नेपाललाई अहिलेसम्मकै ठूलो उपाधि

क्वालालम्पुर, २६ भदौ । नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–फोरको उपाधि जितेको छ । सोमबार फाइनलमा अमेरिकालाई आठ विकेटले पराजित गरेको नेपालले अपराजित यात्राका साथ उपाधि जितेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई अहिलेसम्मकै यो सबैभन्दा ठूलो उपाधि हो ।
अन्तिम खेलसम्म उत्कृष्ट प्रदर्शनलाई कायम राखेको नेपालले टस जिती पहिला ब्याटिङ गरेको अमेरिकालाई ४८.१ ओभरमा अलआउट गर्दै १४५ रनमा सीमित गरेको थियो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा स्पिनर वसन्त रेग्मीले पाँच विकेट लिए ।
नेपालले प्राप्त लक्ष्य दुई विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्‍यो । नेपाली टोलीका लागि ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेल्दै ६६ रन जोडे । त्यस्तै प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेल ४० र कप्तान पारस खड्का २५ रनमा अविजित रहे । लिग चरणको अन्तिम खेलमा आइतबार शतकीय इनिङ खेलेका प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डल भने ३ रनमै आउट भए ।
पहिलो विकेटका रूपमा टोलीले
९ रन जोड्दा अनिललाई गुमाए पनि सुभाष र ज्ञानेन्द्रले तेस्रो विकेटका लागि ९३ रनको साझेदारी गरी नेपालको जित सहज बनाएका थिए । बोल्ड हुनुअघि ज्ञानेन्द्रले ६५ बलको सामना गरी सात चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अन्तिम समयसम्म कायम रहेका सुभाषले ६६ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । २८ बल सामना गरेका पारसको इनिङमा चार चौका सामेल थियो । नेपालले १३ अतिरिक्त रन पाएको थियो ।
अन्तर्राष्ट्रिय सिनियर क्रिकेटमा नेपालको यो दोस्रो उपाधि हो । दुई वर्षअघि नेपालमै भएको डिभिजन–फाइभ अमेरिकालाई नै फाइनलमा हराएर नेपालले जितेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको करिब दुई दशक हुन लागे पनि यसबीचमा नेपालले यीबाहेक उपाधि जित्न सकेको छैन । एसिसी ट्रफीमा तीनपटक फाइनल पुगे पनि नेपाल उपविजेतामै सीमित भएको थियो । केही समयअघि एसिसी टी–ट्वान्टी प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
लिग चरणमा अमेरिकालाई हराएर नेपालले डिभिजन–थ्री यात्रा लगभग पक्का गरेको थियो । उक्त खेलमा पाँच विकेट लिएका वसन्त फाइनलमा पनि अमेरिकाविरुद्ध चम्किए । ९.१ ओभर बलिङ गर्ने क्रममा वसन्तले दुई मेडन राख्दै २० खर्चिएपछि अमेरिकाको इनिङ चुनौतीपूर्ण स्थितिसम्म पुग्न पाएन । प्रतियोगिताभर २१ विकेट लिएका वसन्त प्लेयर अफ द टुर्नामेन्ट र म्यान अफ द म्याच घोषित भए । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचनले दुई तथा विनोद दास, सञ्जम रेग्मी र पारस खड्काले एक/एक विकेट लिएर वसन्तलाई साथ दिए ।
पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेको अमेरिकाका पाँच खेलाडीले दोहोरो अंक छोए भने भरपर्दा दुई ब्याट्सम्यानले खाता खोल्न सकेनन् । तेस्रो विकेटका लागि भएको ३९ रनको साझेदारीले अमेरिकालाई ५६ रनमा पुर्‍याए पनि त्यसपछि नेपाली बलर पुन: प्रभावी भए ।
६ टोली सहभागी यस प्रतियोगितामा नेपालले लिग चरणमा सिंगापुरलाई पाँच, तान्जानियालाई आठ र मलेसियालाई १० विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध ३२ रनले विजयी भएको नेपालले अन्तिम लिग खेलमा डेनमार्कलाई डकवर्थ लुइस आधारमा २५ रनले पराजित गरेको थियो । नेपालले यसपटक ब्याटिङ र बलिङ दुवैमा करामत गर्‍यो ।
लिगमा सुरुका तीनवटा खेलमा पहिले फिल्डिङ गरेको नेपालले तिनमा आधा इनिङ बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । डेनमार्क र अमेरिकाविरुद्धका लिग खेलमा पहिले ब्याटिङ गरेको नेपालले क्रमश: २४० र २५८ रन जोडेको थियो । नेपालका प्रारम्भिक ब्याट्सम्यानद्वय अनिल मण्डल र सुभाष खकुरेलले एक/एकवटा शतकीय इनिङ खेले । मलेसियाविरुद्ध १०–८–२–३ को प्रदर्शन गरेका शक्तिले एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजका विश्वकीर्तिमानी फिल सिमोन्सको भन्दा राम्रो इकोनोमीमा बलिङ गरे । सिमोन्सको कीर्तिमानी बलिङ इकोनोमी
(एक इनिङ) ०.३ थियो भने शक्तिको ०.२ रहयो । यद्यपि, एकदिवसीय मान्यताप्राप्त खेल नभएका कारण शक्तिको उक्त प्रदर्शन कीर्तिमानका रूपमा दर्ता भने भएन ।
यसैबीच नेपाल क्रिकेट संघ क्यानले ऐतिहासिक सफलता दिलाउने नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गर्ने जनाएको छ । ‘निश्चितरूपमा यो नेपाली क्रिकेटका लागि ठूलो सफलता हो तर आज मात्र प्रतियोगिता सकिएकोले हामीले ठोस निर्णय गरिसकेका छैनौँ,’ नेपाल क्रिकेट संघ (क्यान) महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘सफलताका विषयमा सम्बन्धित सबै पक्षलाई जानकारी गराइसकेका छौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामासँग पनि कुराकानी भइसकेको छ । हामीले उहाँबाट सकारात्मक धारणा पाएका छौँ ।’ एजेन्सी

शीर्ष पाँच ब्याट्सम्यान
खेलाडी कुल रन सर्वाधिक रन

सुशील नाडकर्नी (अमेरिका) २३८ (५ खेल, ५ इनिङ) ८४
टेलर (अमेरिका) २१६ (६ खेल, ६ इनिङ) ६२
सुभाष खकुरेल (नेपाल) २०८ (६ खेल, ६ इनिङ) ११५
अनिल मण्डल (नेपाल) १८६ (६ खेल, ६ इनिङ) ११३
ज्ञानेन्द्र मल्ल (नेपाल) १७८ (६ खेल, ५ इनिङ) ६६
शीर्ष पाँच बलर
खेलाडी कुल विकेट बेस्ट बलिङ (एक इनिङ)

वसन्त रेग्मी (नेपाल) २१ (४९.५ ओभर, नौ मेडन) ५–२०
बासिर साह (डेनमार्क) १३ (४९ ओभर, ७ मेडन) ५–११
धर्मी चन्द (सिंगापुर) ११ (४१ ओभर,७ मेडन) ४–३४
शक्ति गौचन (नेपाल) १० (४७.२ ओभर, १६ मेडन) ३–२
अभिराज सिंह (सिंगापुर) १० (३४ ओभर,७ मेडन) ५–१२

प्रतिक्रिया