भदौ पछि सरकारसँग वार्ता हुँदैनः पोखरेल

काठमाडौं, २६ भदौ । एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रपतिले पटक/पटक दिने गरेको सुझावलाई कामचलाउ सरकारले वेवास्ता गरेका कारण सहमति हुन समस्या भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले सहमति विगार्ने गरेर अध्यादेश वा बजेट नल्याउन सुझाव दिए । उनले भने, ‘भट्टराई सरकारको नियत सहमतिको वातावरण विगारेर एकलौटी शासन गर्न खोज्ने मात्रै छ ।’
उनले प्रधानमन्त्रीले नियतवस सहमति विथोल्न लागेकाले भदौ पछि सरकारसँग वार्ता नहुने स्पष्ट पारे । ‘भदौ पछि बार्ता हुँदैन, उनले भने, ‘असोज–१९ गतेबाट एमालेले आन्दोलनको घोषणा गरिसकेको छ, सडकबाटै छिनोफानो हुन्छ ।’ भदौ महिना भित्रै सहमति खोज्ने दलहरुका वीच भएको सहमति लाई पनि सरकारले उलंघन गर्दै आएको उनको आरोप थियो ।
राष्ट्राध्यक्ष विरुद्ध टक्कर लिएर सरकारले आफ्नो कमीकमजोरी लुकाउन खोजी रहेको उनको भनाई छ ।
उनले सबै मिलेर संविधान बचाउनु पर्ने उल्लेख गरे । ‘भट्टराई सरकार लम्बिनु भनेको संविधानको हत्या हुनु हो,’ उनले भने, ‘राष्ट्रपतिले संविधान बचाउन तत्काल उचित भूमिका खेल्नु पर्छ ।’
नेकपा–माओवादीका सचिव देबगुरुङले सरकारले बाधा अडकाउ फूकाउन अध्यादेश ल्याउनु संविधान उल्लंघनको पराकाष्ठा रहेको टिप्पणी गरे । उनले हैसियत विनाको सरकारले कुनै पनि अध्यादेश ल्याउने अधिकार नरहेको बताए ।
शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले राष्ट्रपतिले सरकारका अध्यादेश अस्वीकृत गरे द्वन्द्व बढ्ने चेतावनी दिए । उनले भने, ‘राष्ट्रपतिले अध्यादेश रोकेमा क्रमस लडाई तिखो हुँदै जान्छ ।’
उनले राजनीतिनै सत्ता प्राप्तीका लागि रहेको भन्दै कसैले सत्ता माग्दैमा छाड्नु पर्ने बाध्यता नरहेको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महतले भट्टराई सरकार सबै संयन्त्रमा आफ्नो कब्जा जमाउन बाधा अडकाउ फूकाउने अध्यादेश ल्याउन लागेको आरोप लगाए । उनले भने, ‘बाधाअड्काउ फूकाउ अध्यादेश मार्फत एमाओवादी सेना, प्रहरी, अदातलसहितका संबैधानिक निकायमा कब्जा जमाउने योजनमा लागेको छ ।’

प्रतिक्रिया