देशभर औसतभन्दा १० प्रतिशत कम वर्षा

काठमाडौं, २६ भदौ । मनसुन अवधि सकिन अझै १३ दिन बाँकी रहे पनि निष्क्रिय हुन थालेको छ । मनसुन निष्क्रिय हुन थालेकाले देशभर एकैचोटि वर्षा हुनुको सट्टा एकाध ठाउँमा मात्रै हुन थालेको मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

औसतभन्दा एक साता ढिलो सुरु भएको यस वर्षको मनसुन निष्क्रिय हुन थालेकाले १० प्रतिशत कम वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘देशभर औसतभन्दा १० प्रतिशत कम वर्षा भएको छ, कुनै–कुनै ठाउँमा त्यो दर अझ कम छ,’ उनले सौर्यसँग भने, ‘मनसुन निष्क्रिय हुँदै गएकाले यस्तो भएको हो ।’ उनले अब धेरै वर्षा नहुने र औसत वर्षा हुन नपाउँदै मनसुन सकिने जानकारी दिए ।
मनसुनी अवधिमा नेपालमा औसत एक हजार तीन सय २५ मिलिमिटर वर्षा हुने गरेको छ । महाशाखाका अनुसार दिपायल, सुर्खेत, भैरहवा, सिमरा, धनकुटा र विराटनगरमा औसतभन्दा ३० देखि ४० प्रतिशत कम वर्षा भएको छ । ती क्षेत्रको मनसुनी अवधिको औसत वर्षा क्रमश: ८०२.४, १३१३.२, १४४४.६, १४९७.४, ७२२.५ र १५२२.५ मिलिमिटर छ । अन्य क्षेत्रमा १० प्रतिशत कम वर्षा भएको छ । ११२५.६ मिलिमिटर औसत वर्षा रहेको काठमाडौंमा आइतबारसम्ममा ९२१.६ मिलिमिटर वर्षा भएको छ ।
नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । ढिला सुरु भएको र ढिलै सक्रिय भएको यस वर्षको मनसुनअन्तर्गत जुन महिनामा काठमाडौंमा औसत २६२.६ भन्दा ११९.४ कम अर्थात् १४३.२ मिलिमिटर मात्रै वर्षा भएको थियो । त्यस्तै, जुलाई र अगस्टको काठमाडौंको औसत वर्षा ३५६.५ र ३३०.८ मिलिमिटर रहेकोमा यो वर्ष ४४५.८ र २८८.१ मिलिमिटर वर्षा भएको छ । जुलाईको वर्षा औसतभन्दा ८९.३ मिलिमिटर बढी हो भने अगस्टको औसतभन्दा ४२.७ मिलिमिटर कम हो । त्यस्तै ९ सेप्टेम्बरसम्म ४४.५ मिलिमिटर वर्षा भएको छ जुन औसतभन्दा १५५.३ मिलिमिटर कम हो । सेप्टेम्बरमा काठमाडौंमा १९९.८ मिलिमिटर वर्षा हुन्छ ।
मौसमविद् श्रेष्ठले कहिले औसतभन्दा कम अथवा बढी वर्षा हुनु सामान्य भएको बताए । ‘मनसुनी प्रक्रियामा फेरबदल भएकोले छिट्टै मनसुन निष्क्रिय भएको र देशभर कम पानी परेको हुन सक्छ,’ उनले भने । बंगालको खाडीबाट आउने मनसुनी वायु १० जुनको आसपासमा भारत हुँदै नेपाल छिरेर करिब एक सय दिन वर्षा गराउने गरेको जानकारी उनले दिए ।

प्रतिक्रिया