माओवादीले बुझायो ७० बुदे मागपत्र

काठमाडौं, २६ भदौ । नेकपा–माओवादीले ७० बुँदे मागपत्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको छ । पार्टी उपाध्यक्ष सिपी गजुरेल नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको हो ।

ओवादीले मागपत्र बुझाउन जान भनेर दिउँसो शान्ति बाटिकाबाट जुलुससमेत निकालेको थियो । जुलुससहित सिंहदरबार प्रवेश गर्न खोजेका माओवादी कार्यकर्तालाई सुरक्षाकर्मीले हनुमानस्थानमै रोकेपछि प्रतिनिधिमूलक रूपमा मात्र प्रधानमन्त्री कार्यालय पुगेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रवक्ता भुसालका अनुसार ज्ञापनपत्रमा जनजीविका, राष्ट्रियता तथा समसामयिक माग समेटिएको छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि उपाध्यक्ष गजुरेलले मागको सुनुवाइ नभए ‘जस्तोसुकै’ कदम चाल्न बाध्य हुने बताए । ‘हामीले विगतदेखि उठाउँदै आएका मागलाई अघि सारेका हौँ, यसमा कुनै नयाँ विषय त छैन तर सबै विषय राष्ट्र, राष्ट्रियता र जनतासँग जोडिएकाले यी माग पूरा हुनुपर्छ,’ गजुरेलले भने, ‘सरकारले हाम्रो मागको सुनुवाइ नगरे कस्तो कदम चाल्नुपर्छ भन्ने हामीलाई प्रस्ट थाहा छ ।’
जनमोर्चाका तत्कालीन अध्यक्षका हैसियतले वर्तमान प्रधानमन्त्री डा. भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदेमा केही माग भट्टराईलाई नै बुझाइएको भुसालले बताइन् । ‘राष्ट्रियता संकटमा परेको, जनताको दैनिक जीवनस्तर खस्कँदै गएको, राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नभएको, वैदेशिक हस्तक्षेप चरम रूपमा बढेकोलगायत मागलाई हामीले सूत्रबद्ध रूपमा प्रधानमन्त्रीलाई बुझाएका छौँ,’ भुसालले भनिन् ।

प्रतिक्रिया