६ एआइजीले एकसाथ अवकाश पाउने

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारबीचको टकरावले नयाँ आइजिपीको टुंगो लाग्न नसकिरहेका बेला ६ जना एआइजिपीले चार दिनपछि एकसाथ अवकाश पाउने भएका छन् ।
३० वर्षे सेवा अवधि बढाउन माग गर्दै ६ एआइजीले हालेको रिट निवेदनमा सर्वाेच्च अदालतले अन्तरिम आदेश नदिएपछि आइजिपीसँगै ६ एआइजी पद एकैपटक रिक्त हुने भएको छ । ३० वर्षे सेवा अवधि सकिन लागेकाले कानुनी रूपमै म्याद बढाउन माग गर्दै ६ एआइजी १ भदौमा सर्वाेच्च पुगेका थिए । उनीहरूले सेवा अवधि बढाउनका लागि सर्वाेच्चबाट अन्तरिम आदेशको माग गरेका थिए । सर्वाेच्चले भने उनीहरूको सेवा अवधि सकिन चार दिन मात्र बाँकी रहँदा अन्तरिम आदेश हुन नसक्ने आदेश दिएको छ ।
आइजिपी रवीन्द्रप्रताप शाह र ६ एआइजीको सेवा अवधि २९ भदौमा सकिँदै छ । बहालवाला आइजिपीले कार्यकाल सकिनु एक महिनाअघि देखि बिदामा बस्ने चलन भए पनि सरकारले नयाँ आइजिपीको टुंगो लगाउन नसक्दा कार्यकाल चार दिन बाँकी हँुदा पनि शाहले बिदा पाउन सकेका छैनन् ।
न्यायाधीश दामोदरप्रसाद शर्मा, तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्कीको विशेष इजलासले सोमबार नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिलाई यसअघि नै मान्यता दिइसकेका कारण अन्तरिम आदेश जारी गर्नु नपर्ने उल्लेख गरेको छ । सर्वाेच्चले रिट निवेदनको अन्तिम टुंगो बृहत् इजलासबाट लगाउन आदेश दिएको छ ।
०५९ सालमा केशव पोखरेलले प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा यस्तै रिट दायर गरेका थिए । ‘उक्त समयमै ३० वर्षे प्रावधानलाई संविधानविपरीत नभएको भन्ने आदेश भइसकेकाले प्रस्तुत रिटमा अन्तरिम आदेश दिन परेन,’ आदेशमा भनिएको छ ।
६ एआइजीसहित ११ प्रहरी अधिकृत सेवा अवधि थपको माग गर्दै सर्वाेच्च पुगेका थिए । एआइजीहरूले जागिर खाने उमेर बाँकी हुँदै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन थालेकाले त्यसलाई संशोधन गरी अवधि थप गर्न माग गरेका थिए ।
‘हाम्रो उमेर पर्याप्त छ तर ३० वर्षे सेवा अवधिले समस्या बनाएपछि सर्वाेच्च अदालत पुगेका हाँै,’ सुनुवाइ सुन्न अदालत पुगेका एआइजी अर्जुनजंग शाहीले भने ।
सर्वाेच्चले तत्काल सेवा अवधि बढाउन नमिल्ने गरी आदेश दिएपछि नेपाल प्रहरीमा ६ एआइजी पद रिक्त हुने भएको हो । २९ भदौदेखि आइजिपी शाहका साथै एआइजीहरू मदनबहादुर खड्का, नरेश गुरुङ, किरण गौतम, कल्याण तिमिल्सेना, प्रकाश कुँवर र अर्जुनजंग शाहीले स्वत: अवकाश पाउने भएका छन् । नेपाल प्रहरीमा ९ जना एआइजी छन् । ६ एआइजीले अवकाश पाएपछि कुबेरसिं राणा, नवराज ढकाल र भीष्म प्रसार्इं मात्र रहनेछन् । यी तीनैजना आइजिपीका दाबेदार रहँदै आएका छन् ।

प्रतिक्रिया