‘प्रधानमन्त्रीलाई ७५ रुपियाँ’

जाजरकोट, २७ भदौ । सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ताको माग गर्दै जाजरकोटका विद्यार्थीले मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७५ रुपियाँ उपहार पठाएका छन् । मूल्यवृद्धिको विरोधमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा सदरमुकाम खलंगामा मंगलबार थालिएको एक रुपियाँ संकलन अभियानबाट जम्मा भएको ७५ रुपियाँ सिडिओ कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो ।

भट्टराई नेतृत्वको सरकारले हालै पेट्रोलियम पदार्थमा सातौँपटक गरेको मूल्यवृद्धिको विरोधमा थालिएको अभियानमा कांग्रेसनिकट नेविसंघ, नवगठित माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंघमा आबद्ध विद्यार्थीको पनि सहभागिता थियो । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन एवं जनतालाई तत्काल राहतका कार्यक्रम उपलब्ध गराउन दबाब दिने उद्देश्यले रकम संकलन गरी प्रधानमन्त्रीलाई उपहारस्वरूप पठाइएको अनेरास्ववियुका जिल्ला सचिव प्रेम केसीले जानकारी दिए ।
विद्यार्थीले सदरमुकाममा भेटिएका व्यक्तिबाट प्रतिव्यक्ति एक रुपियाँका दरले रकम संकलन गरेका थिए । विद्यार्थीहरूले थालेको अभियान सकारात्मक भएको र आफू पनि मूल्यवृद्धिको विपक्षमा रहेकोले उनीहरूको कार्यक्रम सफल पार्न आफूले पनि एक रुपियाँ ‘दान’ गरेको स्थानीय रामचन्द्र घर्तीले बताए ।
साथै विद्यार्थीले खाद्यान्न तथा खाना पकाउने एलपी ग्यासमा विद्यार्थीलाई सहुलियत कार्डको व्यवस्था गर्न पनि माग गरेका छन् । यस्तै विद्यार्थीले मूल्यवृद्धिको विरोधमा सोमबार सदरमुकाम खलंगाको ठाँटीबजारमा प्रधानमन्त्री भट्टराईको पुतलादहन गरेका थिए ।

प्रतिक्रिया