सूचीबाट हटाएको आधिकारीक जानकारी

काठमाडौं, २६ भदौं । अमेरिकाले नेपालका माओवादीलाई आतंककारी सूचीबाट हटाएको अधिकारीक जानकारी एकीकृत माओवादीलाई गराएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवास लाजिम्पाटमा आज भएको भेटमा नेपाल भ्रमणमा रहेका दक्षिण एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री रवर्ट ओ ब्लेकले माओवादीलाई आतंककारी सूचीबाट हटाएको बताए ।
मन्त्री ब्लेकले भने, ‘अमेरिकाले नेपालका माओवादीलाई आतंककारी सूचीबाट हटाएको छ, तपाईहरुलाई बधाई छ ।’
जवाफमा दाहालले आतंककारी सूचीबाट हटाएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा अमेरिका र एमाओवादीवीचको सम्बन्ध अझ सुमधुर हुनेमा विश्वास व्यक्त गरे ।
ब्लेकले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा समेत चासो राखेको दाहालको निजी सचिवालयले जनाएको छ ।
सहमतिबाट नै अहिलेको राजनीतिक गतिरोधको अन्त्य गर्न लागि परिरहेको बताएका दाहालले राजनीतिक दलहरुसँग सहमति कायम गर्न आफू सक्रिय रहेको उल्लेख गरे ।
‘केही सातामै सहमतिबाट जुन प्रक्रियामा जानु पर्ने हो त्यो प्रक्रियामा जानुको विकल्प छैन,’ उनले भने ।
अमेरिकी मन्त्री ब्लेकले पनि सहमतिबाटै अगाडि बढ्न सुझाव दिएका छन् ।

प्रतिक्रिया