालय प्रमुख डा. गोपाल गिरीलाई थाहै नदिई सञ्चय कोष र नागरिक लगानी कोषको रकम हिनामिना गरेका थिए । यसको धेरैपछि मात्र पशु कार्यालयले थाहा पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवललाई अर्घाखाँचीबाट प्रमुख डा. गिरीले पत्र लेख्दै बेरुजु फर्छोट गरिदिन आग्रह गरेका थिए । सो पत्रको बोधार्थ पशु सेवा विभाग हरिहर भवन ललितपुरलाई समेत पठाइएको थियो ।
यसरी जहाँ गयो, त्यहीँ उप्रदो मच्चाउने लेखापाल बन्जाडेले गरेको विभिन्न कर्तुतको उनी आबद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनले स्थानीय स्तरमा विरोध गरेको पनि हो । तर, एमाओवादी पोलिटब्युरो सदस्य गिरिधारीलाल न्यौपानेको सहयोगले उनी एनेकपा (माओवादी) निकट निजामती कर्मचारीहरूको संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय सदस्यमा बढुवा भए ।
प्रतिक्रिया