शिक्षितबाटै बालश्रमिकमाथि हिंसा

काठमाडौं, २७ भदौ । उपत्यकाभित्र १४ वर्षभन्दा मुनिका घरेलु कामदार राख्ने र उनीहरूलाई यातना दिने अधिकांश शिक्षित तथा उच्च घरानियाँ परिवारका रहेको एक तथ्यांकले देखाएको छ । बालअधिकारका क्षेत्रमा काम गर्ने ‘सिविस’ नेपालको तथ्यांकअनुसार उपत्यकाभित्र गएको आठ महिनामा १४ वर्ष उमेरभन्दा मुनिका बालबालिका माथि शरीरिक यातनाका एक सय १२ वटा घटना भए । त्यसमध्ये अधिकांश घरेलु हिंसा तथा यौनहिंसाका घटना थिए ।
तीमध्ये १० वटा यौनहिंसाका घटना मात्रै अदालतसम्म पुगेका छन् । यौनहिंसा भएका १४ वटा घटना त हदम्याद नाघेका कारण प्रहरी कार्यालयमा दर्ता नै हुन सकेनन् । यौनहिंसाका १७ घटनामा भने प्रहरीले उद्धार गरेको थियो ।
बालश्रम निषेध र नियमन गर्ने ऐन २०५६ मा १४ वर्षभन्दा तलका बालबालिकालाई बालश्रममा लगाउन नपाइने भनेर स्पष्टसँग उल्लेख गरिको छ । तर, कानुन उल्लंघन गर्नेमा उच्च घरानियाँका शिक्षित वर्ग मात्रै होइन, कानुनका ज्ञातासमेत देखिएको अध्ययनको ठहर छ ।
केही महिनाअघि १० वर्षीय बालिका सुशीला सर्दारलाई घरमा काम नगरेको भन्दै चरम यातना दिइयो । सर्दारलाई शरीरमा मात्रै होइन, अनुहारमा समेत निलडाम हुने गरी कुटपिट गरियो । सर्दारलाई कुटपिट गर्ने हुन्– कृष्ण घिमिरे । घिमिरे काठमाडौं बार एसोसिएसन नेपालका वर्तमान उपाध्यक्ष हुन् । उजुरी प्रहरी कार्यालयमा परेपछि मात्रै घिमिरेलाई पक्राउ गरियो । श्रम विभाग, प्रहरी तथा अधिकारवादी संस्थाहरूको कोसिसपश्चात् मात्रै घिमिरेले सर्दारलाई क्षतिपूर्तिबापत १५ हजार रुपियाँ दिन राजी भए ।
दाङकी १२ वर्षीय हीरा वलीलाई चरम रूपमा शरीरिक यातना दिइयो । उनी नेपाली कांग्रेसका भ्रातृसंगठन तरुण दलका उपसचिव टेकराज पौडेलको घरमा काम गर्थिन् । ग्वोबल बैंकमा जागिरे पौडेलकी श्रीमती मीना पौडेलले वलीलाई शरीरिक यातना दिएकी थिइन् । प्रहरी कार्यलयमा उजुरी परेपछि श्रम विभागले वलीलाई पौडेलबाट १० हजार रुपैयाँ जरिवाना दिलायो ।
तनहुँ भिमाद–१ की सुकुमाया कुमालमाथि पनि चरम शारीरिक यातना भयो । कुमाल काठमाडौंमा जिल्ला शिक्षा कार्यालय मनाङका अधिकृत राजेश्वर पराजुलीको घरमा घरेलु मजदुरको रूपमा काम गर्थिन् । कुमाललाई पराजुलीकी श्रीमती सभोता पौडेलले शरीरिक यातना दिने गरेकी थिइन् । सशस्त्र प्रहरीमा सई रहेकी उनले घरमा काम नगरेको भन्दै कुमाललाई कुटपिट गर्ने गर्थिन् । प्रहरीले उद्धार गरेपछि श्रम विभागले पौडेललाई १० हजार रुपियाँ जरिवाना गरायो ।
कोटेश्वरस्थिति ज्योति शाहीको फ्ल्याटमा काम गर्ने १३ वर्षीया सुस्मिता कुमालमाथि पनि शरीरिक यातना दिइयो । कुमाललाई यातना दिने शाही पेसाले शिक्षिका हुन् । श्रम विभागले उनलाई एक लाख रुपियाँ जरिवाना भराएको थियो । त्यस्तै, सर्लाहीकी १२ वर्षीया पुनम माझीलाई शरीरिक यातना दिने इमाडोलकी असला महर्जन हुन् । उनी पेसाले पुस्तक पसले हुन् । सिन्धुलीकी १२ वर्षीया हसीमाया पुलामी मागरले काठमाडौंका नरेन्द्र अमात्यको घरमा यातना भोगिन् । अमात्य पनि पुस्तक पसले हुन् । काभ्रेकी १५ वर्षीय राधा लामाले पनि चण्डोलका विजय रेग्मीको घरमा चरम यातना भोगिन् । उनकी श्रीमती विमला रेग्मी पेसाले शिक्षिका हुन् ।
गोरखा टाकुकोट–३ की १४ वर्षीया संगीता सिँचालीले यातनाकै कारण बाथरुममा झुन्डिएर आत्महत्या गरिन् । उनी टुसालस्थित उमेश प्रधानको घरमा काम गर्थिन् । प्रधान पनि उच्च घरानियाँ परिवारका व्यक्ति हुन् । बानेश्वर–३४ स्थित घरमा यातना भोग्ने १३ वर्षीया सुमित्रा बलयकोटी हुन् या सिन्धुपाल्चोककी ११ वर्षीया मुना श्रेष्ठ हुन् । दुवै घरमालिकबाटै चरम यातनाको शिकार बन्नु पर्‍यो । उनीहरूका घरमालिक पनि उच्च घरानियाँ व्यक्ति हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार बालबालिकालाई काम जोताउने उद्देश्यले मात्रै घरमा राखिन्छ भने त्यो गैरकानुनी हो । घरमालिकले ‘अभिभावकत्व’ दिन्छ, उसलाई पढाइदिने कामदेखि अन्य सुविधा पनि दिन्छ भने त्यसलाई कानुनी नजरले मात्रै हेर्न नमिल्ने उनले बताए । चन्दले भने, ‘कोही बच्चा अभिभावकविहीन छ, खानलाउनकै समस्या छ भने, ऊ सडकमा आउनुभन्दा त घरमै काम गरेर पढ्नु ठीक हो नि । जहाँसम्म यातनाको सवाल छ, त्यो त कसैलाई पनि गर्न पाइन्न ।’
राष्ट्रिय मानवअधिकार आयोगका गौरी प्रधान १४ वर्षभन्दा मुनिका बालबालिकालाई घरेलु कामदारका रूपमा प्रयोग गर्नु गैरकानुनी मान्छन् । उनका अनुसार बालबालिकामाथि शरीरिक, मानसिक या यौनजन्य हिंसा हुनु भनेको त झनै कानुनको खिल्ली उडाउनु हो । उनीले भने, ‘यस्ता हिंसा शिक्षक, वकिल, डाक्टर, व्यपारीकै घरमा धेरै हुने गर्छन्, यस्ता कार्य गर्नेहरू अपराधी हुन् ।’ उनका अनुसार १४ वर्षभन्दा माथिका बालबालिकालाई घरेलु काम प्रयोग गर्दासमेत प्रतिमहिना न्यूनतम तीन हजारको दरले तलब दिने, विद्यालय पढाउनेलगायत व्यवस्था गरिनुपर्छ ।

प्रतिक्रिया